रामबहादुर बमजनविरुद्ध मुद्दा

काठमाडौं । पटक–पटक नेपाल प्रहरीले पक्राउ गर्न खोज्दा पनि अहिलेसम्म पक्राउ नपरेका तपस्वी रामबहादुर बमजनसहित तीन जनाविरुद्ध अदालतमा मुद्दा दर्ता गरिएको छ । उनिविरुद्ध गत बिहीबार सर्लाही जिल्ला अदालतमा बालबालिका सम्बन्धी ऐन २०७५ अनुसार कारबाहीको माग गर्दै मुद्दा दायर भएको अदालतले जनाएको छ ।

धेरै समय अघिदेखि उनीविरुद्ध बलात्कार तथा मानिस बेपत्ता पारेको आरोप छ । उनलाई पक्राउ गर्नको लागि नेपाल प्रहरीले सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका– ६ मा रहेको आश्रम र सिन्धुलीमा पटक–पटक छापा मारिसकेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी) को टोलीले संयुक्त रूपमा छापा मार्दा समेत बमजनलाई समाउन सकेको छैन ।

बमजनलाई समाउन नसकेपछि प्रहरीले अनुसन्धान सकेर सरकारी वकिल कार्यालयमा फाइल बुझाएको थियो । ‘हामीले मुद्दा दर्ता गराइसकेका छौँ, उनलाई १४ वर्षसम्मको कैदको सजाय माग गरिएको छ’, जिल्ला सरकारी वकिल कार्यालयका महान्यायाधिवक्ता केशवकुमार गौतमले भने ।

सरकारी वकिल कार्यालयले बमजनका सहयोगी ज्ञानबहादुर बमजन र जितबहादुर तामाङविरुद्ध भगाउन तथा लुकाउन सहयोग गरेको आरोपमा मतियारको रूपमा मुद्दा दर्ता गराएको हो । रौतहटकी एक किशोरीलाई बलात्कार गरेको अभियोगमा अनुसन्धान गरी सरकारी वकिलले अदालतमा मुद्दा दर्ता गराएको छ । बमजनविरुद्ध बारा र मकवानपुर प्रहरीमा आश्रमबाट मानिस हराएको भन्दै उजुरी परेको छ ।

प्रतिक्रिया