कोरोनाको उच्च जोखिममा राजधानी

काठमाडौं । सबैभन्दा धेरै जनधनत्व भएको राजधानी काठमाडौं उपत्यकामा पुनः कोरोना संक्रमणको सख्या ह्वात्तै बढ्न थालेको छ । बाहिरि जिल्ला विभिन्न पास र विदेशबाट उद्धार गरेर ल्याइएकासँगै ट्राभल हिष्ट्री नहुनेहरुमा समेत कोरोना देखिन थालेको हो । संक्रमित दैनिक रुपमा बढ्न थालेपछि समुaदायमा संक्रमण बढेको हो भन्ने शंका समेत उत्पन्न भएको छ ।

सोमबारमात्र उपत्यकाका तीन जिल्लामा ५४ जना संक्रमि फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २४, ललितपुरमा २० र भक्तपुरमा १० जना संक्रमित फेला परेका हुन् । आइतबारमात्रै ३० जनामा संक्रमण पुष्टि भएको थियो । संक्रमित भेटिएका मध्ये केहीको ट्राभल हिष्ट्री नभएको भेटिएको छ । यद्यपी स्वास्थ्य मन्त्रालयले अहिलेसम्म समुदायमा कोरोना फैलिएको पुष्टि हुन नसकेको बताएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले समुदायमा फैलिएको छ वा छैन भन्नका लागि विभिन्न १० ठाँउका व्यक्तिहरुको नमुना संकलन गर्ने काम भईरहेको बताए । उनका अनुसार पहिलो चरणमा दुई ठाँउका २२८ जनाको नमुना परीक्षण गर्दा सबैको नेगेटिभ आएको जानकारी दिए । उपत्यकाको सबैभन्दा बढि संक्रमित भेटिएका तीनकुने र नख्खु क्षेत्रका विभिन्न स्थानमा २२८ जनाको स्वाब संकलन गरिएको थियो । दुई ठाँउको परीक्षण भएपनि अन्य ठाउँको पनि स्वाब संकलन गर्ने कार्य भईरहेको प्रवक्ता गौतमले बताए ।

उपत्यकामा दैनिक संक्रमित बढ्न थालेपछि सरकारले मास्क लगाउन कडाई गरेको छ । पटक पटक अनुरोध गरेपनि अटेरी गर्न थालेपछि मास्क नलगाई सार्वजनिक स्थानमा हिड्नेलाई पक्राउ गरिने भएको छ । गृह मन्त्रालयले मास्क नलगाई घरबाहिर निस्किने र सामाजिक दूरी कायम नगर्नेलाई तत्काल पक्राउ गर्न प्रहरी र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।

सोमबार दिउँसो प्रशासन र प्रहरीलाई परिपत्र गर्दै मन्त्रालयले स्वास्थ्य मापदण्ड अनुसार सामाजिक दूरी कायम नगर्ने र मास्क बिना बाहिर हिँडडुल गर्नेमाथि संक्रमक रोग नियन्त्रण ऐन अनुसार कारबाही गर्न निर्देशन दिएको गृहका सहप्रवक्ता उमाकान्त अधिकारीले बताए ।

लकडाउनलाई स्वास्थ्य मापदण्ड पालना गर्दै खुकुलो बनाउने नीति अबलम्वन गरिएपनि सर्वसाधारणसहित सरकारी, निजी तथा गैरसरकारी संघसंस्था र कार्यालयले यसको उल्लंघन गरेकोले तत्काल कडाइका साथ पछिल्लो निर्देशन कार्यान्वयन गराउन गृहले निर्देशन दिएको हो ।

‘स्वास्थ्य मापदण्ड पालना नगर्दा राजधानी नै संक्रमणको उच्च जोखिममा रहेको देखिएकोले गृहको निर्देशन र परिपत्र सरकारी, गैरसरकारी र निजी क्षेत्र तथा स्वयं सर्वसाधारणलाई कडाइका साथ लागू गर्न प्रशासन र प्रहरीलाई परिपत्र गरेका हौं’, उनले भने, ‘निर्देशन उल्लंघन गर्नेलाई पक्राउ र जरिवाना सम्मको कारबाही हुन्छ ।’

सरकारले असार १ गतेबाट लागू हुनेगरी लकडाउन खुकुलो बनाएको थियो । त्यसयता सडक र बजार, कलकारखानामा मास्क र सेनिटाइजर प्रयोग र सामाजिक दूरी पालना नगर्ने प्रवृत्ति बढ्दै गएको छ ।

पाँच साता न्युन संक्रमित, एकको मृत्यु
सोमबार पाँच साता यताकै सबैभन्दा न्युन संक्रमित फेला परेका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार सोमबार १८० जनामा संक्रमण देखिएको बताए । यसअघि यो भन्दा कम जेठ १७ गते १७१ जनामा देखिएको थियो ।

यस्तै पछिल्ला तीन दिनदेखी लगातार संक्रमितको सख्या पनि घट्दै गएको देखिएको छ । आइतवार २९३ र शनिवार २३२ जनामा संक्रमित देखिएका थिए । सोमबारसम्म नेपालमा संक्रमितको संख्या १५ हजार ९६४ पुगेको छ । त्यसमध्ये ६ हजार ८११ संक्रमित निको भएर घर फर्किएका छन् ।

कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । बाग्लुङका २९ वर्षीय पुरुषको आइतवार मृत्यु भएको हो । उनि भारतमा क्षयरोगको उपचार गरेर स्वदेश फर्किएका थिए । ‘मृतक ढोरपाटन नगरपालिकाको क्वारन्टीनमा हुनुहुन्थ्यो र भारतबाट क्षयरोगको उपचार गराई नेपाल फर्कनु भएको थियो’, पत्रकार सम्मेलनमा प्रवक्ता गौतमले भने ।

मन्त्रालयका अनुसार अहिलेसम्म क्वारेन्टाइनमा २९ हजार २१५ रहेका छन् भने आइसोलेसनमा ९ हजार ११८ जनाको उपचार भइराखेको छ । पछिल्लो २४ घण्टामा २५ वटा प्रयोगशालामा ४ हजार ७२१ नमुनाको पीसीआर परीक्षण गरिएको छ ।
उद्धार उडानमा सहभागीलाई कोरोना

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)का सात उडान कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । चार्टर्ड उडानमा सहभागी चालक दलका सात सदस्यको पीसीआर रिपोर्ट पोजेटिभ देखिएको निगमले जनाएको छ । अन्य सात सम्बधित क्रु मेम्बरको पुष्टि हुन बाँकी रहेको निगमले विज्ञप्तिमार्फत जनाएको छ ।

निगमका उडान कर्मचारी उद्धार उडानका क्रममा सोल्टी होटलमा क्वारेनटाइनमा बसेका थिए । निर्धारित उडान सकेर क्वारेनटाइनबाट घर पठाउने क्रममा पीसीआर परीक्षण गर्दा सात जना क्रु मेम्बरलाई कोभिड–१९ संक्रमण पुष्टि भएको निगमले जनाएको छ । उनीहरुको उपचारसम्बन्धी आवश्यक व्यवस्था निगम व्यवस्थापनले गरिरहेको र थप सतर्कता अपनाई पूर्वनिर्धारित उद्धार उडान यथावत सञ्चालन हुने निगमले स्पष्ट गरेको छ ।

प्रतिक्रिया