देवघाटमा बोलबम मेला नहुने

तँनहु । कोभिड–१९ को संक्रमणलाई मध्यनजर गर्दै यस वर्ष पवित्र धार्मिक तीर्थस्थल देवघाटमा बोलबम मेला नहुने भएको छ । देवघाट क्षेत्र विकास समितिले कोरोना सङ्क्रमण फैलिने जोखिम उच्च भएकाले यसपालि मेला नगर्ने भएको हो । समितिले यस विषयमा चितवन, तनहुँ र नवलपुरका स्थानीय प्रशासनसँग छलफल गरेको थियो ।

देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले यो वर्ष बोलबम मेला नगर्ने बताए । ‘चितवन, नवलपुर र तनहुँको प्रसाशनसँगको छलफलबाट मेला नगर्ने निर्णय गरेका छौँु, पौडेलले भने, ‘सबैभन्दा पहिला जीवन बचाउनुपर्छ, त्यसपछि धार्मिक क्रियाकलाप गर्ने हो ।’ देवघाटमा करिब १५ वर्ष पहिलेदेखि बोलबम मेला हुँदै आएको छ ।

यो वर्ष साउन ५ गते पहिलो सोमबार परेको छ । ‘त्यसअघि नै मेला नआउन अपिल गर्दै भक्तजनसम्म सूचना प्रवाह गरिरहेका छौँ’, पौडेलले भने । साउने सोमबार दर्शानार्थीको भीड नै लाग्ने गर्दथ्यो । यही असार ७ गते परेको खण्डग्रास सूर्यग्रहणमा समेत देवघाटमा स्नानमा नआउन समितिले सार्वजनिक सूचना नै जारी गरेको थियो । देवघाटमा स्वदेश तथा विदेशबाट स्नानका लागि तीर्थयात्री आउँथे ।

कोरोना भाइरसको संक्रमण फैलिने जोखिमका कारण देवघाट प्रवेशमा समेत चैतयता निगरानी बढाइएको छ । बढीमा २५ जना सामाजिक दूरी कायम गरी तथा स्वास्थ्य सुरक्षासहित दाहसंस्कारमा सहभागी हुन पाइने गरी सार्वजनिक अपिल गर्दै आएको छ । ‘भीडभाड रोक्न देवघाटका प्रवेशद्वारमा निगरानी बढाउने छौँ’, अध्यक्ष पौडेलले भने, ‘ठिमुरा, दासढुङ्गा, आपँटारीमा रोक लगाउनुपर्ने देखिएको छ ।’

साउनका हरेक सोमबार ५० हजारभन्दा बढी तीर्थयात्री आउने गर्दथे । स्नान, पूजापाठ गरी फर्किन्थे । तर, अहिले सहज समय छैन । स्नानघाट व्यवस्थापन गर्ने, स्वयंसेवक खटाउनेजस्ता पूर्वतयारीसमेत छैन । समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेले भीडभाड हुँदा सामाजिक दूरी कायम गर्न नसकिने भएकाले मेला हुन नसक्ने बताए ।

‘देशभरबाट तीर्थालु आउने ठाउँ हो, कोही संक्रमित आइदिए संक्रमण फैलिन सक्छ’, उनले भने, ‘संक्रमणबाट जोगाउनै मेला रोक्न लागेका हौँ । सरकारले देशभर कुनै मेला महोत्सव आयोजना नगर्न निर्देशन नै जारी गरिसकेको छ । देवघाट क्षेत्रमा करिब १५० घरमा पूजा सामग्री पसल सञ्चालनमा छन् । मेलालाई लक्षित गरी सडक किनारमा झण्डै एक हजारले पूजा सामग्री बेच्न बस्ने गर्दथे । अहिले देवघाट सुनसान सरह छ, पसलमा व्यापार छैन । – रासस

प्रतिक्रिया