‘बाढी र डुबानको जोखिम रोकथाम तथा उद्धारका लागि तयारी पूरा’

जनकपुरधाम । मनसुन सक्रिय भएको कारणले बाढी र डुबानको जोखिम बढेपछि २ नं. प्रदेशका जिल्लाहरुमा सतर्कता अपनाइएको छ । उद्धारका लागि हेलिकप्टर तयारी अवस्थामा राखिएको छ भने आवश्यक उपकरणहरुको पनि जोहो गरिएको छ । मुख्यमन्त्री लालबाबु राउतले प्रदेशस्तरीय विपद् जोखिम न्यूनीकरणको बैठक बोलाएर सुरक्षा निकायलाई उच्च सतर्कतामा रहन निर्देशन दिएका छन् ।

‘सुरक्षाकर्मीलाई निर्देशन मात्र होइन, मानवीय क्षति कम गर्नका लागि पूर्वाभ्यास पनि गराएका छौं,’ आन्तरिक मामिला एवं कानुन मन्त्री तथा २ नं. प्रदेश सरकारका प्रवक्ता माननीय ज्ञानेन्द्र यादवले भने, ‘गत वर्ष हाम्रो राम्रो तयारी थिएन । यस पटक हामीले सम्पूर्ण तयारी गरेका छौँ ।’ २०७६ सालमा भएको भारी वर्षाका कारण २ नं. प्रदेशका बिभिन्न ठाउँमा बाढी आउँदा ४ दर्जन व्यक्तिले ज्यान गुमाएका थिए ।

झण्डै १५ हजार घर बाढीले बगाएको थियो । त्यसबेला बाढीको पूर्वतयारी नगरेको प्रदेश सरकारले मृत्यु हुनेको परिवारलाई भने ३ लाख रुपैयाँका दरले राहत उपलब्ध गराएको थियो । यस वर्ष डुबान हुने क्षेत्रको नक्सांकन गर्नुका साथै स्थानीय तह, विपद्मा काम गर्ने संघ–संस्था र सरकारी निकायको स्रोत पनि पहिचान गरिसकिएको मन्त्री यादवले जानकारी दिए । उनले प्रभावित घर परिवारलाई उद्धार गरेर राख्नुपर्ने ठाउँहरुको पनि पहिचान गरिसकिएको बताए ।

२ नं. प्रदेश सरकारले उद्धारमा खटिने सुरक्षाकर्मीहरुलाई रबर बोट, लाइफ ज्याकेट, ड्रोन क्यामेरासहितका उपकरण उपलब्ध गराएको छ । यस्तै, संघीय सरकार र नेपाली सेनाको समन्वयमा २ नं. प्रदेशकै लागि एउटा हेलिकप्टरसमेत तयारी अवस्थामा राखिएको मन्त्री यादवले जानकारी दिए । ‘हामी डुबानसँग लड्न पूर्णरुपमा तयारी अवस्थामा छौँ,’ उनले भने, ‘सरकारका सबै तह यसका निम्ति तयारी अवस्थामा छन् ।’

आठ वटै जिल्ला जोखिममा

२ नं. प्रदेशका आठ वटै जिल्लामा बाढी आएर डुबान हुने खतरा छ । लगातारको वर्षाले सप्तरीदेखि पर्सासम्मका बिभिन्न खोला, नदीको सतह बढ्दै गएको छ । मौसमविदहरुले अझै तीन दिनसम्म वर्षा हुने पूर्वानुमान गरेकाले पनि पहाडी जिल्लामा पहिरो र तराईका जिल्लामा डुबानको खतरा छ ।

वर्षाका कारण २ नं. प्रदेशका जिल्ला सदरमुकाममा पानी पसेको छ । प्रदेशको अस्थायी राजधानी जनकपुरधामस्थित प्रादेशिक अस्पताल जलमग्न बनेको छ । अन्य सरकारी कार्यालयहरुमा पनि पानी पसेको छ ।

सप्तरी सदरमुकाम राजविराजको अदालत रोडमा पनि पानी पसेको छ । जिल्लाको सप्तकोशी, खाँडो, त्रियुगा, बलानसहितका नदीको सतह बढ्दै गएको छ । सिरहा र धनुषाको सीमामा रहेको कमला नदीको बहाब पनि उच्च भएको छ । महोत्तरीका रातु, मरहा, बिगहीसहितका नदीमा पनि बहाव बढेको छ । रौतहटको लालबकैया र बागमती नदीमा पनि जल सतह बढ्दै गएको छ ।

सर्लाहीको बागमती, लखनदेइ, कालिन्जोर, सपाहासहितका खोलामा प्रत्येक वर्ष बाढी आउने गर्दछ । यी खोलाहरुको सतह बढ्दै गए पनि शुक्रबारसम्म डुबानको खतरा भने नदेखिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी गराए । यद्यपि रोकथाम तथा उद्धारका लागि सुरक्षाकर्मी तयारी अवस्थामा रहेको उनले बताए ।

प्रतिक्रिया