सलहको झुण्ड फेरी नेपालमा

काठमाण्डौं । दक्षिणबाट उत्तरतर्फ बहेको हावाले सलहको अर्को झुण्ड पनि नेपाल प्रवेश गरेको छ । आइतवार बिहान साढे ९ बजेतिर दाङको गढवा गाउँपालिका हुँदै एउटा झुण्ड र दिउँसो एक बजेतिर राप्ती नगरपालिका हुँदै अर्को झुण्ड नेपाल प्रवेश गरेको हो ।

प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रका सूचना अधिकारी रामकृष्ण सुवेदीका अनुसार हावाको वहावले ठुलो झुण्डबाट केही छुटिएर नेपाल छिरेको हो । करिव दश लाखको हाराहारीमा देखिएको सो झुण्डको मुख्य झुण्ड भने भारतको उत्तरप्रदेशमा रहेको छ । दुई साता अगाडी नेपाल छिरेको एक समुहले किसानले लगाएको बालीमा नोक्सान बनाएको थियो ।

केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकृत समेत रहेका सुवेदीका अनुसार वायुको गति मंगलवारदेखि केही परिवर्तन हुने पूर्वानुमान गरिएको छ । उनले भने, ‘अहिलेकै हावाको मोड रहेमा सोमबार र मंगलबार बिहार हुँदै जनकपुरतर्फबाट र पश्चिममा पनि उत्तर प्रदेश हुँदै कपिलवस्तु र रूपन्देहीतर्फबाट नेपालमा प्रवेश गर्न सक्ने देखिएको छ ।’ उनले भारतको राजस्थानतर्फबाट पनि अर्को ठूलो समूह आउँदै गरेकाले त्यसको खतरा पनि रहेको जानकारी दिए ।

आइतवार बिहान केहीबेर घाम लागेको बेला नेपालतर्फ प्रवेश गरेको सलहको झुण्ड दाङमा स्थानीयबासीन्दाले धपाएपछि त्यहाँ नबसी प्युठान र स्याङ्जातर्फ अघि बढेको थियो । दुई पटक गरी प्रवेश गरेको झुण्डमा अनुमानित १०÷१२ लाखको संख्यामा सलह किरा रहेको उनले बताए । सलहले प्युठान, अर्घाखाँचीलगायतका अरु छिमेकी जिल्लाहरुमा प्रवेश गरी नोक्सान गर्न सक्ने सम्भावना रहेकोले सतर्कता अपनाउन केन्द्रले आग्रह गरेको छ ।

आइतवार आएको झुण्डको साथै थप झुण्डसमेत नेपाल आउन सक्ने सम्भावना रहेकोले प्रदेश–५, २ तथा १ का तराई र मध्य पहाडी क्षेत्रहरुमा पनि सतर्कता अपनाउन केन्द्रले आग्रह गरेको छ ।

प्रतिक्रिया