काठमाडौं । कोरोना भाइरस संक्रमणको संख्या केही दिनयता थपिन थालेसँगै यसको जोखिम पनि बढेको छ । खासगरी भारतसँग सीमा जोडिएका विराटनगर, वीरगन्ज, नेपालगन्जलगायतका मुख्य शहरी क्षेत्रमा यसको संक्रमण बढ्न थालेसँगै जनजीवनलाई भयभित तुल्याउन थालेको छ ।
केही समय अगाडीसम्म भारतीय सीमानाकाहरुमा प्रवेशमा कडाई गरिएको थियो । तर, अहिले अवस्था फरक बनेको छ । सीमानाकाबाट मानिसहरु निर्वाध आवातजावत गरिरहेका छन् । भारतमा प्रतिदिन रेकर्ड ५० हजार भन्दा बढि संक्रमित भेटिरहेका बेला सीमानाका खुकुलो भएपछि नेपालमा जोखिम बढेको हो । पछिल्ला दिनमा सीमावर्ती नेपाली क्षेत्रमा कोरोना संक्रमित बढ्नु र समुदाय स्तरमा संक्रमणको आशंका गरिनुले त्यही जोखिमको संकेत गर्छ ।
रुपन्देहीको बेलहिया नाकाबाट पनि नेपाल भित्रिनेहरुको संख्या उल्लेखनीय छ । इलाका प्रहरी कार्यालय बेलहियाका अनुसार, अहिले भारतबाट दैनिक १५० देखि २०० जना नेपाली आइरहेका छन् । उनिहरुलाई क्वारेन्टाइनमा बस्नुपर्ने नियम पनि सहज रुपमा प्रवेश पाउने र सम्बन्धित पालिकामा पुग्ने गरेका छन् । तर, उनिहरु १४ दिन क्वारेन्टाइनमा बसे नबसेको अनुगमन गर्ने निकायको अभाव रहेको छ ।
अहिलेसम्म नेपालमा पुष्टि भएका कोरोना संक्रमितमध्ये झण्डै ९७ प्रतिशत भारतसहितका तेस्रो मुलुकबाट आएका व्यक्तिहरु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित भेटिएकामध्ये भारतबाट आएकाहरुको संख्या ९० प्रतिशतभन्दा बढी भएको आकलन गरिएको छ । समाजमा कोरोना फैलिन सक्ने आंकलन भईरहेका बेला मन्त्रालयले भने अहिलेसम्म त्यस्तो प्रमाण फेला नपरेको दाबी गरेको छ ।
आइतवार र सोमबार कोरोनाबाट थप तीन जनाको मृत्यु भएको छ । मृतकमध्ये दुई नेपाली र एक भारतीय नागरिक रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । धनुषाको शहीदनगर नगरपालिका–८ निवासी ३६ वर्षीय पुरुष र बाराको फेटा गाउँपालिका–३ का ६० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । निमोनिया, मस्तिष्कघात तथा मिर्गौलासम्बन्धी रोगबाट पीडित ६० वर्षीय पुरुषको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा सोमबार मृत्यु भएको हो ।
यसैगरी पर्साको वीरगञ्जमा बासोबास गर्दै आएका ६५ वर्षीय भारतीय नागरिकको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप १३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ५७२ पुगेको छ । सोमबार सबैभन्दा बढी दैलेखमा २८ संक्रमित फेला परेका छन् ।
यस्तै सप्तरीमा २१, पर्सामा १८, धनुषा र महोत्तरीमा १०÷१०, बैतडीमा चार, ललितपुर, काठमाडौँ र कास्कीमा तीन÷तीन, पर्सा र सल्यानमा दुई÷दुई तथा सिरहा, काभ्रेपलाञ्चोक, बाँके, रुपन्देही र सुर्खेतमा एक÷एक जनामा संक्रमण देखा परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ६२६ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए । यससँगै कोरोना संक्रमण जितेर घर फर्कनेको संख्या १३ हजार ७५४ पुगेको छ । जुन कूल संक्रमितको ७३.५ प्रतिशत हो ।
प्रतिक्रिया