रेखा क्वारेन्टिनमा

मुम्बई । चर्चित बलिउड अभिनेत्री रेखा आफ्नै घरमा क्वारेन्टिनमा बसेकी छन् । उनका दुई घरेलु कामदार र एक सुरक्षाकर्मीमा कोरोना भाइरस संक्रमण भएको छ । उनीहरुको परीक्षण पोजेटिभ आएपछि रेखाको हातमा होम क्वारेन्टिनको स्ट्याम्प पनि लगाइएको छ ।

अभिनेत्री रेखा मुम्बईको बान्द्रामा रहेको सि स्प्रिग्ङसकी मालिकसमेत हुन् । बंगलामा तीन व्यक्तिमा कोरोना संक्रमण भएपछि बृहन्मुम्बई नगर निगम (बिएमसी) ले शनिबार उनको बंगलालाई सिल गरेको छ । बिएमसीले यो परिसरलाई कन्टेन्टमेन्ट जोनको रुपमा घोषणा गर्दै एउटा बोर्ड पनि लगाएको छ ।

यसअघि बलिउड अभिनेता अभिताभ बच्चन, उनका छोरा अभिषेक बच्चन, बुहारी ऐश्वर्या राय बच्चन र नातिनी आराध्या बच्चनलाई कोरोना संक्रमण देखिएको थियो । अभिषेक र अमिताभ मुम्बईको नानावती अस्पतालमा भर्ना भएका छन् भने ऐश्वर्या र उनकी छोरी होम क्वारेन्टिनमा छन् । त्यस्तै अर्का बलिउड कलाकार अनुपम खेरको परिवारमा समेत कोरोना संक्रमण भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया