पहिरोमा चौपाया पुरिए, घर जोखिममा

फाइल तस्बिर

बागलुङ । सुक्रबार राति खसेको पहिरोले गोठ भत्किँदा चार चौपाया मरेका छन् । गलकोट नगरपालिका–११ रिघा, फेँदीका किसान दलबहादुर कुमालले पालेको भैँसी, गाई, गोरु र बाच्छी पहिरोमा पुरिएको वडाध्यक्ष डम्मर श्रीसले जानकारी दिए ।

उनका अनुसार भैँसी र गाई ब्याउने थिए । प्रहरी मुचुल्कापछि दुई लाख ४० हजार ५ सयको क्षति अनुमान गरिएको वडाध्यक्ष श्रीसको भनाइ छ । गोठदेखि अलि पर रहेको घरमा भने कुनै क्षति हुन पाएन । ‘वस्तुभाउको क्षति भयो, पीडित किसानलाई वडाले पनि केही राहत दिन्छ, नगरपालिकालगायत सम्बन्धित निकायमा पनि पहल गर्छौं,’ वडाध्यक्ष श्रीसले भने ।

सोही स्थानमा गएको अर्को पहिरोले तेजबहादुर कुमाल, डोलेन्द्र राना र चित्रबहादुर रानाको घर जोखिममा परेको जनाइएको छ । मध्यपहाडी लोकमार्गको माथि र तल पहिरो गएपछि त्यहाँका अन्य बासिन्दासमेत त्रसित छन् ।

पहिरोले लोकमार्ग पनि अवरुद्ध भएपछि डोजर लगाएर खोल्ने प्रयास भइरहेको छ । रिघाको तल्लोपट्टि भिरालो जमिनमा रहेका बस्ती वर्षायाममा जहिल्यै जोखिममा पर्ने गरेको वडाध्यक्ष श्रीसको भनाइ छ ।

प्रतिक्रिया