हेटौँडामा बुहारी सुस्मिताको हत्यारा एकै परिवारका चारजना जेल चलान

काठमाडौं । हेटौँडामा नयाँ बुहारी सुस्मिताको हत्या गरेर पक्राउ परेका एकै परिवारका चारजना जेल चलान भएका छन् । मृतक सुस्मिताका ससुरा, सासु, नन्द र अमाजुलाई बुधबार चलान गरेको हो । मकवानपुरकी सुस्मिता थापाको हत्यारा ससुरासहित चार जनालाई पुर्पक्षका लागि जेल चलान गरिएको जिल्ला अदालत मकवानपुरले जनाएको छ ।

जिल्ला अदालत स्रोतका अनुसार मृतक महिलाका ससुरा प्रकाश थापा, सासू तुलसा थापा, अमाजु दुर्गा थापा कार्की र नन्द सीता थापालाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको हो । प्राप्त जानकारीअनुसार ससुरा प्रकाश थापालाई भीमफेदीको कारागारमा लगिने छ भने अन्य तीन महिलालाई चितवनको कारागारमा लैजाने तयारी भएको छ ।

परिवारका ती सबै सदस्यले आफ्नै बुहारी सुस्मिताको गत असार २ गते हत्या गरेका थिए। उनीहरूले छिमेकीलाई आत्महत्या गरेको बताए पनि अनुसन्धानबाट हत्या गरेको देखिएपछि प्रहरीले चारै जनालाई पक्राउ गरेको थियो ।

सुस्मिताकी श्रीमान रूपेन्द्र थापाको असोज २३ गते नवलपरासीबाट हेटौँडा फर्किने क्रममा मोटरसाइकल दुर्घटनामा परेको निधन भएको थियो । त्यसपछि सासू–ससुराले आफ्ना छोरालाई बुहारीले खाएको आरोप लगाउँदै विभिन्न यातना दिँदै आएका थिए । सोही क्रममा ससुरा प्रकाश थापाले सुस्मितामा बलात्कारको प्रयास समेत गरेको अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया