लकडाउन खुलेपछि वायुको गुणस्तर के होला ?

नेपालमा कोरोना भाइरस नियन्त्रणका लागि भन्दै लगाइएको लकडाउनले वायु प्रदूषणको अवस्थामा सुधार आए पनि अहिले पनि अस्वस्थ हावामा सास फेर्नु परिरहेका कारण कैयौँ स्थानका मानिसहरू उच्च जोखिममा रहेको अधिकारीहरूले जनाएका छन्।

लकडाउन सुरु भएयता राजधानी काठमाडौंको वायुको गुणस्तरमा सुधार भए पनि त्यो पूर्ण रूपमा स्वस्थकर नभएको पाइएको एक जना अनुसन्धानकर्ताले बताएका छन्। एक चिकित्सकले यो अवधिमा दमजस्ता श्वासप्रश्वाससँग सम्बन्धित समस्या भएका बिरामी अस्पताल आउने क्रम घटेको बताएका छन्।

अभियानकर्ताहरूले चाहिँ लकडाउनले वातावरणलाई हरित बनाउन सकिन्छ भन्ने प्रमाण दिएको भन्दै प्रदूषण घटाउन विगतमा व्यक्त प्रतिबद्धता व्यवहारमा उतार्न सरकारसँग माग गरिरहेका छन्।

नेपालमा वार्षिक कुल वायु प्रदूषणको औसत मात्रा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले वायु गुणस्तरका लागि तोकेको मापदण्ड भन्दा पाँच गुणाले बढी छ। त्यसले हजारौँ नेपालीहरूलाई स्वास्थ्यसम्बन्धी गम्भीर जोखिममा पारेको डब्ल्यूएचओको भनाइ छ।

तर विश्वव्यापी कोरोनाभाइरसको महामारीका माझ गएको चैत ११ गतेबाट नेपालमा लगाइएको लकडाउनले नेपालमा वायुको गुणस्तरमा सुधार भएको देखाएको छ।

कोभिड–१९ पछि विश्वका विभिन्न शहरमा रहेको वायु प्रदूषणको अवस्थाबारे गरिएको एउटा अध्ययनले काठमाडौंमा प्रदूषणको अवस्थामा सुधार भएको देखाएको त्यसका एक जना लेखक एवम् ग्लोबल इन्स्टिच्युट अफ इन्टर डिसिप्लिनरी स्टडिजका निर्देशक उत्तम बाबु श्रेष्ठ बताउँछन्।

उनी भन्छन्, ‘उक्त अध्ययन बाहेक पनि हामीले लकडाउन पछि काठमाडौं, पोखरा र विराटनगरको वायु प्रदूषणको मात्रा कस्तो छ भनेर हेरेका थियौ। नेपालमा सबैभन्दा बढी प्रदूषित काठमाडौं हो तर लकडाउन भइसकेपछि सबैभन्दा प्रदूषित विराटनगर रहेको पाइयो।’

पहिलाको १३५ माइक्रोग्राम्स पर क्युबिक मिटरबाट काठमाडौंको प्रदूषणको औसत तह लकडाउनको समयमा १०८ माइक्रोग्राम्स पर क्युबिक मिटरमा झरेको पाइएको श्रेष्ठ बताउँछन्। त्यो मुटु र फोक्सोसम्बन्धी समस्या भएका, उमेर ढल्केका, बालबालिका, र किशोरकिशोरीहरूलाई जोखिमपूर्ण प्रदूषणको तह मानिन्छ।

वातावरणविद्हरू मुख्य गरी लकडाउनका कारण पेट्रोलियम पदार्थको कम खपत हुनुलाई हावाको गुणस्तर सुधारिनुको मुख्य कारण मान्छन्। यो अवधिमा नियमित रूपमा पानी परेकाले पनि अवस्था सुध्रिएको उनीहरू बताउँछन्।

श्वास प्रश्वास विशेषज्ञ डाक्टर अर्जुन कार्की लकडाउनका कारण वायु प्रदूषण कम हुँदा त्यस सम्बन्धी उपचार खोज्दै आउने बिरामीको संख्या कम भएको बताउँछन्।

उनले भने, ‘संख्या घटेको चाहिँ छ तर हामीले के पनि ध्यान दिनुपर्छ भने कतिपय ठाउँमा लकडाउन भएकै कारण मानिसहरूलाई घरबाट अस्पताल आउन अप्ठेरो पनि परेको छ। तर प्रदूषणको मात्रामा कमी आएपछि यसको कारणले मानिसहरूलाई अप्ठेरो पार्ने वा च्याप्नेमा कमी आएको हुँदा उनीहरू अस्पतालमा देखा नपरेको भन्नेमा डाक्टरहरूमा एउटा सामान्य सहमति छ।’

सवारी साधनको चाप र चर्को ध्वनी लगभग हराएको लकडाउनको अवधिमा काठमाडौंवासीले उत्तरमा मनमोहक हिमालहरू देखेका थिए। त्यसबाहेक शहरमा फुलेका फूल र देखिएका हरियालीले मानिसहरूमा केहि उत्साहको सञ्चार गराएको त्यसप्रति समाजिक सञ्जालमा व्यक्त गरिएका प्रतिक्रियाले पनि देखाउँछन्।

वातावरणविद् भुषण तुलाधर लकडाउन समाप्त भएसँगै प्रदूषणको तह भयावह बन्न सक्ने जोखिम देख्छन्। उनले भने, ‘लकडाउन खुल्ने वित्तिकै पहिला जस्तै सवारी साधन सडकमा चल्न थाल्नेछन्। त्यो बाहेक अहिले सार्वजनिक सवारी साधनमा चढ्नेहरू अब चढ्न डराउँछन्। त्यही भएर निजी यातायातको संख्या बढ्नसक्छ र अझ वायु प्रदूषणको तह बढ्न सक्छ। यसतर्फ सरकारले ध्यान दिन सकिरहेको छैन।’

तुलाधर जस्ता अभियानकर्ताहरू हालै सरकारले विद्युतीय सवारी साधनमा कर बढाउने निर्णय लिएको दृष्टान्त प्रस्तुत गर्दै वातावरण संरक्षणका लागि प्रतिबद्धताहरू मात्रै जनाइने तर तीनको कार्यान्वयन फितलो रहेको गुनासो गर्छन्।

त्यसमा सहमत हुँदै चिकित्सक कार्की भन्छन् ‘पहिलादेखि हामीले भनेको भन्यै छौँ। धुवाँ धेरै फाल्ने सवारी नियन्त्रण गर्नुपर्छ र मापदण्ड उलंघन गर्नेलाई चल्नै नदिनेतर्फ जानुपर्छ। लकडाउन खुकुलो हुनेवित्तिकै ह्वार ह्वार गाडी गुड्न थाल्नेछन् र प्रदूषण ह्वातै बढ्नेछ।’

उनले थपे, ‘संविधानमा मौलिक हकको खण्डमा स्वच्छ हावा र वातावरणको विषय पनि समेटिएको छ। अरू देशहरूमा जस्तै शुद्ध हावा सम्बन्धी ऐन बनाउने दिशामा हामी पनि जानुपर्छ। त्यसका लागि नागरिक समाजले सशक्त आवाज उठाउनुपर्छ।’

आइक्यू एअर नामक निकायले निकालेको सन् २०१९ को विश्व वायु गुणस्तर प्रतिवेदनले नेपालमा वायु प्रदूषणको अवस्था विश्वकै आठौँ खराब भएको उल्लेख गरेको छ।

नेपालमा ग्रामीण क्षेत्रमा चुलो बाल्न दाउरा र गुइठा बाल्ने, फोहोरहरू जलाउने, बनमा लाग्ने डढेलो जस्ता कारणले वायु प्रदूषण निम्त्याइरहेको ठानिन्छ। शहरी क्षेत्रमा चाँहि घर बाहिरका गतिविधि मुख्य गरी धुवाँ फ्याल्ने सवारी साधन, इट्टा भट्टाबाट निस्कने धुवाँ लगायतका कारण हावालाई प्रदूषित बनाइरहेको विज्ञहरू बताउँछन्।

वायु प्रदूषण घटाउन पुराना गाडीलाई विस्थापित गर्ने, क्रमशः विद्युतीय गाडीहरूको प्रयोगलाई बढाउने अनि साइकल चलाउने प्रवृतिलाई प्रोत्साहन गरिने प्रतिवद्धता विभिन्न तहका सरकारहरूले बेला बेलामा गर्ने गरेका छन्।

वायु प्रदूषणका कारण वर्षेनी विश्वभर ७० लाख मानिसहरूले ज्यान गुमाउने बताइन्छ। क्यान्सर, हृदयघात, दम, श्वासप्रश्वासमा समस्या जस्ता रोग निम्त्याउने वायु प्रदूषणबाट नेपालमा पनि प्रत्येक वर्ष ३७ हजार भन्दा बढीले ज्यान गुमाउने कतिपय अध्ययनहरूले देखाएका छन्। (बीबीसी)

प्रतिक्रिया