सीमा क्षेत्रमा सशस्त्र प्रहरीका चारवटा बीओपी स्थापना

कञ्चनपुर । सीमा सुरक्षार्थ तैनाथ सशस्त्र प्रहरीले बिहीबार कञ्चनपुरका विभिन्न स्थानमा चारवटा बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरेको छ ।

सीमा क्षेत्रको सुरक्षा व्यवस्थालाई चुस्तदुरुस्त बनाउन पुर्नवास नगरपालिका–१० दोधा, बेलौरी नगरपालिका–२ थापा चोक, सोही नगरपालिका–१० को भुडा र महाकाली नगरपालिका–१ बैलबन्दमा सशस्त्र प्रहरीका बोर्डर आउट पोष्ट स्थापना गरिएका हुन् ।

सशस्त्र प्रहरीको ७ नम्बर बाहिनीका बाहिनीपति (डीर्आइजी) हरिशङ्कर बुढथोकीले चारवटै बीओपीको उद्घाटन गरे । बीओपी उद्घाटन गर्दै उनले सीमा क्षेत्रमा भारतीयतर्फबाट हुने घुसपैठ रोक्नका लागि सहज हुने बताए । सीमा अपराध र सीमा अतिक्रमणलगायत समस्या समाधानका लागि सशस्त्र प्रहरीले चौबीसै घण्टा गस्ती गर्दै आएको बताए । स्थापना गरिएका बीओपीमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ३५ जवानलाई खटाइएको छ ।

सीमा क्षेत्रमा केही दिनभित्रै थप चार वटा बीओपी स्थापना गरिने सशस्त्र प्रहरी बल नम्बर ३५ शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरबहादुर शाहुले बताए । उनका अनुसार सीमा क्षेत्रमा यसअघि १० वटा सशस्त्र प्रहरीका बीओपी रहेका थिए । चार वटा थप भएपछि बीओपीको संख्या १४ पुगेको छ । सशस्त्र प्रहरी सीमा क्षेत्रमा तैनाथ गरिएपछि चोरी, तस्करी, सीमा अतिक्रमणलगायत समस्या हट्दै गएका छन् । सशस्त्र प्रहरीले सीमा क्षेत्रमा गस्ती गर्दै आएको छ ।

प्रतिक्रिया