हिड्डुलमा अब मास्क अनिवार्य

काठमाडौं । सरकारले आंशिक रुपमा खोलेको लकडाउनलाई साउन ७ गतेसम्म जारी राख्ने निर्णय गरेको छ । यद्यपी यो बीचमा लकडाउनका नियमलाई भने कडाईका साथ पालना गराउने पनि निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले साउन ७ गतेसम्म लकडाउनलाई निरन्तरता दिने र लकडाउनलाई थप कडाई गर्ने निर्णय भएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले जानकारी दिइन् । सरकारले अब हिड्डुल गर्दा मास्क अनिवार्य लगाउनुपर्ने नियमलाई कडाई गरेको छ । त्यसका लागि सम्वन्धित निकायलाई निर्देशन दिएको छ ।

मन्त्रिपरिषद्ले एसएमएस विधिलाई कडाई गर्न निर्देशन दिएको एक मन्त्रीले जानकारी दिए । एस अर्थात सामाजिक दूरी, एम अर्थात् मास्क अनिवार्य र एस अर्थात् स्यानिटाइजर अनिवार्य रूपमा प्रयोग गर्न निर्देशन दिएको हो । त्यसको पालना भए नभएको अनुगमन गर्ने जिम्मा सुरक्षा निकायलाई दिइएको छ ।

७ साउनसम्म खुकुलो लकडाउन जारी, हवाई उडान र सीमा नाका बन्द पनि यथावत

संक्रमणको उच्च जोखिममा रहेका क्षेत्रमा अहिलेकै स्वरूपलाई कायम राख्ने निर्णय भएको छ । जोखिम कम देखिएका जिल्ला, क्षेत्रमा क्रमशः खुकुलो बनाउँदै जाने र त्यसको जिम्मा स्थानीय तह र प्रदेशलाई दिने निर्णय गरेको छ । त्यस्तै अन्तर्राष्ट्रिय सीमा नाका र अन्तर्राष्ट्रिय उडान पनि साउन ७ गतेसम्म बन्द राख्ने निर्णय गरेको छ ।

यसैबीच, विदेशबाट या उपत्यकाबाहिरबाट आउने व्यक्तिहरु अब होम क्वारेन्टिनमा बस्न पाउने भएका छन् । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले विदेश या उपत्यकाबाहिरबाट आउने व्यक्तिहरुलाई वडा कार्यालय र प्रहरीको समन्वयमा घरमै बस्न सक्ने व्यवस्था गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाइँले जानकारी दिए ।

‘हवाइमार्ग वा स्थलमार्गबाट उपत्यकाभित्र आउने व्यक्तिले घरमा क्वारेन्टिन बस्न चाहेमा वडाको सिफारिसमा प्रहरीले पनि अनुमति दिन सक्ने व्यवस्था भएको छ’, उनले भने । यसअघि विदेशबाट आउने व्यक्तिहरुलाई अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था गरिएको थियो ।

सीसीएमसीले क्वरेण्टीनमा स्वास्थ्य सामग्री वितरण गर्न मन्त्रालयको अनुमति पनि अनिवार्य गर्ने निर्णय गरेको छ । संक्रमणको जोखिमलाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको उनले बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिनेहरुका लागि स्वास्थ्य जाँचको व्यवस्था मिलाइएको छ । यस्तै विमानस्थलका कर्मचारीहरुलाई स्वास्थ्य सुरक्षाका सामग्रीहरु प्रतिव्यक्ति दुई जोरका दरले वितरण गर्ने पनि निर्णय गरेको छ । आमा र बच्चा नेपाली नागरिकताधारी र बुवा विदेशी पासपोर्ट भएकाहरुको भिसा सहजीकरणका लागि निर्णय गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरिएको छ ।

प्रतिक्रिया