‘दैनिक १८,१६० परीक्षण गर्छौं’

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशमा दैनिक १८ हजार बढि रियल टाइम पिसिआर परीक्षण गर्ने क्षमतामा पुगेको जानकारी दिएको छ । हाल अधिकतम ६ हजार मात्र परीक्षण गर्ने क्षमता रहेको भन्दै त्यसलाई बढाएर १८ पु¥याइएको बताएको हो ।

विशेष गरी तराईका जिल्ला र बढि भिडभाड हुने क्षेत्रमा कोरोनाको जोखिम बढेको भन्दै चिन्ता व्यक्त भईरहेका बेला मन्त्रालयले परीक्षण बढाउने बताएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ‘आरएनए एक्ट्रयाक्सन’ (रि–एजेन्ट) मेसिन जडान गरेलगत्तै दैनिक पिसिआर मेसिनको परीक्षण बढ्ने बताएका हुन् । सरकारले अहिले सात वटा सो मेसिन खरिद गरेर गुणस्तर परीक्षण गरिरहेको छ । यसअघि यस्तो मेसिन काठमाडौंमा मात्रै रहेको थियो ।

‘ल्याबको क्षमता प्रतिदिन पछिल्लो महिनाको अधिकतम ६ हजार ३६० हो’, प्रवक्ता गौतमले भने, ‘११ वटा एक्ट्रयाक्सन मेसिनहरु जडान भएपछि जम्मा ८ हजार ८०० थप हुन सक्छ । नयाँ सरकारी, प्राइभेट ल्याबमा जम्मा तीन हजार परीक्षण गर्न सक्ने क्षमता छ ।’ उनले यसबाट देशभरीमा हालसम्म रियल टाइम पिसिआर गर्न सक्ने क्षमता सम्वन्धित प्रयोगशालाको रेकर्डबाट प्राप्त भएअनुसार जम्मा १८ हजार १६० रहेको बताए । निकट भविष्यमा दिनमै १८१६० पिसिआर परीक्षण गर्न सक्ने उनले जानकारी दिए ।

एक्ट्रयाक्सन’ सात वटा मेसिन प्रत्येक प्रदेशमा एक÷एक वटा पठाइने भएको छ । जसमा धनगढी, सुर्खेत, नेपालगञ्ज, पोखरा, धुलिखेल, वीरगन्ज र विराटनगरलाई वितरण गरिने छ । अब यो मेसिनबाट उक्त प्रयोगशालाहरूले आफ्नो परीक्षण संख्या दोब्बर पु¥याउन सक्छन् ।

यो मेसिनले स्वाबमा भएको ‘आरएनए’ लाई छोटो समयमै आफैं छुट्याउने गर्छ । अहिलेसम्म प्रयोगशालाहरूमा यो काम प्राविधिकहरूले हातले नै गरिरहेका छन् । जसले गर्दा बढी समय लाग्ने र परीक्षण पनि कम भइरहेको छ । यो मेसिन अहिले देशभर रहेका प्रयोगशालाहरूमध्ये टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्र छ । त्यसैले प्रयोगशालाले दैनिक १ हजार बढी स्वाबको परीक्षण गर्दै आएको छ । यो मेसिन नभएका अन्य प्रयोगशालाहरूले अहिले दैनिक २ सय ५० जनाको परीक्षण गर्दै आएका छन् ।

१३० संक्रमित थपिए
देशभर १३० जनामा कोरोना भाइरस संक्रमण भएको छ । मन्त्रालयका अनुसार आइतवार थपिएसँगै कोरोना संक्रमितको संख्या कूल १८ हजार ६१३ पुगेको छ ।

मन्त्रालयका अनुसार हालसम्म सक्रिय संक्रमितको संख्या पाँच हजार ४४० रहेको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार प्रदेश १ मा १८६, प्रदेश २ मा एक हजार ८७३, वाग्मती प्रदेशमा ४४४, गण्डकी प्रदेशमा २९४, प्रदेश ५ मा ३५८, कर्णाली प्रदेशमा ३६६ र सुदूरपश्चिम प्रदेशमा एक हजार ९१८ जना संक्रमित छन् ।

प्रतिक्रिया