साढे तीन करोडमा रंगशालाको विवाद मिल्यो

काभ्रे । काभ्रेस्थित निर्माणधिन क्षेत्रिय रंगशालाको विवाद अन्ततः मिलेको छ । केही वर्ष अघिबाट रंङ्गशाला बनाउन तयार पारिएको गुरुयोजनामा पनौती नगरपालिका–७ स्थित करिव ४५ रोपनी सार्वजनिक जग्गासँगै स्थानिय गणेशकुमारी कँडेल र नानी गिता कँडेलको नाममा १७ रोपनी १४ आना २ पैसा जग्गा पनि परेपछि केही वर्षअघिबाट विवाद उत्पन्न भएको थियो ।

सम्बन्धित जग्गा धनीले आफूहरुसँग सहमती नै नगरी झुक्याउने तरिकाले एकाएक टेण्डर आव्हान गरेको आरोप लगाउँदै सुरुदेखिनै विरोध गर्दै आएका थिए । सर्वोच्च अदालतले नीजि जग्गामा रंगशाला नबनाउन आदेश दिएसँगै पनौती नगरपालिका र जग्गाधनीबीच सहमतिका लागि भएका पटक–पटकको प्रयास असफल भए पनि आज परिवार पक्ष र पनौती नगरपालिका पक्षसहित विशिष्ट व्यक्तिहरुसँग बसेको छलफलबाट जग्गा धनी पक्षले नगरपालिकासँग करिब साढे ३ करोडको माग राखेको र सोही रकममा सहमती हुन लागेको नगरप्रमूख भिम न्यौपानेले बताए ।

 

उनले टेलिफोन संवादमा कुराकानी गर्दै भने, ‘रंगशाला विवाद मिलेको छ , अब रंगशाला बन्ने पक्का भएको छ, हामीले साढे तीन करोड रुपैयाँ कँडेल परिवारलाई दिने सहमती हुँदैछ, यस विषयमा हामी थप जानकारीसहित पत्रकार सम्मेलन गरि जानकारी दिनेछौँ ।’

यता यसै विषयमा परिवार पक्षका कुलदिपराज कँडेलले विवाद मिलेको र रंगशाला निर्माणको लागि १७ रोपनी ३ आना २ पैसा शून्य दाम जग्गा विधिवत रुपमा दिइएको उल्लेख गरेका छन् । उनको सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्टाटसमा भनिएको छ, ‘मेलमिलापका लागि प्रत्यक्ष अप्रत्यक्ष सहकार्यको लागि सहयोग बातावरण मिलाउनु हुने संस्था व्यक्ति साथै सबैलाई धन्यवाद दिन चाहान्छौँ ।’

प्रतिक्रिया