भिक्षु डा. ज्ञानपूर्णिकको निधन

काठमाडौं । संघनायक डा. भिक्षु ज्ञानपूर्णिक महास्थवीर अग्गमहापण्डितको ८१ वर्षको उमेरमा धापाखेलस्थित सुमेरु अस्पतालमा उपचारको क्रममा आज बिहान निधन भएको छ । उनी लामो समयदेखि मधुमेह, उच्च रक्तचाप तथा मिर्गौला रोगबाट पीडित रहेका थिए । उनले बुद्ध शिक्षा र विपश्यना विकासमा अतुलनीय योगदान पुर्याएका छन् ।

उनलाई उपचारका लागि दुई महिनाअघि सो अस्पताल भर्ना गरिएको भिक्षु निग्रोधले जानकारी दिए । ६ महिनादेखि डायलासिस गराउँदै आएका अग्गमहापण्डितलाई एक महिनाअघि सघन उपचार कक्षमा राखिएको थियो । उनको उपचारमा चिकित्सकद्वय ऋषिकुमार काफ्ले र विक्रम शाक्य सम्लग्न रहेका थिए ।

यसबीचमा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सो अस्पताल पुगी भिक्षु अग्गमहापण्डितको स्वास्थ्य अवस्थाबारे जानकारी लिइ उनको उपचारमा सरकारले सक्दो सहयोग गर्ने आश्वासन दिएका थिए ।

भिक्षु अग्गमहापण्डितले बुद्ध धर्मबारे ६० वटा पुस्तक लेखेका छन् । धर्मोदय महासभाको पूर्वअध्यक्षसमेत रहेका उनले थाइल्याण्डको महाचुलालोंकर्न विश्वविद्यालय र महामुकुट विश्वविद्यालयबाट मानार्थ विद्यावारिधि प्राप्त गरेका थिए । उनी थेरवाद बुद्ध धर्मको सातौँ संघनायकसमेत थिए । यसबीचमा उनको स्वास्थ्य लाभको कामना गर्दै देशभरका झण्डै ३०० बौद्ध विहारमा पूजापाठ गरिँदै आएको थियो । उनको अन्त्येष्टिबारे आज दिउँसो निर्णय गरिने भिक्षु निग्रोधले बताए ।

प्रतिक्रिया