‘पत्रकारलाई भोकै मर्न दिँदैनौ’

रुपन्देही । प्रदेश नं ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले सञ्चार संस्थाले कोरोनाका कारण व्याप्त निराशा चिरेर आशा जगाउने खालका सूचना र सामग्री पस्कनुपर्ने बताएका छन् ।

रिपोर्टर्स क्लब प्रदेश नं ५ को दोस्रो स्थापना दिवसका अवसरमा आज बुटवलमा आयोजित अन्तरक्रियामा उनले विपत्तिका समयमा सञ्चार क्षेत्रसमेत आर्थिक रुपले संकटमा रहेकाले पत्रकारलाई सहयोग गरिने प्रतिबद्धता जनाए । उनले भने, ‘हामी पत्रकारलाई भोकै मर्न दिँदैनौ ।’

सो अवसरमा नेपाली कांग्रेसका सचेतक निर्मला क्षत्रीले समाजमा सुशासन कायम गर्न पत्रकारको भूमिका महत्वपूर्ण हुने उल्लेख गरिन् । प्रदेशसभाका सदस्य सन्तोष पाण्डेले सबैको सहकार्य भए जस्तोसुकै विपत्तिको सामना गर्न सकिने धारणा राखे ।

नेपाल पत्रकार महासंघ प्रदेश नं ५ का उपाध्यक्ष भरत केसीले महामारीको कारण देखाएर कुनै पनि पत्रकारलाई सञ्चार संस्थाले हटाउन नपाउने बताए । कार्यक्रममा डा. सुदर्शन थापा र पत्रकार दीपेन्द्र बडुवाललाई सम्मान गरिएको थियो । – रासस

प्रतिक्रिया