रातो पोतिएको खाम

                      गंगा खतिवडा

यत्रनार्यस्तु पूज्यन्ते रमन्ते तत्र रमन्ते देवता ।
यत्रैस्तास्तु न पूज्यन्ते सर्वास्तत्राऽफलाःक्रिया ।।
प्राचीन पूर्वीय सभ्यतामा निकै प्रभावशाली मानिने ‘मनुस्मृति’ मा उल्लेखित यी पंत्तिमा आदिम युगमा महिलाहरूलाई गरिने सम्मानलाई प्रष्ट पारिएको छ । ‘जहाँ नारीहरू पुजिन्छन्, जहाँ नारीको सम्मान र सत्कार हुन्छ, त्यहाँ देवता खुशी हुन्छन् । चाहेका सबै कुरा सहजै सम्पन्न हुन्छन् ।’ नारी सशक्तीकरणकै बिम्बका रूपमा यसलाई लिन सकिन्छ । त्यतिबेलाको सामाजिक मनोवृत्ति र चेतनास्तर कत्ति सवल थियो भन्ने कुराको प्रमाण अरू खोजी रहनुपर्दैन ।

पौराणिक युगमै महाकाली, महालक्ष्मी, सरस्वती आदि अनेक रूपमा पूजा गरिएका दृष्टान्तले पनि समाजमा नारीलाई स्थापित गर्न भएका प्रयासहरूको यथार्थ चित्रण हुन्छ । तर, त्यो ऐतिहासिक र प्राचीन विरासत बोकेको नेपाली समाज अहिले पनि संकुचित दायरामा रूमलिरहेको छ । यो आलेखमा यस्तै एक यथार्थको चिरफारको कोसिस गरेकी छु । केही समयअघि एकजना काकाको छोराको प्रिती भोजमा सहभागी हुने अवसर जु¥यो । मंसिरको महिना पानी परेपछिको चिसो मौसमले उपस्थित हुने सबैको आङलाई चिस्साएको थियो ।

सबैको मुखमा ‘कति चिसो’ भन्ने शब्दसँगै तातो बाफ र ‘आच्छु छु छु’ भाव स्पष्ट देखिन्थ्यो । हिउँको चिसो हावाले जिउँ सिरिङ्ग पारे पनि गाउँ थर्किने गरी जडान गरिएको म्युजिक सिस्टमले सबैलाई नाँचु नाँचु बनाइरहेको थियो । नाँच्नेले शरीरलाई गर्मिलो बनाउँदै र ननाच्नेले उनीहरुको प्रस्तुतिलाई चाख मान्दै झुमिरहेका थिए । कोही खानाको डिसतिर व्यस्त थिए । कोही दुलाहा दुलहीलाई सफल दाम्पत्य जीवनको शुभकामना बाँड्दै थिए, कोही ओहोरदोहोरमा व्यस्त थिए, त कोही फोटो सेसनतिर ।

दुलाहाका बाबु निमन्त्रित चेलीबेटी र भाञ्जा भाञ्जीलाई निधारमा अक्षताको टीका टाँस्दै खाम दिने काममा भ्याइनभ्याइ देखिनुहुन्थ्यो । एक त बुढा मान्छे अर्को ७–८ डिग्रीको जाडोमा सकी–नसकी निधार र मान्छे हेर्दै टीका टाँस्दै हुनुहुन्थ्यो । खाम बाँड्ने अर्को व्यक्ति भइदिएको भए उहाँलाई अलि सजिलो हुन्थ्यो भन्ने मेरो मनले सोच्दै थियो । टीका लगाउनुपर्ने चेलीबेटीको साइनोले म पनि ‘काका नमस्कार’ भन्दै उहाँको अगाडि उभिएँ । यसो हेर्नुभयो, र हात अर्को निधारमा लैजानुभयो । मसँगै उभिएका सबैलाई लगाइसकेर टिकाको थाली राख्दै खाम बाँड्न थाल्नुभयो । खाम हातमा दिनुभयो । र, भन्नुभयो, ‘तिमीलाई टिका लगाउनु भएन ।’ सँगै मेरी दिदी पनि हुनुहुन्थ्यो ।

उहाँले भन्नुभयो, ‘टीका लगा’को छ, हुन्छ लगाइदिनुस् ।’ नसुनेझैँ गरी अर्कोतिर लगाउन थाल्नुभयो । तब म झसङ्ग भए । मेरो स्वाभिमानमा ठेस लागेको महसुस भयो । त्यहाँको त्यो रौनकयुक्त माहोलले मलाई खिसी गरेझैँ लाग्यो । मन अमिलो भएर आयो । सयौँको भीडमा एक्लो र अपमानित महसुस गरायो मेरो आत्मसम्मानले । पीडाका बाबजुद सम्हालिँदै सामान्यकृत हुँदै गइरहेको मेरो प्रयास समाजको आँखामा निष्फल रहेछ । समाजले विधवा महिलाप्रति हेर्ने दृष्टिकोण र विकृत सोचले शरीर ल¥याकलुरुक भयो ।

साह्रै दुःख लाग्यो यस्तो सोचेको भए आउने नै थिएन मनमनै कुराहरु मडारिरह्यो । यही समाजमा जन्मे हुर्के र केहीवर्ष अघिमात्र अर्को समाजमा महिलाको थप पहिचान जोड्न पुगेको थिएँ, जसरी आज ती दुलही पनि आफ्नो जन्मघर छोडेर थप पहिचान बनाउन आइपुगेकी छिन् । विडम्बना जीवनयात्राको बिचमा गाँसिएको सम्बन्धले पूर्णता नपाउँदै बेसहारा र एकल बनाई बिचमै टुङ्गाइदिएको छ । यसमा न समाजको दोष छ न मेरो नै । जन्मपछि मृत्यु एकमात्र जीवनको सत्य हो ।

सत्यको अगाडि घुँडा टेकेर स्वीकार गर्नुको विकल्प हामी कसैसँग पनि छैन । मृत्यु चुम्बनको आलिङ्गनमा लीन नभएसम्म यात्रा अगाडि बढाइरहनुपर्ने छ, यही यथार्थबोधमा यात्रारत् छु । श्रीमान्को साथ र माया छुट्नु महिलाका लागि दुर्भाग्य हो । त्यसमाथि समाजले हेर्ने दृष्टिकोण र गर्ने व्यवहारले बाँच्न अझ धेरै असहज बनाउँछ । महिलामात्र होइन, पुरुषले पनि आफ्नी प्रियसी गुमाउनुलाई त्यत्तिकै दुर्भाग्य सम्झनुपर्ने हो यो समाजले । मन पुरुषको पनि हुन्छ र मुटु पुरुषको पनि दुख्छ ।

उस्तै प्रकृतिका मन मुटु भएका पुरुष र महिलाबिचको पीडालाई बढावा दिने वा कम गर्ने कुरामा समाजको सोचाइ र व्यवहारले धेरै फरक पार्दोरहेछ । उमेरमा श्रीमती बितेका पुरुषका लागि भोलिपल्टै अर्को उपयुक्त केटीको खोजीमा आफन्तदेखि पूरै समाजका गन्यमान्य व्यक्ति अग्रसर हुन्छन् । श्रीमान्ले क्रियाकर्म समेत गर्नु नपर्ने जुठो बार्नु नपर्ने र अरु कुनै पनि कुरामा केही रोकटोक नहुने ।

तर श्रीमान् बितेका श्रीमतीले बार्नुपर्ने र त्याग्नुपर्ने धेरै कुराहरुको सूची सामाजिक जीवहरुको दिमागमा नियम र संस्कारको रुपमा अवलम्बन गर्नुलाई लैङ्गिक विभेद भन्ने कि नभन्ने ? जब कि श्रीमान् श्रीमती एक रथका दुई पांग्रा हुन् भनी समानताको तराजुमा तौलिन खोजिएको कथ्यलाई व्यवहारिक रुपमा कतिको पक्षपोषण गरिएको छ भनेर मनन गर्ने कि नगर्ने ?रातो टीकाविनाको खामले महिला हुनुको अस्तित्व र पहिचान खोज्न तथा महिला– पुरुषबिचको विभेदलाई सोच्न बाध्य बनायो ।

खाली निधार र रातो लतपतिएको खामले पोखरीमा ढुङ्गा फाल्दा छचल्किएको पानीझैँ बनाइदियो भावनाको वेगलाई । महिलाकै नाममा दमन गरिएका प्रथालाई लत्याएर रातो वस्त्र र नारी श्रृङ्गारलाई निरन्तरता दिनुपर्छ भन्ने विषयमा पहिले देखिनै एकमत थियौ म र मेरो श्रीमान् । विवशताले आज मैमाथि आएको यो विभेदलाई स्वीकार गर्नु मेरो स्वाभिमान र श्रीमान्को आत्मामा चोट लाग्नु हो । हातमा बोकेको खाम भारी परिरहेको थियो, मेरो शरीरलाई गलाइरहेको थियो । त्यो रमाइलो माहोलमा म एक्लै हराइरहेको थिएँ ।

घर हिँड्नेबेला खाम कहाँ फ्याँकु–फ्याँकु भयो, टीकाविनाको खाम मूल्यहीन, औचित्यहीन लाग्यो । त्यसलाई खल्तीमा राख्ने साहस गर्न सकिनँ, न त लिएर हिँड्ने आँट आयो । मेरो मनमा एउटा उपाय फुर्यो खाम फिर्ता दिने । नजिकैको एकजना शिक्षित भाउजुलाई बोलाएर मेरो बेचैनी मुक्त गर्ने विचार गरेँ । हुन्दिनुस्, बुढा मान्छे हुन्, थाहा नपाएर दिइहाले अब फिर्ता नगर्नुस् । नराम्रो सोच्छन् घर जाऊँ । यस्तो कुरामा माइन्ड नगर्नुस् । दिदीले, भाउजुले यसो नगर भनेर सम्झाउँदै हुनुहुन्थ्यो ।

अहँ ! हुन्न यो खाम बोकेर म घर जान्नँ । यो खाम उहाँलाई फिर्ता गर्छु टिकाविनाको खाम मलाई मञ्जुर छैन मैले जिद्दी कसेँ । यो निर्णय लिँदा नारी मनले आत्मसन्तुष्टिको श्वास फेरिसकेको थियो । यो काकाप्रतिको अपमान होइन म उहाँलाई अहिले पनि उत्तिकै सम्मान गर्छु । यो उहाँको दोष पनि होइन, केवल हाम्रो समाजले एउटी विधवा महिला भनेर उसको मनोविज्ञानलाई गिराउन बनाएको कुरीति र विकृत मानसिकताको उपज हो, जुन मलाई स्वीकार्य छैन ।

जुन दिन निधारमा रातो टीका लगाएर आशिर्वादसहित खाम दिइन्छ, त्यो दिनमात्र म स्वीकार गर्छु । आज मैले यसो गरिन भने मेरो आत्माले कहिल्यै शान्ति पाउने छैन । र, मेरो श्रीमान्को आत्मालाई पनि शान्ति मिल्ने छैन । खाम फिर्ता गर्न भनी काकाको अगाडि गएँ, तर टीका निधारमा लिएर फर्केँ । आखिर उहाँले टीका त लगाइदिनुभयो । तर त्यसमा आशिर्वाद भन्दा पनि भीखमा पाएको सम्झेँ । भोलिका दिनमा अरु चेलीले मन खुम्चाउनु नपरोस् कुनै पनि उत्सव, समारोहमा एकल महिलालाई पनि समान व्यवहार र सम्मान गरियोस् भन्ने मेरो आशय हो ।

‘लैङ्गिक हिंसा र दुव्र्यवहार छैन हामीलाई स्वीकार’ भन्ने नाराका साथ नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान विश्वभर मनाइएको धेरै दिन भएको छैन । माथिको विषय एकल महिला भएको कारणले गरिएको सामाजिक विभेद र दुव्र्यवहार मान्न सकिन्छ । नियतवश गरिएको विभेद पटक्कै होइन । प्राचीन सभ्यता र मौलिक सांस्कृतिक विशेषता भएको हाम्रो समाजमा पुरातनवादी सोच र मान्यतालाई निरन्तरता दिइरहेको एउटा सानो उदाहरण मात्र हो यो ।

यस्ता धेरै विभेदजन्य सोच र व्यवहार समाजमा थुप्रै भेटिन्छन् । जुन कुरा पीडित पक्षलाई थाहा हुँदैन र सामाजिक नियम र संस्कारको घेरा सम्झेर चुपचाप अँगालिरहेका हुन्छन् । थाहा हुने र बुझ्नेले पनि आवाज उठाउने र त्यसविरुद्ध लड्ने साहस बटुल्न नसकेर भित्रभित्रै पिल्सिएर एकान्तमा आँशु बगाउनुको विकल्प देख्दैनन् । विभेद र हिंसा सानु होस् वा ठूलो त्यसविरुद्ध आवाज उठाउने र लड्ने साहस बटुल्ने हो भने हिंसा गर्नेको मनोबल पनि कम हुँदै जानेछ ।

पुरातनवादी सोचलाई अंगीकार गर्दै आएका मेरा काकाजस्ता मानिसलाई पनि अर्कोचोटि यही विषयमा सोच्न बाँध्य बनाउँछ । दशक अगाडि र अहिलेको समाजमा एकल महिलालाई गर्ने व्यवहारमा केही परिवर्तन आइसकेको छ र अझै आउन बाँकी छ । आशा छ, विस्तारै पुरातनवादी सोच र संस्कारबाट समानता र सु–संस्कृत समाजको सिर्जना छिट्टै हुनेछ । र, हाम्रो समाजमा नारीहरू महाकाली, महालक्ष्मी, सरस्वती, सीता र भृकुटीजस्तै पुजित हुनेछन् ।

प्रतिक्रिया