भारतलाई चिढ्याउने प्रधानमन्त्री ओलीको एक कदम र तीन अभिव्यक्ति

विश्व कोभिड–१९ सँग जुधिरहेका पछिल्ला केही महिनामा नेपाल–भारत सम्बन्धमा चिसोपन गहिरिँदै गएको छ । दुई देशबीचको सम्बन्ध अहिले बिग्रिएकाले तत्काल कूटनीतिक वार्ताको सम्भावना नदेखिएको कतिपय जानकारहरूले बताउने गरेका छन् ।

कतिपय कूटनीतिकज्ञहरूले त नेपाल र भारतको सम्बन्ध जनस्तरमै बिग्रन सक्ने चेतावनी दिएका छन् । यसै सन्दर्भमा भारतलाई चिढ्याएको ठानिएका पछिल्ला केही महिनामा नेपालका प्रधानमन्त्री केपी ओलीले चालेका कदम र अभिव्यक्तिहरू यस्ता छन्ः

नेपालको नयाँ नक्सा

गत वैशाख २६ मा भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालले दाबी गरेको धार्चुला–लिपुलेक क्षेत्रमा सडकको उद्घाटन गरेपछि नेपालले त्यसप्रति आपत्ति जनाएको थियो । लगत्तै भारतले आफ्नै भूमिबाट सडक निर्माण गरेको प्रतिक्रिया जनायो ।

यसअघि पनि उक्त क्षेत्रलाई लिएर दुई देशबीच विवाद जारी थियो । तर, भारतको पछिल्लो कदमपश्चात् नेपालले पनि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गर्ने निर्णय गर्‍यो ।

नक्सा नेपालले जेठ पहिलो साता मन्त्रिपरिषद्ले पारित गरेको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेपछि त्यसलाई भारतले ुकृत्रिम विस्तारु भन्ने प्रतिक्रिया जनाएको थियो । उक्त नक्सा जारी भएपश्चात् नेपाल र भारतबीच तिक्तता निकै बढेको देखिएको छ । भारतीय सञ्चारमाध्यमले नेपालको उक्त कार्यलाई चीनको इसारामा चालिएको कदमका रूपमा अर्थ्याउने गरेका छन् ।

नेपालमा भने उक्त नक्सालाई संविधान संसोधनमार्फत् दुवै सदनबाट पारित गराइ लागु गरिसकिएको छ । यसले भारतलाई निकै चिढ्याएको कूटनीतिक क्षेत्रका जानकारहरूले बताउने गरेका छन्।

‘सिंहमेव जयते र भारतीय कोरोनाभाइरस’

प्रधानमन्त्री ओलीले गत जेठ ६ गते संसद्‍मा बोल्ने क्रममा दिएका दुई अभिव्यक्तिले पनि भारतलाई चिढ्याएको ठानिन्छ । नीति तथा कार्यक्रमबारे संसद्‍लाई जवाफ दिने क्रममा उनले भारतको राष्ट्रिय प्रतीकमुनि लेख्ने गरिएको भारतको राष्ट्रिय आदर्श वाक्यबारे टिप्पणी गरेका थिए ।

संसद्‌मा बोल्दै उनले भनेका थिए, ‘भारतको एउटा प्रतिक चिह्न छ, भारत भनेर चिनिने अशोकाले स्थापना गरेको चारमुखे सिंह, चारतिर फर्किएको सिंह भारतको प्रतीक चिह्न छ, ‘त्यसको मुनि सत्यमेव जयते लेखिएको हुन्छ। सत्यमेव जयते भारतको चिह्नमुनि छ, विश्वास चाहिँ म गर्छु, म सोध्नेवाला छु भारतलाई सत्यमेव जयते कि सिंह जयते ? सिंहमेव जयते कि सत्यमेव जयते ?’

‘दुईटै लेखेको छ। मास्तिर सिंह छन्, चारमुखे तल्तिर सत्यमेव जयते छ। त्यसकारण म विश्वास गर्छु, नेपाल विश्वास गर्छ, हामी सबै विश्वास गर्छौँ, सत्यमेव जयते ।’ भारतको प्रतीक चिह्नमाथि ओलीले गरेको टिप्पणीलाई भारतीय मिडियाहरूले आलोचनात्मक ढङ्गले समाचारहरू लेखेका थिए ।

सोही सम्बोधनमा उनले अन्य देशबाट आएको भन्दा भारतबाट आएको कोरोना भाइरस ‘अलि कडा परेछ’ भन्ने अभिव्यक्ति पनि दिएका थिए ।त्यसलाई पनि भारतीय मिडियाले आलोचनात्मक हिसाबले लेखेका थिए ।

उनले भनेका थिए, ‘अहिलेसम्म हेर्दा वुहानबाट सङ्क्रमित भएर आएको अलि नरम देखिएको थियो, इटलीबाट आएको पनि अलि नरमै देखिएको थियो, दुबईबाट आएको पनि अलिक नरमै देखिएको थियो तर भारतबाट आएको चाहिँ अलि कडा भाइरस देखिएको छ ।’

ओलीका यी दुई अभिव्यक्तिलाई भारतका प्रमुख सञ्चारमाध्यमले आलोचनात्मक र अझ उनी चीनको नजिक रहेको भन्ने देखाउने हिसाबले प्रस्तुत गरेका थिए । त्यसले भारतमा उनलाई र वर्तमान नेपाल सरकारलाई हेर्ने भारतीय दृष्टिकोणमा प्रभाव परेको ठानिन्छ ।

भारतले हटाउन खोजेको अभिव्यक्ति

सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टी नेकपाकै वरिष्ठ नेताहरू सहित कतिपयका नजरमा भारतलाई चिढ्याउने ओलीको अर्को अभिव्यक्ति हो, भारतले उनलाई हटाउन खोजेको भन्नु ।

यही असार १४ गते राजधानी काठमाडौंमा आयोजित एक कार्यक्रममा ओलीले प्रत्यक्ष रूपमा भारतको नाम नलिई तर उसैलाई सङ्केत गर्दै ‘आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजिएको’ बताएका थिए। त्यसको पर्सिपल्ट नै सत्ताधारी दलका नेताहरूले पार्टी बैठकमै उनको राजीनामा माग समेत गरेका थिए ।

त्यसबेलादेखि बिग्रिएको पार्टीका दुई अध्यक्ष ओली र पुष्पकमल दाहालबीचको सम्बन्ध अझै सामान्य बन्न सकेको छैन । उनीहरूबीच छलफलहरू जारी छन् । मदन भण्डारीको जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूलाई विगतमा जस्तै पदबाट हटाउन खोजिएको दाबी गरेका थिए ।

नयाँ नक्सा जारी गरिएकोतर्फ लक्षित गर्दै उनले ५८ वर्षदेखि खोसिएको जमिन फिर्ता ल्याउन खोजिएको र त्यो कुनै गल्ती नभएको उनले बताएका थिए । प्रधामन्त्री ओलीले भनेका थिए, ‘तर त्यसो गरेपछि नेपालकै नेताहरू लागिपरेका छन्, बहस चलेको छ, अहिलेको अहिल्यै केपी ओलीलाई नहटाई हुँदैन ।’

‘दिल्लीका सञ्चारमाध्यमहरूलाई सुन्नूस् त्यसैले निर्देश गरिहाल्छ कि कहाँ–कहाँ के–के भइरहेको छ, यहाँका होटलमा भइरहेका गतिविधिहरू त्यसले पनि देखाउँछ। दूतावासको सक्रियता त्यसले पनि बताइरहेको छ ।’ त्यसको तीन दिनपछि कुराकानी गर्दै सत्ताधारी दलकै वरिष्ठ नेता झलनाथ खनालले त्यसले नेपालका छिमेकी र मित्रराष्ट्रलाई चिढ्याउने बताएका थिए ।

खनालले भनेका थिए, ‘मित्रराष्ट्रहरूप्रति विभिन्न खालका गालीहरू गर्न थाल्नुभयो, असन्तुलित हुनुभयो, त्यसकारण उहाँले त्यो पदमा बस्ने अधिकार नै आफैँले खोसिसक्नु भयो ।’

नेकपाका नेताहरूका अनुसार अर्का अध्यक्ष दाहालले पनि ओलीको उक्त अभिव्यक्तिप्रति कडा आपत्ति राखेको बताएका थिए । ओलीको यो अभिव्यक्तिले भारतसँग सम्बन्धलाई थप नराम्रो बनाएको नेकपाकै नेताहरूको समेत विश्लेषण रहेको छ ।

राम जन्मभूमि नेपालमा पर्ने दाबी

आफूलाई हटाउन खोजेको भनी उनले गरेको दाबी र त्यसपछि उत्पन्न पार्टी भित्रकै विवाद साम्य हुन नसकिहरेको बेला ओलीले यसै साता व्यक्त गरेको अर्को अभिव्यक्तिले भारतमा उनको व्यापक आलोचना भइरहेको छ ।

भानु जयन्तीका अवसरमा प्रधानमन्त्री निवासमा आयोजित कार्यक्रममा उनले ‘राम जन्मभूमि अयोध्या नेपालमै पर्छ’ भन्ने अभिव्यक्ति दिएपछि त्यो राजनीतिक नभएको भन्दै परराष्ट्र मन्त्रालयले खण्डन नै गर्नुपर्‍यो ।

गत सोमवार उक्त कार्यक्रममा उनले ‘हामी अहिले पनि ठानिरहेका छौँ, हामीले भारतका राजकुमार रामलाई सीता दियौँ, भारतका हैन अयोध्याका रामलाई सीता दिएका हौँ ।’

‘अयोध्या भनेको वीरगञ्जभन्दा अलिकति पश्चिमपट्टिको गाउँ हो’ अहिले खडा गरिएको अयोध्या होइन ।’ त्यसलाई भारतको सत्ताधारी भाजपाका एकजना प्रवक्तासहित भारतका धर्मगुरुहरूले पनि निन्दा गरेका खबरहरू आएका छन् । मङ्गलवार कुराकानी गरेका भारतका लागि पूर्व नेपाली राजदूततले पनि यसले जनस्तरमै नेपाल र भारतको सम्बन्ध बिगार्न सक्ने बताएका थिए ।

भारत चिढिएको अन्य गतिविधि

नेपालले चालेका कदम र ओलीका यी अभिव्यक्ति बाहेक अन्य केही गतिविधिले पनि भारत नेपालसँग चिढिएको ठानिन्छ । त्यस्ता गतिविधिहरूमा सत्ताधारी दलले वैवाहिक अङ्गीकृत नागरिकताबारे लिएको अडानलाई पनि एक मानिन्छ ।

वैवाहिक अङ्गीकृत नागरिकता प्राप्तिका लागि न्यूनतम सात वर्षको समयसीमामा सत्ताधारी नेकपाले आफ्नो अडान राखे अनुसार नै हाल संसद्‌को एउटा समितिले नयाँ नागरिकता विधेयक पारित गरेको छ ।

त्यसले विशेषगरी भारतीयसँग विवाह गर्नेहरूलाई धेरै प्रभाव पार्ने भारत पक्षको बुझाइ रहेको कतिपयले बताउने गरेका छन् । नेपालमै पनि महिलाका हकमा उक्त विधेयकले विभेद गरेको भन्दै कैयौँले आलोचना गरिरहेका छन् ।

त्यस्तै, नेपालविरुद्ध नकारात्मक प्रचार गरेको भन्दै केही दिन नेपाली टेलिभिजन सेवा प्रदायकहरूले कतिपय भारतीय च्यानलहरू बन्द गर्नुलगायतका कारणले पनि भारत अहिले वर्तमान ओली नेतृत्वको सरकारसँग चिढिएको धेरैको विश्लेषण रहने गरेको छ । – बीबीसी

प्रतिक्रिया