नेकपामा राष्ट्रबादीको होडवाजी

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा दुई अध्यक्षबीच पछिल्लो पटक देखिएको विमतिमा सहमति कायम भएको छ । आपसी लेनदेन वा कुन विषयमा कसरी सहमति भयो भनेर नखुलाइएपनि दुई अध्यक्षको अभिव्यक्तिले सहमतिको संकेत गरेका हुन् ।

प्रधानमन्त्री र अध्यक्षबाट केपी शर्मा ओलीको राजिनामा माग गरेका अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र ओलीबीच सहमति भईसकेको नेताहरुले पनि संकेत गरेका छन् । दुई अध्यक्षबीच पटक पटक बालुवाटारमा भएको ‘वान टू वान’ वार्ता निक्कै सकरात्मक भएको र त्यसैक्रममा भएका टेलिफोन वार्तामा समेत थप छलफल भएकाले अब विवाद नदेखिने बताइएको छ । देशबासीका नाममा शनिवार राति सम्बोधन गरेका प्रधानमन्त्री ओलीले विवादबारे भनेका थिए, ‘यस्ता विषयहरु सम्बन्धित दल र तिनका नेताहरुले आपसी छलफलबाटै सुल्झाउने छन् । यसका लागि धैर्यता र संयम आवश्यक हुन्छ ।’

नक्सा जारी गर्ने विषयमा नेकपाभित्र प्रधानमन्त्री ओलीलाई जस दिनेहरुको जमात ठुलै छ । संविधान संशोधन गर्दा संसदमै एकाएक राष्ट्रवादी नेताहरु पनि जन्मिएका छन् । नेकपाका नेताहरु बामदेव गौतम, झलनाथ खनाल, माधव नेपालले पनि यसमा दावी गरिरहेका छन् । पछिल्लो पटक अध्यक्ष दाहालले पनि आफ्नो पहलमा सरकारले नक्सा पास गरेको अभिव्यक्ति दिएका हुन्

आइतवार गृहजिल्ला चितवन पुगेका अर्का अध्यक्ष दाहालले पनि दुईअध्यक्षबीच केही प्रतिक्रियावादी तत्वहरुले खेल्न खोजेको बताए । ‘प्रतिक्रियावादीहरू के चाहन्छन् भने एकातिर गएर यो बेला केपी शर्मा ओलीलाई छोड्न हुन्न भन्ने अर्कोतिर गएर प्रचण्डलाई छोड्न हुन्न यो बेला भन्ने पनि बुझिएको छ’, माडीमा कार्यकर्ता भेलामा दाहालले भनेका थिए, ‘तपाईंहरू त्यस्तोमा नलाग्दिनुहोला, हामी जित्छौं ।’ भिन्न भिन्न अवस्थामा बोलेका दुवै अध्यक्षको स्पष्ट सन्देश थियो, पार्टी एकता संकटमा पर्दैन । अर्थात अब पार्टीमा विभाजन जादैन, त्यो रोकियो ।’

दुवै पदबाट राजिनामा माग गर्नेको नेतृत्व गरेका दाहाल र दुवै पदबाट राजिनामा दिन्न भन्ने ओलीबीच सहमति भएकाले यस्तो अवस्था आएको हुन सक्ने बुझाई अर्को असन्तुष्ट माधव नेपाल पक्षको छ । तर, के सहमति भयो वा युद्ध विराममात्र भएको हो भनेर कसैले बुझेका छैनन् । अब बस्ने स्थायी कमिटी बैठकमा यी विषयहरु खुल्न सक्ने अनुमान गरिएको छ । कतिपयको बुझाई भने नेपालका लागि चिनियाँ राजदूतको दौडधुपले तत्कालका लागि पार्टी विभाजन रोकिएको अनुमान गरेका छन् ।

राजिनामाको विषय केही मत्थर हुदै गर्दा नेकपामा अब को राष्ट्रवादी भन्ने नयाँ विषय उठ्न थालेको छ । राष्ट्रवादीका विषयमा दुवै अध्यक्षबीच मत अझै बाझिएको आइतवार चितवनमा कार्यकारी अध्यक्ष दाहालले दिएको अभिव्यक्तिबाट प्रकट भएको छ । भारतले सैन्य कब्जामा लिएको नेपाली भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटर सरकारले राजनीतिक नक्सा जारी गरेपछि संविधानको अनुसूचिमा समेटियो । त्यसको जस कसले लिने भनेर नेकपाका नेताहरुमा होडबाजी शुरु भएको छ ।

यद्यपी संसदमै दलहरुबीच पनि यसविषयमा कटाक्ष नभएको भने होइन् । संसदमै एकाएक राष्ट्रवादी नेताहरु पनि जन्मिए । तर, सबैभन्दा ठुलो दल र सरकारको एकल नेतृत्व गरेको नेकपाभित्रै पनि विवाद जारी छ । सचिवालय सदस्यहरु बामदेव गौतम, झलनाथ खनाल, माधव नेपालले पनि यसमा दावी गरेका छन् । उपाध्यक्ष समेत रहेका गौतमले त विज्ञप्ती नै जारी गरी यो आफ्नो पहलमा सम्भव भएको स्पष्ट पार्न खोजे ।

तर, नेकपाकै कतिपय नेताले प्रधानमन्त्री ओलीलाई एकलौटी रुपमा अगाडी सार्न खोजे । उनकै पहलमा नक्सा जारी भएकाले राष्ट्रवादी नेता ओली नेतृत्वको सरकार गिराउन भारतपरस्तहरु लागिपरेको भन्दै सडकमा नारा लागिरहेको छ । सोही विषयमा अर्का अध्यक्ष दाहालले पनि मुख खोलेका छन् । उनले चितवनमै रहेका बेला नक्सा जारी गर्ने कुरा आफ्नो नेतृत्वमा बसेको स्थायी कमिटी र केन्द्रीय कमिटीले निर्णय गरेको बताए ।

कार्यकारी अध्यक्ष दाहालले लिम्पियाधुरा समेटिएको नक्सा जारी गर्न सरकारलाई आफूले नै निर्देशन दिएको र त्यसलाई प्रधानमन्त्री ओलीले औपचारिकता दिएको बताए । यसबारे व्याख्या गर्दै उनले भने, ‘मलाई कुन अर्थमा गर्व छ भने मंसिर ४ गते मलाई पार्टीको कार्यकारी अध्यक्षसहित पार्टी सञ्जालनको जिम्मा भनिएको थियो । यद्यपि त्यो रामैसँग लागू हुन पाएन । तर, पनि मलाई कार्यकारी भनिएको लगत्तैपछि पहिलो स्थायी समितिको बैठक मंसिरको अन्तिममा भयो । त्यसबेला भारतले नक्सा प्रकाशित ग¥यो र मैले स्थायी समतिको बैठकमा हामीले पनि तुरुन्तै नक्सा प्रकाशित गर्नैपर्छ, हाम्रो भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा हामीले पनि तुरुन्तै प्रकाशित गर्नुपर्छ भनेर स्थायी कमिटीबाट सर्वसम्मत निर्णय गराएको छु । त्यो लम्पसारवाद हो ?’

त्यसपछि माघमा सम्पन्न केन्द्रीय समितिको बैठकबाट ढीलो नगरी लिम्पियाधुरादेखि लिपुलेक र कालापानीसहितको भूभाग समेटिएको नक्सा प्रकाशित गर्नुपर्दछ र जरुरी पर्दछ भने हामीले त्यसलाई संवैधानिक व्यवस्था पनि गर्नुपर्दछ भनेर आफूले केन्द्रीय समितिमा पनि भनेको अध्यक्ष दाहालले सुनाए । ‘केन्द्रीय समितिले अविलम्ब नक्सा प्रकाशित गर भनेर सरकारलाई निर्देशन दियो, के यो लम्पसारवाद हो ?’

अध्यक्ष दाहालले पार्टीमा कसैलाई दलाल र कसैलाई महान राष्ट्रवादी भन्दै जिन्दावाद र मूर्दावादको नारा नलगाउन कार्यकर्तालाई आग्रह गरे । सडकमा अहिले लागिरहेको नाराप्रति इंगित गर्दै उनले भने, ‘यो पार्टीलाई एकतावद्ध राख्नु नै छ । यहाँ कोही राष्ट्रघाती दलाल, कोही महान राष्ट्रवादी भन्ने होइन । हामी सबै मिलेरै नाकाबन्दीको सामना गरेको हो । हामी सबै मिलेरै नक्सा बनाएको हो । के राष्ट्रवाद जिन्दावाद र मूर्दावादको कुरा हो ? पार्टीभित्र जिन्दावाद र मूर्दावाद भन्ने कुरा हो त ?’

प्रतिक्रिया