दैलेखका ६ वटा विद्यालय सूचना प्रविधि मैत्री बनाउन पहल

दैलेख । विद्यालयमा सूचना प्रविधिको विकास गर्न दैलेखका ६ वटा विद्यालयलाई सूचना प्रविधि बनाउन सांसद पार्वती विशुन्केको पहलमा सामग्री पठाइएको छ । सूचना प्रविधि प्रयोगशाला मैत्री सामुदायिक विद्यालय बनाउने कार्यक्रम अन्तरगत दैलेख जिल्ला निर्वाचन क्षेत्र नं. १ का ६ वटा विद्यालयमा सूचना प्रविधि प्रयोगशाला स्थापना तथा व्यवस्थापन (आइ.सी.टी.ल्याब) को लागी दैलेखका सांसद विशुन्केको पहलमा संघीय सञ्चार मन्त्रालयसँग समन्वय गरी ६ वटा विद्यालयमा सामग्री आएको हो ।

दैलेख क्षेत्र नं १ को त्रिभुवन माध्यमिक विद्यालय नयाँ बजार दैलेख, सिता जनसहयोग माध्यमिक विद्यालय डुङ्गेश्वर गाउँपालिका, भैरव माध्यमिक विद्यालय भगवतीमाई गाउँपालिका, शान्ति माध्यमिक विद्यालय गुराँस गाउँपालिका, शिवशक्ति माध्यमिक विद्यालय नौमुले गाउँपालिका, भगवती माध्यमिक विद्यालय महाबु गाउँपालिकामा सामग्री पुगेको जनाइएको छ ।

प्रत्येक विद्यालयमा २४ वटा कम्प्युटर सेट, १ थान प्रोटेक्टर, १ थान प्रिन्टर, ४ थान सिसिटिभी क्यामेरा १ थान सिसिटिभी मोनीटर, १ थान नेटवर्क भिडियो रेकर्डर, १ थान, स्विच र्याक, १ थान राउटर १ थान, लगायतका आइटी सम्बन्धी आवश्यक पर्ने १५ थरिका सामग्रीहरू पठाएको र उक्त सामग्रीहरू सबै विद्यालयमा प्राप्त भइसकेको विशुन्केले बताइन् ।

२०७५ साल पौष १ गते संघीय सञ्चार मन्त्रालय र दूरसञ्चार प्राधिकरण काठमाडौंको संयुक्त लगानीमा देशभरिका सामुदायिक विद्यालयलाई प्रविधि मैत्री बनाउने र विद्यार्थीलाई प्रविधि मैत्री वातावरणमा युग अनुसारको शिक्षा दिने उद्देश्यले यो कार्यक्रम लागु गरिएको थियो । सोही अनुसार यो कार्यक्रम जिल्ला तहमा पार्नलाई प्रक्रिया पुरा गर्न झन्डै १ महिना लागेको र यी सामग्रीहरू जिल्ला तहसम्म पुर्याउँदा झन्डै १९ महिना लागेको छ ।

कोरोनाले भाइरसको कारण देश लकडाउन भएपछि विद्यालयसम्म सामग्री पठाउन केही समय लागेको समानुपातिक सांसद पार्वती विशुन्केले जानकारी दिइन् । उनका अनुसार विश्वका अन्य देशका बालबालिका सूचना प्रविधिमा धेरै अगाडि भएको र नेपालका ग्रामीण स्तरका विद्यार्थीहरूलाई प्रविधि र पढाईसँगै जोडन सकेको खण्डमा रोजगारतर्फ पनि जोडिन र बेरोजगारी समस्या न्यूनीकरण गर्न सकिने हुँदा आफ्नो विद्यालयलाई छनोट गरी सामग्री पठाएको उनको भनाइ छ ।

त्यस कामप्रति ६ वटै माध्यमिक विद्यालयका प्रधानाध्यापकहरुले सांसद पार्वती विशुन्केलाई धन्यवाद दिएका छन् । बालबालिकासँग भएको सृजनशीलतालाई उजागर गर्न, बालमैत्री विद्यालय निर्माण गर्न, सामुदायिक विद्यालय सिकाई मैत्री छ भन्ने विश्वासको वातावरण सृजना गर्न र सरल र सहज शिक्षा हासिलमा सबैको पहुँच पुर्याउने उद्देश्यले यो कार्यक्रम आवश्यक भएको र आफूले सबै पालिकालाई समेटेर विद्यालय छनोट गरेको उनले बताइन् ।

लकडाउनले सूचना प्रविधिको बारेमा राम्रो ज्ञान दिएको कारण युग अनुसार शिक्षा दिन सकेमा मात्र सामुदायिक विद्यालयको गुणस्तर बढ्ने र शिक्षा प्रर्णालीमा सुधार गर्नका लागि यस्ता कार्यक्रम देशभरी सञ्चालन गर्न आवश्यक रहेको सांसदको भनाइ छ ।

प्रतिक्रिया