विपन्न परिवारको घर बनाउँदै राप्ती नगरपालिका

चितवन । पूर्वी चितवनमा रहेको राप्ती नगरपालिकाले विपन्न परिवारका लागि घर निर्माणको काम सुरु गरेको छ । नगरपालिकाको खरका छाना विस्थापित गर्ने योजनाअनुसार नगरपालिकाका प्रत्येक वडामा दुई–दुईवटा घर निर्माण गर्न सुरु गरिएको हो ।

नगरपालिका प्रमुख प्रभा बरालका अनुसार हरेक वर्ष विपन्न परिवारमध्ये अति विपन्न छनोट गरी दुई परिवारको घर निर्माण गरिनेछ । नगरपालिकाको रु तीन लाख सहयोग र स्थानीयवासीको श्रमदानमा दुईकोठे घर निर्माण गरी हस्तान्तरण गरिने उनले बताइन् । नगरभित्र रहेका एकल महिला, वृद्धवृद्धालाई प्राथमिकतामा राखिएको उनको भनाइ छ ।

नगरपालिकामा १३ वटा वडा रहेका छन् । जसमध्ये १, २, ४, ५, ७, ८, ९, ११ र १२ वडामा पहिलो चरणका घरहरु हस्तान्तरण गरी सकिएको प्रमुख बरालले जानकारी दिइन् । अन्य वडाहरुमा निर्माणको काम भइरहेको उनले बताइन् ।

आयुर्वेद उपचारको ज्ञान जगाउन आवश्यक

उपचार प्रभावकारी हुने भए पनि आयुर्वेदतर्फ खासै ध्यान जान नसकेको धारणा यहाँ आयोजित कार्यक्रमका वक्ताले राखेका छन् । एलोपेथिक औषधिले मात्रै रोग निको हुने भन्दै आयुर्वेद चासोमा नपरेको हो । तर, आयुर्वेद उपचारमार्फत पनि रोग निको हुने भएकाले यसको प्रचार–प्रसार गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चितवनले आयोजना गरेको ‘आयुर्वेदको विकास सम्भावना र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा वाग्मती प्रदेशसभाका शिक्षा, स्वास्थ्य तथा कृषि समिति सभापति घनश्याम दाहाल, प्रदेशसभा सदस्य विजय सुवेदी र रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले आयुर्वेद उपचारमा चेतना जगाउनु आवश्यक रहेको बताए । कृत्रिम औषधिले स्वास्थ्यमा असर गर्ने भएकाले यहाँका महत्वपूर्ण जडीबुटीको प्रयोग गर्दै प्रचारप्रसार गर्नुपर्ने उनीहरुको भनाइ थियो ।

कार्यक्रममा जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर कोपिला अधिकारीले केन्द्रमा दैनिक ८०–९० जना बिरामी उपचारका लागि आउने गरे पनि भौतिक संरचना, पर्याप्त दरबन्दी हुन नसकेको बताउनुभयो । प्रयोगशाला र एक्सरे मेशिनसमेत नहुँदा बिरामीलाई समस्या पर्ने गरेको अधिकारीले भनाइ छ । सो केन्द्रमा अम्लपित्त, कब्जियत, अतिसार, मधुमेह, उच्च रक्तचाप, स्त्रीरोग, दम खोकी, श्वासप्रश्वाससम्बन्धी उपचार हुँदै आएको छ ।

प्रतिक्रिया