कालीगण्डकीमा टिपर खस्यो, चालक बेपत्ता

म्याग्दी । बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ गुइठेभिरबाट कालीगण्डकीमा खसेर मङ्गलबार साँझ टिपरसहित चालक बेपत्ता भएका छन् । गिट्टी बोकेर गुइठेबाट घारतर्फ जाँदै गरेको बा२ख ३४२५ नंको टिपर सडक भासिएर कालीगण्डकीमा खसेको हो ।

टिपरसहित चालक म्याग्दीको मङ्गला गाउँपालिका–५ का २६ वर्षीय ज्ञानबहादुर पुन कालीगण्डकीमा बेपत्ता भएको प्रहरी नायब उपरीक्षक किरणजङ्ग कुँवरले बताए । साँघुरो सडकमा लोड भएको टिपरको टायरले टेकेको भाग भासिएपछि खसेको थियो । सो टिपर घारखोला जलविद्युत् आयोजनाको निर्माण सामग्री ढुवानीमा प्रयोग भएको थियो ।

यसैबीच म्याग्दी र मुस्ताङको सिमानामा पर्ने बादरजुङ भिरमा सडक भासिएपछि बेनी–जोमसोम सडक फेरि अवरुद्ध भएको छ । यसअघि सडकको प्रवेशविन्दु राहुघाटमा गत शुक्रबार बाढीले बेलिब्रिज बगाएपछि सिधा यातायात बन्द भएको थियो । सडक अवरुद्ध हुँदा मुस्ताङ र म्याग्दीको अन्नपूर्ण तथा रघुगङ्गा गाउँपालिकाका बासिन्दालाई आवतजावत र ढुवानीमा समस्या भएको छ ।

यसैगरी गत शुक्रबारदेखि अवरुद्ध भएको सदरमुकाम बेनीदेखि म्याग्दीको पश्चिमी क्षेत्रमा पर्ने मङ्गला, मालिका र धवलागिरि गाउँपालिका जोड्ने बेनी–दरवाङ सडक मङ्गलबार सञ्चालनमा आएको छ । प्रशासन र प्रहरी कार्यालयको पहलमा पूर्वाधार विकास कार्यालय, सम्बन्धित स्थानीय तह र निर्माण व्यवसायीले सडकको पहिरो पन्छाएर सडक खुलाएका हुन् । बेनी नगरपालिका–४ र मङ्गला–२ को सिमानामा पर्ने फापरखेतमा खसेको पहिरो हटाउन बागलुङबाट आएको गण्डकी प्रदेश प्रहरीको विपद् व्यवस्थापन गुल्मको टोलीले काम गरेको थियो ।

धवलागिरि र मालिका गाउँपालिकाको पहिरो प्रभावित क्षेत्रमा थप जोखिमको अध्ययन र व्यवस्थापनमा सघाउन जान लागेको टोली पहिरो पन्छाउँदै दरवाङ पुगेको छ । दरवाङदेखि ताकम, बिम र मराङ जोड्ने सडक मर्मतका लागि पनि पहल गरिएको छ । सडक, विद्युत्, सञ्चार सेवा अवरुद्ध हुँदा पहिरोपीडितलाई राहत, व्यवस्थापन र पुनर्वासको काममा अप्ठ्यारो भएको छ । पहिरोको जोखिम अध्ययनका लागि प्रहरीको विपद् व्यवस्थापन टोलीले ड्रोन क्यामेराको समेत सहयोग लिने प्रनाउ कुँवरले बताए ।

पहिरो प्रभावितहरुको व्यवस्थापन, बेपत्ताको खोजी र थप क्षतिको अध्ययनका लागि प्रहरी सहायक निरीक्षक सागर रानाको नेतृत्वमा १० जनाको टोली त्यसतर्फ गएको छ । विपद् व्यवस्थापनमा खटिने नेपाल प्रहरीको सो टोलीमा विपद्सम्बन्धी तालिमप्राप्त अनुभवी जनशक्ति छन् ।

आगोले जलेर घाइतेको उद्धार

सडक अवरुद्ध भएका कारण आगोले जलेर घाइते भई उपचारबाट वञ्चित भएका धवलागिरि गाउँपालिका–७ ताकमका तमबहादुर खत्रीको मङ्गलबार हेलिकोप्टरबाट उद्धार गरेर बेनी अस्पतालमा ल्याइएको छ । जिसी ग्रुपका अध्यक्ष नारायण जिसीले निजी खर्चमा प्रभु एयरको हेलिकोप्टरमा चढाएर ताकमबाट ल्याएर बेनी अस्पतालमा उपचारका लागि भर्ना गर्नुभएको हो । स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नभएपछि सिफारिस भएका, पहिरोका कारण सडक अवरुद्ध भएको, बोकेर ल्याउन सम्भव नभएको, गरिबीका कारण पीडा सहेर उपचारको पर्खाइमा रहेका ६२ वर्षका खत्रीको गाउँपालिकाका अध्यक्ष थमसरा पुनको अनुरोधमा उद्धार गरेको जिसीले बताए ।

मराङ र बिमका पहिरो प्रभावितका लागि राहत सामग्री लिएर गएको हेलिकोप्टर फर्कने बेलामा खत्रीलाई ल्याएर बेनी आएको हो । गत शनिबार घरमा राखिएको पेट्रोल चुहिएर भएर आगलागी हुँदा बोल्न नसक्ने अपाङ्गता अवस्थाका खत्रीको शरीरको आधा भाग जलेको थियो । खत्रीको उपचारमा बेनीको न्यूरोडमा रहेको नमस्ते म्याग्दी डिजिटल कलर ल्याब सञ्चालन गर्दै आएका ताकमका प्रकाश र कृष्णराज पौडेलले सहयोग गर्ने बताए ।

यसैबीच राम्चे, आरबाङ र शिवाङमा रहेका पहिरोपीडितका लागि राहत सामग्री उपलब्ध गराइएको छ । सहायक प्रमुख जिल्ला अधिकारी महेश सुवेदी र रेडक्रस सोसाइटीका सभापति लेखबहादुर हमालसहितको टोलीले हेलिकप्टरमार्फत खाद्यान्नलगायत राहत सामग्री पुर्याएको थियो । – रासस

प्रतिक्रिया