माधव कमरेड, आत्म मूल्यांकन गर्ने हिम्मत गर्नुहुन्छ ?

                 प्रा. डा. बद्रीविशाल पोखरेल

हालै बसेको नेकपा स्थायी समिति बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष ओलीले सम्बोधन गरिरहँदा अति सामान्य अनुशासन विपरीत बीचबीचमा बोलेको र सरकारले गरेका काम बारम्बार सुन्नु पर्दा दिक्क र दुःख मानेको भनेको सुन्दा बुझ्दा सामान्य कार्यकर्ताका नाताले आफैँलाई लाज–घीन र साह्रै लाज लाग्यो । देख्नेलाई नै लाज–सरम लाग्ने यस्ता विषयले नेपाललाई कत्ति पनि छुँदैन भन्ने कुरा उहाँको विगत अभिव्यक्तिबाट अवगत हुन्छ ।

विगतका कालमा संसद्को प्रतिनिधिसभामा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली लक्षित तर, समग्रमा पार्टी विरोधी, अनुशासनहीन तथा दुनियाँ हँसाउने माधव नेपालको अभिव्यक्ति एउटा ज्वलन्त उदाहरण हो । माधव नेपाल ओलीका जन्मजात शत्रु झैँ देखा पर्नुहुन्छ । तर, माधव नेपाललाई पार्टीको महासचिव बनाउन, महासचिव र प्रधानमन्त्री पद लडखडाएका अवस्थामा उहाँलाई टिकाउन र टेकाउन ओलीले हरतरहले सहयोग गर्नुभएका उदाहरणहरु पाइन्छन् । तथापि नेपाल भने काम सर्यो ठाँडो झैँ ओलीविरुद्ध मौका परस्त भूमिकामा सदा लागिपर्नु भयो र आजीवन ओलीलाई शत्रुवत् व्यवहार गरिरहनु भएको देखिन्छ ।

त्यसैले नेपाल ओलीविरुद्ध एकसूत्रीय अभियानमा लागेका प्रमाणहरु यस लेखकसँग सुरक्षित रहेको हुँदा त्यसलाई आधार मानेर यो आलेख तयार गरिएको हो । आश, त्रास र बतासलाई पूर्णरुपमा बेवास्ता गर्दै जुनसुकै नेताका कमी कमजोरीलाई आधार बनाएर पहिले सुझावका रुपमा लेख्ने तर, सुधार नआए कठोर रुपमा लख्ने गरेको छ । त्यसैले माधव नेपालका बारेमा फेरि पनि लेख लेख्नै पर्ने बाध्यता पर्न गएको हो । जो कोही नेतालाई पनि मनोगत झुटमुट र फरेबी तालले रुपमा एकोहोरो आक्रमण गरिरहँदा मौन बस्न पटक्कै नसकेर माधव नेपाललाई आत्म मूल्यांकन गर्ने सामथ्र्य राख्नु हुन्छ भन्नेसम्म खोजेको हो ।

तत्कालीन एमाले पार्टीको नवौँ महाधिवेशनका बेला अध्यक्षका उम्मेद्वार तथा स्वास्थ्य उपचाररत केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गर्नु त कता हो कता उल्टो उहाँको स्वास्थ्यविरुद्ध अत्यन्त अमानवीय निच तथा निकृष्टतम अभिव्यक्ति बारम्बार माधव नेपालको प्रमुख आतिथ्यमा इटहरीको सभामा दिएको इटहरीबासीका यस लेखकलाई थाहा छ । त्यस बेला माधव नेपाल समूहका तर्फबाट नेता ओलीलाई आज या भोलि भनेर चुनाव सम्पन्न नहुँदै ओली समाप्त भइदिए हुन्थ्यो भन्ने कुटकलुषित मनसाय राखेको स्पष्ट हुन्थ्यो ।

यसको अर्को प्रमाण चाहिँ नवौँ महाधिवेशनमा ओलीलाई एकपटक पार्टी नेतृत्वको अवसर दिऔँ भनेर नेता प्रदीप नेपालले माधव नेपालाई भेटेर आग्रह गर्दा मर्ने बेलामा हरियोे काँक्रो भनेझैँ गर्नु भयो । यस्तो दरिद्रतम तथा अत्यन्त अमानवीय अभिव्यक्ति सुनेपछि प्रदीप नेपाल समेतले माधव नेपाललाई तपाईँ अति सामान्य संवेदना र मानवता पनि नभएको नेता हुनुहुँदो रहेछ भनेर आलोचना गरेको माधव नेपाललाई राम्रै सम्झना हुनुपर्छ ।

पार्टी भित्र खुल्ला प्रतिस्पर्धा गर्न नसक्ने लाछीहरु प्रतिस्पर्धी तथा सबल–सक्षम तथा प्रबल सहयोद्धालाई चुनावी मैदानबाट भौतिक रुपमा नै पन्छिदिए हुन्थ्यो भन्ने सम्मको दुस्वप्न देख्छन् भन्ने यो एउटा अत्यन्त कुरुप तथा भद्दा उदाहरण हो । जननेता मदन भण्डारीको अवसानपछि माधव नेपाल महासचिव भएपछिको कार्यकालदेखि नै पार्टीमा भुइँ तहदेखि आम कार्यकर्ताका बीच भित्रभित्रै सुनियोजित तथा सुविचारित रुपमा ओलीविरुद्ध उतिबेलादेखि नै भित्रभित्रै घुस–घुसे पारामा अत्यन्त नकारात्मक फरेब प्रवाहित गरिएको प्रत्यक्ष साक्षी यो लेखक आफैँ रहेको छ ।

१५ वर्ष पार्टीको नेतृत्व सम्हालेको र शिखण्डी प्रधानमन्त्री रहेको आफू र लगभग चार वर्ष पार्टी अध्यक्ष सम्हालेका केपी.शर्मा ओलीे नेतृत्वको कार्यकालको मूल्यांककन गर्दा माधव नेपाललाई भयानक पीडा बोध हुनुपर्छ । यी दुई कार्यकालको राजनीतिक र राजकीय कामको अन्तर आकाश जमिनको झैँ देखिन्छ । अनि कसरी नेपालले ओली कार्यकालको पार्टी र सरकारका सकारात्मक कामको चर्चा सुन्न सक्नु ? सकेसम्म आजीवन पार्टीको प्रमुख हुन अझै मरिहत्ते गर्ने तपाईँलाई नै पदलोलुप कस्तालाई भनिन्छ भनेर सोध्न मन लागेको छ ।

ऐतिहासिक नख्खू जेलब्रेक गर्ने योजनाकार तथा करिस्मेटिक नेता भनेर देवत्व सरह प्रायोजित प्रचार गरिएका सीपी.मैनाली जननेता मदन भण्डारीका सामु उभिँदा लिलिपुट नेता सावित भए । अहिले पनि ओलीका सामु माधव नेपाल धेरै पुड्का सावित भइसक्नु भएको छ । यस्तै चाला हो भोलिका दिनमा माधव नेपालको हैसियत र औकात सीपी मैनालीको भन्दा अग्लो हुने छैन । जनताको बहुदलीय जनवादले पार्टी भित्र पनि स्वस्थ्य प्रतिस्पर्धाको माग गर्छ ।

यसरी बनेको नेतृत्वले मात्र विपक्षी पार्टीसँग प्रतिस्पर्धामा खरो उत्रने साहस गर्छ र पार्टीको साख पनि बढाउँछ । केही वर्ष पहिले चितवनको पार्टी कार्यक्रम र सभामा माधव नेपालसँगै नेतृ विद्यादेवी भण्डारी पनि सहभागी हुने अवसर परेछ । उक्त सभामा आफूलाई भन्दा विद्या भण्डारीलाई कार्यकर्ता र जनताले स्वागत, सम्मान, फूलमाला र लाबालस्करसहित बढी सम्मान तथा खातिरदारी गरेको देखेर नेपाल आक्रोशित भएर आयोजकलाई अब आइन्दा म आउने कार्यक्रममा विद्या कमरेडलाई बोलाउँदै नबोलाउनु भनेर आदेश गर्नुभएको यस लेखकले थाहा पाएको छ ।

त्यसैगरी, केही वर्ष पहिले तत्कालीन युवा संघका अध्यक्ष महेश बस्नेत विराटनगर आउँदा जत्तिको पनि आफ्नो विराटनगरमा भव्य स्वागत, सहभागिता तथा सम्मान नभएको नेपालले आयोजकलाई गम्भीर गुनासो गरेको पनि यस लेखकलाई थाहा भएको कुरा हो । त्यसैगरी, एक समय धरान आएर नगर पार्टीका कार्यकर्तालाई सम्बोधन गर्दा प्रसंगवस यो पार्टी ओलीको बिर्ता होइन भन्दै अनुशासन विपरीत नेपालले बोल्नु भएको कुरा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका पूर्व रजिष्ट्रार तुलबहादुर श्रेष्ठले यस लेखकलाई अत्यन्त दुःख मान्दै बताउनु भएको थियो । उच्च स्तरको नेतृत्व आफैँ स्थापित हुन्छ रहुनुु पर्छ । बाँसको खुट्टका भरमा अग्लो हुनुको कुनै अर्थ छैन ।

सक्षम नेतृत्व आम जन मानसलाई आकर्षण गर्ने चुम्बकीय क्षमताको हुन्छ । फलामे ढ्याकमा कुनै आकर्षण क्षमता हुँदैन । आफ्नो सिर्जनशील, बौद्धिक, वैचारिक, अभिव्यक्तिगत कौशल तथा कार्यक्षमता बिना कुनै पनि नेता आम जनमानसको केन्द्र बन्न सक्दैन । माधव नेपालले ओली सरकारको राम्रा कामको कहिल्यै पनि खुल्ला दिलले समर्थन गर्नुभएको यस लेखकलाई थाहा छैन । राम्रा कामको चर्चा र प्रशंसा गर्दा आफ्नो १५ वर्षे कार्यकालमा पार्टी ध्वस्त भएर नैतिकताका कारण निरीह बनेर आफैँले र महासचिवबाट राजिनामा दिएको सम्झनाले झ्वास्स पोल्छ । अयोग्यले अयोग्य कै खोजी गर्छ, भेडा भेडासँग रमाउँछ ।

आफू अयोग्य भएपछि अरुलाई योग्य र योग्यतम भएको देख्न चाहँदैन । आफ्नो कार्यकालमा पार्टीमा सदस्यहरु यतिका संख्यामा बृद्धि भए भनेर फुइँ र फुटानी गर्ने नेपाल लगायत नेतालाई ओली कार्यकालका अत्यन्त दूरगामी तथा दूरदर्शी कामहरु आक्रोश, आहारिस र इष्र्या डाहजन्य हुनु अचम्म नै होइन । भारतले गरेको नाकाबन्दीलाई परास्त पार्नु, लिम्पियाधुरा, लिपुलेकको अतिक्रमित नेपाली भूमिका बारेमा अडान राखेर तदनुसार नक्सामा समाहित गर्नु, सिके राउतका राष्ट्र विखण्डनकारी गतिविधि समाप्त हुनु, उग्रवादी गतिविधिलाई बेलैमा तह लागाउनु जस्ता अनेक सकारात्मक कामहरु माधव नेपालका बसका बात नै होइनन् ।

नेपालबाट तुइन युग विस्थापित ओलीको प्रधानमन्त्रीत्व काल नै पर्खिनु पर्ने हो र ? प्रधानमन्त्री बनेका माधव नेपाललाई नेपालबाट तुइन विस्थापित गर्न कसले छेकेको थियो ? कठोर भूमिगत कालदेखि प्रगतिवादी लेखनमा आज पर्यन्त सक्रिय तथा समर्पित आजीवन अविवाहित आर्थिक रुपमा अत्यन्त संकट भोगिरहेका नरेश शाक्यलाई ओली प्रधानमन्त्रीत्व कार्यकालमा नै दश लाख सम्मको आजीवन जीविका स्रोत प्रदान गर्नु पर्ने हो र ? तपाईँकै कार्यकालमा पनि शाक्य भोकले छटपाटाएकै थिए त ? तपाईं एउटा अभिभावकका नाताले समग्र समस्या हेर्न, सुन्न र समाधान गर्ने ताकत राख्नु हुन्छ र ? । लाए अह्राएको काम त जो कसैले पनि गर्न सक्छ ।

हरेक कुरामा सिर्जनात्मक सोच, समझ र सूझ हुनुपर्छ कामरेड ? खाली सहयोद्धा कमरेडको आहारिस र डाह मात्र गरेर त हुँदैन । प्रतिभाशाली, सक्षम तथा कुशल नेता चाहिँ भिरबाट झरे हुन्थ्यो भन्ने कल्पनाले पार्टी, देश र जनता कसैको भलो हुँदैन । माधव नेपाल जबजलाई सहज रुपमा स्वीकार्ने अवस्थामा हुनु हुन्थेन । एक दिन मदन भण्डारीले नेपाललाई खस्रो पाराले जबजका बारेमा तपाईंको विचार केहो स्पष्ट भन्न सोधनी गर्नुभयो । तर, माधव नेपालले जिब्रो चपाएको देखेर मदनले म चाहिँ एक्लै भए पनि जबजका पक्षमा उभिन्छु, यो विचार पारित हुन्छ, गराउँछु भनेपछि आफू पनि जबजकै समर्थनमा रहेको नेपालले मसिनो स्वरमा उल्लेख गर्नुभयो ।

मदनले यही मौका छोपेर अनेरास्ववियुका तत्कालीन अध्यक्ष शंकर पोखरेल मार्फत् कीर्तिपुरको अडिटोरियम हलमा विद्यार्थीको खुल्ला कार्यक्रममा माधव कुमार नेपाललाई जबजका बारेमा बोल्न लगाएको सम्झना पनि नेपाललाई हुनु पर्ने हो । त्यसैले माधव नेपाल ज्यू, आत्म मूल्यांकन गर्ने हिम्मत बेलैमा गर्नुहोला ।

भारतीय शासकद्वारा लामो समयदेखि मिचिएको भू–भाग वैधानिक रुपमा नेपालको नक्सामा समावेश गरेको भोलिपल्ट नै प्रधानमन्त्री ओलीको राजिनामा माग्ने प्रायोजित प्रपञ्चमा नेपालले नै अग्रसर हुनुका पछाडिको राज र रहस्य के होला ? केही अवसरवादी तथा आरती उतारुको लह–लहैमा लागेर आफूलाई कहिल्यै उठ्न नसक्ने गरी नगिराउनु होला । मात्र आहारिस र डाहले आफू समकालीन सहयोद्धा सरह प्रतिभाशाली तथा प्रभावशाली हुन सकिन्न ।

प्रतिक्रिया