गैरकानूनी सम्पत्ति आर्जन गरेको भन्दै आरोपपत्र दायर

काठमाडौं । नेपाल बिद्युत प्राधिकरणको फोरमेन पदबाट अवकाश पाएका टहल बहादुर कार्कीले निज पदमा बहाल रहँदा गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्नेसमेत व्यहोराको यस आयोगमा पर्न आएको उजुरीको सम्बन्धमा अनुसन्धान हुँदा निज टहल बहादुर कार्कीले सार्वजनिक सेवा प्रवेश गरेको मिति २०३९–०८–१६ देखि अवकाश भएको मिति २०७३–०९–०१ सम्मको अवधिको निजको आय व्ययको विश्लेषण गर्दा जम्मा रु २,१२,४८,४७२ – आय आर्जन गरेको देखिन्छ भने यसै अवधिमा निजले जम्मा रू। ३,२२,३६,१३०– खर्च तथा लगानी गरेको देखिएको छ ।

निजको कुल आय आर्जन रु २,१२,४८,४७२– बाट कुल खर्च तथा लगानी रू ३,२२,३६,१३०– घटाउदा हुन आउने रु १,०९,८७,६५८– (एक करोड ९ लाख ८७ हजार ६ सय ५८ रुपैयाँ) बराबरको सम्पत्तिको स्रोत खुलेको नदेखिएकोले निजले गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी उच्चस्तरको जीवनयापन गरेको देखिँदा उनले साबिक भ्रष्टाचार निवारण ऐन २०१७ को दफा १५ एबं प्रचलित भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको तथ्य प्रमाणबाट पुष्टि हुन आएको हुँदा निज टहल बहादुर कार्कीलाई बिगो रु १,०९,८७,६५८– (एक करोड ९ लाख ८७ हजार ६ सय ५८ रुपैयाँ) कायम गरी साबिक भ्रष्टाचार निवारण ऐन २०१७ को दफा १५ मा उल्लेख भए बमोजिम सोही ऐनको दफा ३ र प्रचलित भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २० को उपदफा (२) बमोजिम सजाय गरी साबिक भ्रष्टाचार निवारण ऐन २०१७ को दफा ३, दफा १६ (ग), दफा २९ को उपदफा (१) एवं प्रचलित भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २० को उपदफा (२), दफा ४७ तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा २९ (ख) बमोजिम गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्तिको बिगो रु १,०९,८७,६५८– (एक करोड ९ लाख ८७ हजार ६ सय ५८ रुपैयाँ) जफतको लागि माग दाबी लिएर आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तीयारले जनाएकाे छ ।

प्रतिक्रिया