खोजखबर

तनहुँमा पहिरोले घर बगायो

सौर्य अनलाइन २०७७ असार २८ गते १४:१७ मा प्रकाशित

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१ नयाँगाउँमा शनिबार राति पहिरोले एक घर बगाएको छ । दुई दिनदेखि परेको अविरल वर्षासँगै आएको पहिरोले स्थानीयवासी मुरली ढकालको घर बगाएको हो ।

ढकालका परिवार घरभित्रै रहेका बेला पहिरो आएपछि उनीसहित पाँच जना सामान्य घाइते भएको स्थानीयवासी विशाल ढकालले जानकारी दिए । पहिराले घर बगाएपछि स्थानीयवासीले उनीहरुको उद्धार गरेका थिए । पहिरोले घर बगाएपछि मुरलीसहित उनका श्रीमती, दुई छोरा र एक छोरीले सोही ठाउँभन्दा अलि माथि रहेको छविराज ढकालको घरमा आश्रय लिएका छन् ।

‘अकस्मात् पहिरो आएर घर बगाएपछि स्थानीयवासीले तत्कालै उहाँहरुको उद्धार गरेका कारण थप क्षति हुन पाएन’, विशालले भने, ‘उहाँहरु अहिले छिमेकीका घरमा हुनुहुन्छ ।’ सोही घरमा शनिबार साँझ एक वृद्धको कालगतिका कारण मृत्यु भएको थियो । इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक जगदीश रेग्मीले पहिराका कारण घर बस्न नमिल्ने गरी क्षति भएको जानकारी दिए ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय