पद बाँडफाँड गरी मिलाउने प्रयास

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको विवाद साम्य बनाउन पद बाँडफाँडको तयारी गरिएको छ । विभिन्न विकल्प मध्ये सबै शिर्ष नेतालाई कार्यविभाजन गरेर नयाँ सहमति कायम गर्दै विवाद मिलाउने तयारी भईरहेको हो ।

प्रधानमन्त्री निवास aबालुवाटारमा आइतवार मध्यान्ह भएको करिव डेढ घण्टा लामो छलफल सकरात्मक भएपनि दोस्रो तहका नेतालाई सहमतिको ड्राफ्ट तयार गर्न भनिएको छ । तर, दुवै पक्षले आ–आफ्नो अडान नछाडेका कारण सहमतिमा सहमत हुन्छन् कि हुदैन् भन्ने यकिन नभएको स्रोतले जानकारी दिएको छ । शनिवार रातिसम्मको अवस्थामा प्रधानमन्त्री एंव अध्यक्ष केपी शर्मा ओली र अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल–माधव नेपाल समुह एकले अर्कोलाई पेलेरै जाने मनस्थितिमा देखिएका थिए । तर, शनिवारदेखी नै दोस्रो तहका नेताहरु भने मिलाउन लागि परेका छन् ।

नेता तथा कार्यकर्ताले जसरी मिल्न देशभरबाट दबाव सिर्जना गरिरहेकाले शिर्ष नेता केही दबावमा भने छन् । स्थायी कमिटीमा बहुमत रहेको दावी गर्ने प्रचण्ड–नेपाल समुहपनि केही हच्किएको छ भने ओली पनि पहिले भन्दा नरम हुदै आएका छन् । एकले अर्को पक्षलाई विश्वास गर्ने वातावरण नबनेपछि वार्ता सकरात्मक नबनेको नेताहरुको भनाई छ । दुई नेताबीच भेटवार्ता हुँदा घोचपेचबाट शुरु हुने भएकाले सकरात्मक बन्न नसेको नेताहरु बताउछन् ।

आइतवारको भेटमा भने दुवै पक्षले आ–आफ्नातर्फबाट पाँच जना नेता समेत सहभागी गराएका छन् । ओलीको तर्फबाट उपप्रधान तथा रक्षामन्त्री समेत रहेका ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य शंकर पोखरेल तथा प्रचण्डको समुहबाट जनार्दन शर्मा र उर्जामन्त्री वर्षमान पुन रहेका छन् । दुई अध्यक्षबीच आइतवारको बैठक घोचपेचबाट शुरु भएपनि आपसी तित्तता थप नबढाउने भने सहमति भएको छ ।

दुवै पक्ष एकले अर्को पक्षलाई विपक्षी जस्तो आरोप प्रत्यारोपमै उत्रन थालेपछि विवादलाई थप नचर्काउने र सहमतिको ड्राफ्ट बनाउन अघोषित कार्यदल बनाउने सहमति जुटेको थियो । यद्यपी सो सहमति भने कार्यदलले बनाएपछि मात्र दुवै अध्यक्षले अध्ययन गरेर निष्कर्षमा पुग्ने बताइएको छ । कार्यदलमा भेटमा सहभागी ईश्वर पोखरेल बाहेकका चार नेता छन् । उनिहरुबीच आइतवार दिनभर जसो छलफल भएको छ ।

छलफलमा विशेषगरी सचिवालयमा रहेका सदस्यलाई पार्टीमा कस्तो जिम्मेवारी दिने भन्ने विषयमा केन्द्रीत रहेको छ । यस्तै जेठ २ गते वा मंसिर ४ गतेको सहमतिलाई कसरी ब्याख्या गर्ने भन्नेमा पनि केन्द्रीत छ । पार्टी संचालनका लागि संयन्त्र बनाउने, केही मुख्यमन्त्री, मन्त्री र सल्लाहकार समितिमा हेरेफेर गर्ने लगायतका विषय पनि समेटिएको छ । अन्तिम निष्कर्षमा नपुगेको नेताहरुले बताएका छन् ।

सोमबार बोलाइएको स्थायी कमिटीको बैठक अगाडी दुई अध्यक्षबीच फेरी पनि छलफल हुने बताइएको छ । वार्ता सकरात्मक रुपमा अगाडी बढे फेरी पनि स्थायी कमिटी बैठक पछाडी धकेलिने सम्भावना पनि रहेको नेताहरुले बताएका छन् । बैठकका साक्षी बसेका पौडेलले आइतवारको बैठकले छलफलको ढोका खोलेको बताए । उनले भने साक्षी बसेका नेताहरुको तर्फबाट पनि भूमिका खेलिरहनु भएको बताउदै भने, ‘हामीले अध्यक्ष प्रचण्डलाई भेटेरै एकताका लागि जोड दिनुस् भनेका छौं । अरू नेताले भूमिका खेलिराख्नु भएको छ । आज (आइतवार)को छलफलले पनि संवादको ढोका खोलेको छ ।’

महाअभियोगको कुरापछि राष्ट्रपतिसँग भेटवार्ता
प्रचण्ड–नेपाल समुहले राष्ट्रपतिलाई महाअभियोग लगाउने समाचार बाहिरिएपछि तीनै नेताले राष्ट्रपतिसँग भेटवार्ता गरेका छन् । सरकारमा सहभागी युवा मन्त्रीहरुको पहलमा भएको भेटवार्तामा तीनै नेताले सो विषयमा आफुहरुले कुनै पनि कुराकानी नगरेको भन्दै आश्वास्त पार्न खोजेका थिए ।

प्रधानमन्त्री ओलीले शनिवार साँझ बालुवाटारमा मन्त्रीहरुसँग भएको सामुहिक भेटवार्तामा राष्ट्रपति र आफुविरुद्ध पार्टीभित्रैबाट असन्तुष्टि भएको बताएका थिए । त्यसपछि प्रचण्ड–नेपाल र झलनाथ खनाल विहान भेटवार्ता गर्न राष्ट्रपति कार्यालय गएका थिए । भेटमा नेताहरुले आफुहरुले कानुन व्यवसायीहरुसँग परामर्श गरेको स्विकार गर्दै त्यो महाअभियोगका विषयमा नभएको स्पष्ट पारेका थिए ।

‘खुमलटारमा हामी सचिवालयका नेताहरु, केही स्थायी कमिटीका सदस्य र कानुनविदहरुवीच छलफल भएकै हो । तर, त्यहाँ राष्ट्रपतिज्यूका विषयमा कुनै छलफल भएन’ आइतबार राष्ट्रपतिसँगको भेटमा नेताहरुले भनृ, ‘प्रधानमन्त्रीले संसदलाई छलेर पार्टी विभाजनको अध्यादेश ल्याएको अवस्थामा के गर्ने भन्नेबारे हामीले कानूनविदहरुसँग परामर्श गरेका हौं ।’

भेटमा नेताहरुले अफवाहको पछाडी नलाग्न र कुनै व्यक्ति विशेषलाई मात्र साथमा नलिन पनि भनेका छन् । राष्ट्रपतिलाई महाअभियोगको हल्ला सत्य नभएको भन्दै विश्वस्त हुन आग्रह गरिएको नेता खनालले बताए । हल्ला बालुवाटारबाटै फैलाइएको भन्दै उनीहरूले राष्ट्रपतिको संस्थालाई आफूहरूले विवादमा नपार्नेसमेत बताएका थिए । राष्ट्रपतिसँगको भेटपछि ओली र प्रचण्डबीच पनि यसविषयमा घोचपेच भएको थियो । तर, दोस्रो तहका नेताहरुले त्यसलाई साम्य पार्ने प्रयास गरेका थिए ।

प्रतिक्रिया