नेताको स्वार्थमा अड्कियो सहमति

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)भित्र देखिएको विवाद पछिल्लो समय नेताहरुको आ–आफ्नो स्वार्थमा अल्झिएपछि सहमति निकाल्न सकस भएको छ । शुरुमा निक्कै आक्रमक बनेको नेकपाभित्रको राजनीति शिर्ष नेताको स्वार्थका कारण पेचिलो बन्दै गएको छ ।

असार १० गतेबाट शुरु भएको स्थायी कमिटी बैठकमा एकाएक असार १६ गतेको बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग गरेपछि नेकपाभित्रको राजनीति तातेको थियो । दाहाललाई वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि साथ दिएपछि ओली एक्लो जस्तो भएका थिए । शुरुमा दुवै पक्ष निक्कै आक्रमक रुपमा प्रस्तुत हुँदा पार्टी नै विभाजन हुने अवस्थामा पुगेको नेता कार्यकर्ताले ठम्याएका थिए । तर, अहिले परिस्थिति फेरिएको छ, नेकपा भित्रको राजनीति ।

प्रचण्ड, नेपाललगायतका नेताहरू प्रधानमन्त्री ओलीलाई जसरी पनि पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट हटाउन चाहान्छन् । र, प्रधानमन्त्री ओली कुनै पनि हालतमा दुवै पद नछोड्ने अडानमा छन् । प्रचण्ड र नेपालबीच ओलीलाई कुन पदबाट हटाउने भन्ने अन्यौलता रहेको छ

अहिले मुख्य चार शिर्ष नेता आ–आफ्नो स्वार्थ अनुरुपको पद पाउनका लागि समिकरण नै फेरबदलमा पुग्न सक्ने अवस्थामा देखिएका छन् । नेकपाभित्र मुख्य रुपमा तीन वटा गुट रहेको छ । ओली, प्रचण्ड र नेपाल गुट प्रमुख हुन् । यी तीनै पक्षसँग कुनै पनि कमिटीमा बहुमत छैन । त्यसैले बहुमत पु¥याउन कुनै दुई पक्ष मिल्नुपर्ने हुन्छ । शुरुमा प्रचण्ड–नेपाल पक्ष मिलेर ओलीको राजिनामा माग गरे । तर, अहिले फेरी ओली–प्रचण्ड निरन्तर सम्वादमा जुटेपछि नेपाल पक्ष एक्लिएको छ । जसले गर्दा तीनै पक्ष अहिले सशंकित अवस्थामा छन् ।

ओली–प्रचण्डबीच पछिल्लो केही दिनदेखी निरन्तर संवाद चलिरहेको छ । सो वार्ता सकरात्मक रहेको बताइएको छ । मंगलबार पनि तीन घण्टाभन्दा बढी समय दुई अध्यक्षबीच कुराकानी भएको छ । ‘वान टू वान’ भएको वार्ताका विषयमा बाहिर कुनै जानकारी गराइएको छैन । सम्भवत बुधबार विहान बोलाइएको स्थायी कमिटी बैठक बस्ने सम्भावना रहेको नेताहरु बताउछन् ।

प्रचण्ड, नेपाललगायतका नेताहरू प्रधानमन्त्री ओलीलाई जसरी पनि पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट हटाउन चाहान्छन् । र, प्रधानमन्त्री ओली कुनै पनि हालतमा दुवै पद नछोड्ने अडानमा छन् । प्रचण्ड र नेपालबीच ओलीलाई कुन पदबाट हटाउने भन्ने अन्यौलता रहेको छ । दुवै पक्षले शुरुमा मिलेर ओलीलाई दुवै पदबाट हटाउने निर्णय गरेपनि त्यसबाट पार्टी फुट्न सक्ने देखेपछि अहिले अलिकति पछाडी हटेका छन् ।

दुवै पक्षको अबको तत्कालीन स्वार्थ भनेको प्रधानमन्त्री ओलीलाई एउटा पदबाट हटाउने हो । तर, त्यो कुन पदबाट हटाउने भन्ने कुरा चाहिँ आफ्नो दीर्घकालीन स्वार्थमा अडिएको छ । प्रचण्ड ओलीलाई प्रधानमन्त्री पदबाट हटाउन चाहन्छन् । ओलीलाई तत्काल पार्टी अध्यक्षबाट हटाउने उनको माग र इच्छा दुवै होइन । त्यसैले उनी निकट पूर्वमाओवादी नेताहरूले एक पद छोडे कुरा मिल्ने बताइरहेका छन् ।

पूर्वमाओवादीहरूले भनेको त्यो एक पद प्रधानमन्त्री हो । प्रचण्डले समेत स्थायी समितिको बैठकमा आफूले आलोपालो प्रधानमन्त्रीको सहमति छोडेर गल्ती गरेको महसुस भएको बताइसकेका छन् । अहिले अध्यक्ष र प्रधानमन्त्री हुन पाए अब आउने पार्टीको महाधिवेशनमा सबै पक्षलाई पाखा लगाएर पार्टीको एकल अध्यक्ष आफंै बन्ने दाउ प्रचण्डको छ । ठूलो पार्टीको अध्यक्ष र प्रधानमन्त्री हुन पाए आफूमाथि लागेका सबै राजनितीक र आर्थिक मुद्दालाई पार लगाउन सकिने उनको बुझाइ छ ।

पूर्वप्रधानमन्त्री एवम् वरिष्ठ नेता नेपालको दाउ चाहिँ अर्कै छ । नेपाल पक्ष एक व्यक्ति एक पदमा जानुपर्ने बताइरहेको छ । त्यो स्थितिमा प्रधानमन्त्रीले अध्यक्ष पद छोड्नु पर्ने नेपाल पक्षको माग छ । एक व्यक्ति एक पद भए आफू पार्टीको अध्यक्ष बन्ने दाउ नेपालको छ । प्रधानमन्त्रीले अध्यक्ष पद छोडे प्रधानमन्त्री र अध्यक्ष दुवै पद पूर्वएमालेसँग रहने र पार्टी पूर्व माओवादीको हातमा नजाने भन्दै ओली पक्षीय नेतालाई ‘कन्भिन्स’ गर्न प्रयास गरिरहेका छन् ।

तर, प्रधानमन्त्री ओली वैधानिकरूपमा महाधिवेशन नभएसम्म अध्यक्ष पद कुनै हालतमा नछोड्ने मुडमा छन् । ओली दुवै पद नछाड्ने बरु सके तत्काल महाधिवेशन गर्ने पक्षमा समेत उभिएका छन् । उनले पद नै छाड्नुपर्ने अवस्था आए युवा पुस्तालाई हस्तान्तरण गर्नुपर्ने आवाज उठाईरहेका छन् । तर, छिटो महाधिवेशन गर्न न प्रचण्ड तयार छन् न माधव नेपाल । किनकी दुवैजनालाई अध्यक्ष पदमा जित्छु भन्ने विश्वास छैन ।

प्रधानमन्त्री ओलीले आफू अब अध्यक्ष पदमा चुनाव नलड्ने बताएपछि प्रचण्ड र नेपाल दुवैले आफ्नो प्रतिस्पर्धा अब एक–अर्कासँग हुने हो भन्ने राम्ररी बुझेका छन् । त्यसैले प्रचण्डलाई प्रधानमन्त्री र माधव नेपाललाई अध्यक्ष पद चाहिएको हो । अर्का पूर्वप्रधानमन्त्री एवम् एमालेका पूर्वअध्यक्ष खनालको पनि आफ्नै दाउ छ । प्रधानमन्त्री ओलीलाई साथ दिएर दल विभाजनका लागि सहयोगी बनेको आरोप राष्ट्रपतिमाथि लगाउँदै महाअभियोगको बलमा उनी शीतल निवास प्रवेश गर्न चाहेको स्रोतको दावी छ ।

नेकपाको आन्तरिक राजनीतिमा खास प्रभाव नराख्ने खनालको ईच्छा शीतल निवास प्रवेश गरेर बाँकी जीवन आरामपूर्वक बिताउने मात्र हो । सोही स्वार्थ उनले प्रचण्ड–नेपाल समुहबाट पाउने देखेपछि त्यत्तै लागेको स्रोतको भनाई छ । जसले गर्दा नेकपाभित्र सहमति बन्न सकेको छैन । सहमति दुई अध्यक्षबीच बनेको खण्डमा नेपाल पक्षको बिमती हुन सक्ने आकंलन गरिएको छ । बुधबारको स्थायी कमिटी बैठक अगावै पुन दुई अध्यक्षबीच छलफल हुने र नयाँ सहमति बन्न सक्ने दावी भने नेताहरुले गरिरहेका छन् । उनिहरुले अब नेकपा पनि फुट्ने सम्भावना नरहेको बताउछन् ।

प्रतिक्रिया