‘समृद्धिका आधार’ लोकार्पण

धनकुटा । लेखक जीवनप्रसाद राईद्वारा लिखित पुस्तक ‘समृद्धिका आधार’ बजारमा आएको छ । पुस्तकको साहित्यकार झमककुमारी घिमिरेले विमोचन गर्दै नेपालको कृषि र पर्यटनको अध्ययन गर्ने एक माध्यम बनेको बताइन् । धनकुटास्थित जन्मघरमा मंगलबार उक्त पुस्तकको सार्वजनिक गर्दै मदन पुरस्कार विजेता साहित्यकार घिमिरेले कृषिलाई जीवन शैलीमा रुपान्तरण गर्न पुस्तकले प्रेरणा दिएको जिकिर गरिन् । उनले कृषिले समृद्धिसँगै पर्यटन विकासमा मद्दत पुग्ने भएकाले अबको गन्तव्य नै कृषि हुने आफ्नो ठम्याइ रहेको जनाइन् ।

लेखक राई नेपालको भौगोलिक वातावरण अनुसारको बालीनाली र खेतीप्रणालीमा सुधार गर्ने लक्ष्य राखेर २०६६ देखि नेपाल भ्रमणमा निस्केका थिए । उनले ७७ जिल्लाको स्थलगत भ्रमण र अध्ययन गरी पुस्तक लेखेको बताए । पुस्तकमा मुलुकका २६६ नगर र ३७९ गाउँपालिकाको प्रत्येक क्षेत्रमा कुन बाली, कुन फलफूल र कुन तरकारी सेती उपयुक्त छ भन्ने चर्चा गरिएको छ ।

५५२ पृष्ठको उक्त पुस्तक सांग्रिला बुक्सले बजारमा ल्याएको हो । उक्त पुस्तकको सुरुमै दुई हजार प्रति बिक्री भएको सांग्रिलाले जनाएको छ । लेखक राईले पुस्तक लेख्नुअघि विभिन्न जिल्लाका २७ हजार किसानसँग प्रत्यक्ष भेटघाट र ४० हजार मानिससँग फोन सम्पर्क गरेको सुनाए । सात वर्ष ९ महिना १९ दिनमा संकलित तथ्यांकलाई ६ महिनामा पाण्डुलिपि तयार गरी एक वर्ष सम्पादन गरी पुस्तक प्रकाशन गरिएको लेखक राईले जानकारी दिए । उनले पुस्तकमा लेखेकका छन्, ‘मुलुकका युवाहरुका लागि कृषि नेपालको मुलआधार बन्नसक्ने मात्र हैन कृषिबाट नै समृद्ध नेपाल बन्न सक्ने सम्भावना रहेको छ ।’

प्रतिक्रिया