राष्ट्रपतिलाई महाभियोगको हल्ला झूटः प्रवक्ता श्रेष्ठ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले राष्ट्रपति माथि महा अभियोग लगाउन खोजिएको भन्दै गरिएको प्रचार झुट भएको बताएका छन् ।

उनले राष्ट्रपति जस्तो सम्मानित संस्थालाई विवादमा ल्याउन नहुने बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाभियोग लगाउने हल्ला अनर्गल, झूटो प्रचार भएको समेत बताएका छन् ।

प्रवक्ता श्रेष्ठले ट्विटमार्फत त्यसको खण्डन गरेका छन् । ‘हाम्रो राष्ट्राध्यक्ष राष्ट्रपति सम्मानित संस्था हो । यो गरिमामय संस्थालाई कसैले पनि आ–आफ्नो स्वार्थका लागि विवादमा नतानौं । राष्ट्रपतिको विरुद्ध महाभियोग प्रस्ताव ल्याउने अनर्गल झूटा प्रचार कसैले नगरौं । राष्ट्रपति संस्थाको अवमूल्यन नगरौं । राष्ट्रपतिज्यू स्वयम्को पनि ध्यान जाने नै छ,’ उनले ट्विटमा उल्लेख गरेका छन् ।

प्रधानमन्त्री केपी ओलीले शनिबार साँझ बालुवाटारमा मन्त्री र राज्यमन्त्रीसँगको छलफलमा आफू र राष्ट्रपति विद्यादेवी भण्डारीविरूद्ध गम्भीर षड्यन्त्र भइरहेकाले बाइ वर्ड बाइ स्टेप सामना गर्ने बताएका थिए ।

उनले म्नत्रीसँगको बैठकमा राष्ट्रपतिविरूद्ध महाभियोगको तयारी भइरहेको र पार्टीका नेताले त्यसको अगुवाइ गरिरहेको दाबी गरेका थिए । राष्ट्रपतिलाई भेटेर शितल निवासबाट फर्किएका प्रधानमन्त्रीले त्यही ब्रिफिङ गरेपछि मन्त्री तथा स्थायी कमिटी सदस्य घनश्याम भुसालले बैठकमै प्रतिवाद गरेका थिए । उनले प्रधानमन्त्रीलाई ‘तपाइ पनि गलत सूचनाको शिकार हुनु भएको छ,’ भनेका थिए ।

प्रतिक्रिया