मध्यपश्चिमाञ्चल र सिजियाच्वाङ विश्वविद्यालयबीच समझदारी

सुर्खेत । मध्य–पश्चिमाञ्चल विश्वविद्यालय सुर्खेत, नेपाल र हपेई अर्थशास्त्र तथा वाणिज्य सिजियाच्वाङ विश्वविद्यालय चीनबीच समझदारी भएको छ । शैक्षिक तथा अनुसन्धान विकासमा सहकार्य गर्नका लागि दुई विश्वविद्यालयबीच समझदारी भएको हो ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयतर्फबाट उपकुलपति प्रा. डा. नन्दबहादुर सिंह र हपेई अर्थशास्त्र तथा वाणिज्य विश्वविद्यालय तर्फबाट उपकुलपति प्रा. डा. हे छिछ्याङद्वारा समझदारी पत्रमा हस्ताक्षर गरिएको विश्वविद्यालयका उपप्राध्यापक एवं सूचना तथा सञ्चार प्रविधिविज्ञ पञ्चदेव भट्टले जानकारी दिए ।

‘उक्त सम्झौता कुनै निश्चित अवधिका लागि मात्र नभई दीर्घकालीन रुपमा लागू हुने सम्झौतापत्रमा उल्लेख गरिएको छ,’ उप–प्राध्यापक भट्टले भने, ‘यो सहकार्यपश्चात दुईवटै विश्वविद्यालयले साझा चासोका विषयमा सहकार्य गरिनेछ । जसअन्तर्गत दीर्घकालीन तथा समग्र सहयोगको परिधिभित्र रहेर वैज्ञानिक अनुसन्धान, शैक्षिक संस्था सञ्चालन तथा भिजिटिङ स्कलर आदान प्रदान हुनेछ ।’

उनका अनुसार शैक्षिक पठनपाठन सुधार तथा सिकाइका लागि उपयुक्त प्राध्यापकसमेत विश्वविद्यालयबीच आदानप्रदान हुनेछन् भने भविष्यमा विश्वविद्यालयअन्तर्गत रहेका विभाग तथा स्कूलहरुबीच समेत नजिकबाट सहकार्य हुनेछ । यो समझदारीपश्चात दुवै विश्वविद्यालयले आफ्ना विद्यार्थी सम्बन्धित विषयअन्तर्गत रहेर ट्रान्सफर गरी पढ्न सक्नेछन् जसले गर्दा उनीहरुको सिकाइ सुधार तथा अन्तर्राष्ट्रिय शिक्षामा समेत पहुँच पुग्ने कुरा उनले बताए ।

यसैगरी यो समझदारीमा आधारित रहेर सहकार्यको प्रभावकारिता र उपयोगिताको दायरालाई अझै फराकिलो पार्नका लागि अन्य समझदारीसमेत गर्न सकिने व्यवस्था रहेको जनाइएको छ । जुन उच्च अधिकारीको संवाद, भ्रमण तथा छलफलमार्फत गरिने कुरा उल्लेख गरिएको छ ।

सन् १९५३ मा चीनको हपेई प्रान्तमा स्थापना भएको हपेई अर्थशास्त्र तथा वाणिज्य विश्वविद्यालयअन्तर्गत अर्थशास्त्र, व्यवस्थापन, कानून मुख्य विधा हुन् भने कला र विज्ञान तथा प्रविधि विषेश अध्ययन अध्यापनका क्षेत्र हुन् । यो सहकार्यपश्चात मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा कार्यरत प्राध्यापक तथा अध्ययनरत विद्यार्थीले प्रत्यक्ष शैक्षिक लाभ लिनसक्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया