जनता परिणाममा हेर्न चहान्छन्

आजको दुनियाँलाई असल कामले मात्र जित्न सकिन्छ । असल कामको प्रतिफल सधै असल हुन्छ । कुराले चिउरा भिज्दैन भनिन्छ । अव केवल सुन्दर र तिलस्मी कुराले होइन् । दुनियाँलाई कामै गरेर देखाउनु आवश्यक छ । आजका मानिसहरू परिणाम हेरेर मात्र विश्वास गर्ने ठाउँमा पुगेका छन् । सहि र असल काम गर्नेहरूलाई नै हरेक घर, परिवार र समाजलेसहज रूपले स्वीकार गर्दछन । असल कामको कारण समाजले स्वीकार गरेका व्यक्तिहरू देशको सम्पत्ति हुन्छन् । समाजले सम्मान पूर्वक अघि वढाएको व्यक्तित्वले देशको नेतृत्व गर्ने अधिकार राख्दछन । यस्ता समाजमा असल काम गरेर ख्याती कमाएका, समाजले स्वीकार गरेका अनी बिचार र दृष्टिकोण सहि भएका व्यक्तिहरूले नेतृत्व गरेको देशले सहि बाटो पाउँछ ।

कहिले काहीँ खराव काम गरेर समाजलाई झुक्याउनेहरू पनि देशमा अड्डा जमाउन पुग्दछन । खराव कामको प्रतिफल सधै खराव हुन्छ । खराव बिचार राख्ने, ईर्ष्या–द्वेष र आक्रामकता प्रदर्शन गर्ने अनी निहित स्वार्थको लागि मात्र कामको नाटक गर्नेहरू पनि आजकल साखुल्ले वनेर प्रकट भईरहेका छन् । खोक्रो समाज सेवा र नक्कली त्यागको खोल ओढेर जनता झुक्याई रहेका छन् । नक्कली देशभक्तिको नाटक गर्दै सरिता गिरी जस्ता देश द्रोहीहरू पनि राज्यको उपल्लो ढाँचामा बसेर तर मारिरहेका हुन्छन् । सरिता गिरी र यस किसिमका चरित्रहरू एक दुई मात्र होइनन् । हाम्रो देशको राज्य संरचना भित्र धेरै छिरेका हुन सक्छन् । राजनीतिक पार्टीहरू भित्र त कति होलान कति ? तिनकै आडमा कतिले आफ्नो सत्ताको रोटी सेक्ने गरेका छन् ।

अधिकाँश व्यक्तिहरू असल काम गरेर अघि वढ्न चहान्छन । सुकर्मका आधारमा नै स्थापित हुने चहाना राख्दछन् । हाम्रो समाजमा असल कर्म त्यती सहज हुदैन । त्यसमा पनि नकारात्मक सोच र चिन्तन हावी भएको अवस्थामा यो अझ कठिन छ । समाजका निम्ती गरिने असल र प्रगतिका काममा अनेकौ व्यक्तिहरूको सहयोग आवश्यक हुन्छ । समाजको सहयोग र सहभागितामा गरिने कामले चाडै परिणाम दिन सक्दछ । तर, असल कामको प्रयास पटक पटक असफल हुन सक्दछ ।

असल काम र सकारात्मक नियतलाई पटक पटक असफल बनाउने प्रयास पनि हुन सक्दछ । यस्तोमा असफलताबाट प्राप्त हुने निराशाले धेरै मानिसहरूलाई खराब वाटोमा पुर्याएको देखिन्छ । कतिपय व्यक्तिहरू सफल पनि भएका छन् । तिनिहरूलाई सफलताबाट प्राप्त हुने अहंकारले फुलाएको छ र उनिहरूले अहंकारलाई जित्न सकिरहेका छैनन् । रियलमा सफलताबाट प्राप्त अहंकारलाई जित्न सक्ने व्यक्तिमात्र महान हुन्छ । अन्यथा उसलाई अहंकारले सर्लक्क निली दिन्छ र उ आफुलाई समाज, देश भन्दा पनि माथि राख्न थाल्दछ । यस्तो अहमले उसलाई पुनःपतनको बाटोतर्फ डोर्याउनु अनिवार्य हुन्छ ।

विरोधीलाई असाध्यै सानो र कमजोर ठान्नु अहंकारको मापक हो । अथवा विरोधीलाई ह्याकुल्लोले थिचेर हिड्ने अहमराख्नु उसको नियती हो । नीतिले भन्छ विरोधीलाई कहिल्यै सानो र निम्छरो ठान्नु हुदैन । अझ राजनीतिमा त त्यस्तो महाभूल गर्नै हुँदैन । यदि हामीले आज गरेको सहि काम र सफलताको अभिमानलाई अहंकारमा परिणत गरेर अघि वढ्यौ र अहंकारलाई दम्भले विस्थापित गर्ने कोशिस गर्यौ भने यो ठुलो मूर्खता हुनेछ । नेतृत्वमा बस्ने व्यक्तिहरूले कुसल व्यवस्थापक पनि हुनु जरूरी छ । कुशल व्यवस्थापक ले आफै कुनै काम गर्दैन । तर सवै काम ठिक ठाक र सुन्दर ढंगले सम्पन्न गरिरहेको हुन्छ । तर अहिलेको हाम्रो देशको राजनीतिक नेतृत्व कुसल व्यवस्थापक हुन सकेन ।

सबै काम आफुमात्र गर्छु भनेर लाग्यो वा असल नियतले नै लाग्यो होला । तर परिणाममा लिम्पियाधुरा लिपुलेक र कालापानीलाई हाम्रो देशको नक्सामा समेटेर संविधान शंसोधन गर्ने काम मज्जाले जनताको नजरमा परेको छ । यहि एउटा कामले नेपाली जनतालाई अहिलेसम्मकै सवैभन्दा धेरै खुसी दिएको छ । यो वर्तमान सरकारको सवभन्दा ठुलो उपलब्धि पनि हो । यसलाई हामीले निजी अहंकार र अभिमानको विषय बनाउनु हुँदैन । यदि हामीले त्यसो गर्यौ भने वाँकी कामका लागि समस्या पैदा हुन सक्दछ ।

नेतृत्व गर्ने व्यक्तिमा अन्तरनिहित आलोचना सुन्न सक्ने क्षमता, परिणामसम्म पुग्न सक्ने धैर्यता अनी उसको ज्ञानबाट प्राप्त हुने सुझवुझले उसलाई सफलता तिर डोर्याउने हो । थोरै आलोचना पनि सुन्न सक्दैन, परिणामको निम्ती पर्खने क्षमता राख्दैन अनी विरोधी तथा विपक्षिहरुप्रति सहिष्णु हुदैन भने उसले असल परिणाम पाउन पनि कठिनाई हुन सक्दछ । व्यक्तिको अध्ययन र अनुभवबाट प्राप्त विद्या र विद्याले उसलाई प्राप्त हुने योग्यता उसको सवभन्दा ठुलो सम्पत्ति हो । यस्तो सम्पत्तिलाई पहिचान गर्न नसकि व्यक्ति अन्यत्र भौतारिदै हिड्छ भने उ कहिल्यै पनि सफल हुन सक्दैन । यसर्थ व्यक्तिमा निहित पात्रता, वुद्धी–विवेक तथा त्यसबाट प्राप्त सौर्य र पराक्रमले नै दुनियाँलाई संचालन गर्ने हो । यदि नेतृत्वमा बसेका व्यक्तिले योग्यता (पात्रता) सिद्ध गर्न सकेनन् भने दुनियाँको प्रगतिको ढोका समेत खुल्न सक्दैन ।

इतिहास निर्माणमा जनताको भूमिका निर्णायक हुन्छ । इतिहास निर्माणको नेतृत्व व्यक्तिले गरेको हुन्छ । समाजलाई साथमा लिएर हिड्ने, जनतालाई विश्वासमा लिन सक्ने नेतृत्व नै इतिहास निर्माणका लागि महत्वपूर्ण हुन्छ । साधारण जनताले अपराध गरे क्षमा दिइन्छ । नेता या शासकले अपराध गरे दण्ड दिइन्छ । जनता अन्जान र अज्ञानी पनि हुन सक्दछन् । आफुलाई नेता या कुसल शासक रूपमा दावी गर्नेले अज्ञानी छु, अन्जानमा भयो भन्न मिल्दैन । अज्ञानी या अन्जान व्यक्तिले राजपाठ चलाउछु भन्न पनि मिल्दैन । त्यसैले पछि पश्चाताप गरेर केही हात लाग्दैन । अहिले देशको सवभन्दा ठुलो कम्युनिस्ट पार्टीको बहुमतको सरकार छ । यो जनताको चहाना अनुसार आएको सरकार हो ।

परिवर्तनको निम्ती बनेको सरकार हो । साना तिना विकासका काममा लन्ठ्याएर आजका जनता मान्नेवाला छैनन । मजदुर किसानको जीवनमा आमुल परिवर्तन ल्याएर देखाउनु पर्दछ । जनताको लोकतान्त्रिक अधिकारलाई सुरक्षित राख्नसक्न पर्दछ । राष्ट्र र राष्ट्रियतालाई मजवुत बनाउनु पर्दछ । देशको अखण्डतालाई जोगाई राख्नु पर्दछ । राष्ट्रियता, जीविका र जनवादको कम्युनिस्ट पार्टीको एजेण्डालाई व्यवहारमा उतार्नु पर्दछ । यो नै आजको जन–जनको स्वभाविक अपेक्षा हो । जनताको अपेक्षा पुरा गरेर देखाउनु जनमुखी सरकारको दायीत्व हो ।

प्रतिक्रिया