खोजखबर

पेन्सन बुझ्न भन्दै तिन दिनका लागि नाका खुलाइयो

सौर्य अनलाइन २०७७ असार २४ गते १७:३३ मा प्रकाशित

दार्चुला । भारतीय पेन्सनधारी नेपालीका लागि सुदूरपश्चिम पहाडी जिल्लाका तीन नाका आजदेखि खोलिएका छन् । बैतडीको झुलाघाट र दार्चुलाको धार्चुला (पुलघाट) र जौलजीवी नाका तीन दिनका लागि खोलिएका हुन् ।

लकडाउनका कारण लामो समयदेखि भारतीय पेन्सनधारीले पेन्सन बुझ्न नपाएको गुनासो आएपछि नाका खोलिएको बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए। झुलाघाट नाका शुक्रबार बिहान १० बजेदेखि ५ बजेसम्म खुल्ला रहने जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।

कोरोना भाइरसको जोखिमका कारण अन्तर्राष्ट्रिय सीमा नाका बन्द भएकाले दुबै देशका स्थानीय प्रशासनको समन्वयमा आजदेखि तीन दिनका लागि सीमा नाका खुला गर्ने सहमति भएको हो । यस्तै, दार्चुलाको धार्चुला (पुलघाट) र जौलजीवी नाका पनि तीन दिनका लागि खुल्ला गरिएको छ । दार्चुलाका यी नाका भने २ सिफ्टमा खुल्ने प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिए ।

बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म र दिउँसो ३ बजेदेखि बेलुका ६ बजेसम्म नाका खुल्ला रहने जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । सीमामा भारत प्रवेश गर्दा परिचयपत्र अनिवार्य, स्वास्थ्यसम्बन्धी नियमपालना अनिवार्य गर्नुपर्ने जनाइएको छ । बैतडीका दुई हजार बढी र दार्चुलामा ५०० जना भारतीय पेन्सनधारी नागरिक रहेका छन् ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय