‘संक्रमित घटेपनि संक्रमण घटेको छैन’

काठमाडौं । नेपालमा थप १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका २५ वटा प्रयोगशालामा गरिएको परीक्षणमा उक्त संख्यामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । यो सँगै कुल संक्रमितको संख्या १६ हजार ५३१ पुगेको छ ।

यो दैनिक आँकाडा पछिल्लो केही साताकै सबैभन्दा कम हो । प्रवक्ता गौतमका अनुसार संक्रमितको संख्यामा कमि आएपनि संक्रमणको जोखिम भने कम नभएको बताए । उनले संक्रमितको संख्या कम भए पनि हेलचक्य्राइँ बढेकाले स्थिति भयाभह हुनसक्ने भन्दै यसप्रति सबैलाई सचेत रहन आग्रह समेत गरे ।

प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा चार हजार ५८८ जनाको पीसीआर नमूना परीक्षण भएको छ । हाल क्वारेन्टिनमा २४ हजार ८२५ जना र आइसोलेशनमा आठ हजार ६०५ जना रहेका छन् । कोभिड–१९ बाट संक्रमित मुक्त भई गत २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १४९ रहेको छ । हालसम्म डिस्चार्ज हुनेको संख्या सात हजार ८९१ रहेको उनले बताए ।

बिहीबारसम्म प्रदेश १ मा २ हजार ८५०, प्रदेश २ मा २ हजार ९९०, बाग्मती प्रदेशमा १ हजार ९०७, गण्डकी प्रदेशमा ४ हजार २५० , प्रदेश ५ मा ५ हजार २४०, कर्णाली प्रदेशमा १ हजार ८९९ र सुदुरपश्चिममा ५ हजार २८९ जना क्वारेन्टाइनमा रहेका छन् ।

त्यसका साथै आइसोलेसनमा प्रदेश १ मा १९६, प्रदेश २ मा २ हजार २४ , बाग्मती प्रदेशमा ४२९, गण्डकी प्रदेशमा ८६२ , प्रदेश ५ मा १ हजार ७२७, कर्णाली प्रदेशमा ४०५ र सुदरपश्चिममा २ हजार ९६२ रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ५ वटा जिल्लामा कोरोना संक्रमण शुन्यमा देखिएको छ । धनकुटा, भोजपुर, सोलुखुम्बु, मुस्ताङ र हुम्लालाई ’कोरोना फ्री’ जिल्ला भनिएको छ । त्यसैगरी ५०० भन्दा बढी संक्रमित देखिएको जिल्ला भनेका महोत्तरी ,रौटहट, पाल्पा, अछाम ,कैलाली र बाजुरा रहेका छन् ।

प्रतिक्रिया