अभिनेता जगदीपको निधन

मुम्बई । चलचित्र ‘सोले’ मा ‘सूरमा भोपाली’ को चरित्रमा खेलेका चर्चित बलिउड अभिनेता जगदीपको ८१ वर्षको उमेरमा निधन भएको छ । केही समययता उमेरजन्य विभिन्न रोगबाट पीडित रहँदै आएका उनको बुधबार राति ८ः३० बजे निधन भएको हो । उनी चलचित्र ‘अन्दाज अपना अपना’ तथा ‘राना मन्दिर’ मा गरेको कामबाट दर्शकमाझ परिचित छन् ।

अभिनेता जाबेद जाफ्री तथा टेलिभिजन सञ्चालक नाभेदका पिता जगदीपले ४ सय बढी सिनेमामा काम गरेको भाारतीय सञ्चार माध्यमले जनाएका छन् । उनको निधनप्रति सिंगो बलिउडले शोक व्यक्त गरेको छ । ‘खम्बा उखाड्के’ थेगोका लागि चर्चित जगदीप परिवारलाई आर्थिकरुपले सहयोग पु¥याउन ९ वर्षको उमेरदेखि चलचित्रमा लागेका थिए ।

उनी सन् १९५१ मा बनेको बिआर चोपडाको चलचित्रमा भिडमा उभिने कलाकारका लागि छनोट भएका थिए । पछि उर्दू बोल्न सक्ने भएकाले उनलाई संवादसहितको भूमिका गर्ने अवसर दिइएको थियो । उनले एक अन्तर्वार्तामा भनेका थिए, ‘पैसाको आवश्यकता भएकाले म सिनेमामा आएँ । मेरो कहिले पनि मूख्य भूमिकामा अभिनय गर्छु वा अन्य भन्ने कुनै लक्ष्य थिएन ।’

चलचित्र ‘अफ्साना’ ले उनलाई यस क्षेत्रमा ढोका खोलिदियो । उनले ‘हम पंक्षी एक डाल के’ चलचित्रमा काम गरेका थिए । यस चलचित्रबाट उनले तत्कालीन प्रधानमन्त्री जवाहारलाल नेहरूबाट सम्मानित हुने अवसर समेत पाएका थिए । त्यसपछि उनले राज कपुरको ‘अब दिल्ली दूर नही’, के ए अब्बासको ‘मुन्ना’ र विमल रोयको ‘दो बिगा जनिम’ चलचित्रमा बालकलाकारका रूपमा समेत काम गरेका थिए ।

उनी खासगरी हास्यप्रधान चरित्रका लागि सहन्दी चलचित्र जगतमा परिचित थिए । त्यस्तै, उनले पाँच वटा चलचित्रमा नायकका रूपमा काम समेत गरेका थिए । उनले नन्दा, ऐजरा, अमिता तथा नाज जस्ता अभिनेत्रीको नायक बनेर काम गरे । ‘भावी’ चलचित्रमा काम गरेपछि उनी हास्य भूमिकामा आकर्षित भए । उनलाई खास परिचय भने ‘सोले’ को ‘सूरमा भूपाली’ ले दिलायो ।

पछि उनले सन् १९८८ मा यही चरित्रमाथि सोही नामको चलचित्र बनाए । यस चलचित्रमा अभिनेता अमिताभ बच्चन, धर्मेन्द्र तथा अभिनेत्री रेखाले अतिथि भूमिका निभाएका थिए । उनले रामसे दाजुभाइका कयौं हरर चलचित्रमा पनि काम गरेका थिए । उनले आइफाबाट लाइफटाइम अचिभमेन्टको अवार्डसमेत हात पारेका थिए ।

प्रतिक्रिया