रंग‍-विविध

मोनाको अनलाइन कला प्रदर्शनी

देवेन्द्र थुम्केली २०७७ जेठ २३ गते १८:१६ मा प्रकाशित

काठमाडौं । म्युजियम अफ नेपाली आर्ट (मोना) को आयोजनामा परम्परागत पौभा कलाको अनलाइन प्रदर्शनी शुक्रबारबाट सुरु भएको छ । कोरोना महामारीका कारण लगाइएको बन्दाबन्दीका बीच १५ जना कलाकारका कलाको प्रदर्शनीमा राखिएको हो । प्रदर्शनीमा मूर्धन्य कलाकार माणिकमान चित्रकार, आनन्दमुनि शाक्य र सिद्धिमुनि शाक्यका कलाकृति राखिएको छ ।

त्यस्तै, अग्रज कलाकार प्रेममान चित्रकार, लोक चित्रकार, मुक्तिसिंह थापा, पुर्ण ह्योजु, उदयचरण श्रेष्ठ, राजप्रकाश तुलाधर, समुन्द्रमान सिंह श्रेष्ठ, उजय बज्राचार्य, देवेन्द्र सिंख्वाल, रितेश शाही, सुरेन्द्रमान शाक्य र रवि श्रेष्ठका कलाकृति राखिएको छ । ‘सिर्जना’ (इन्सेप्सन) शीर्षकमा गरिएको यस प्रदर्शनीको उद्देश्य अघिल्लो पुस्ताबाट आर्जन गरेको पौभा कलाको सीप पछिल्लो पुस्तामा हस्तान्तरण गरी आमसमुदायको कल्याणमा संलग्न समस्त ज्ञात अज्ञात सर्जकप्रतिको सम्मान स्वरुप रहेको मोनाका संस्थापक राजन शाक्यले बताए ।

उनले असंख्य महान् गुरुहरू तथा धार्मिक व्यक्तित्वद्वारा प्रवर्तित तथा विस्तारित जटिल दार्शनिक ज्ञानलाई कलाकारले रङ र रेखामार्फत् स्पष्ट स्वरूप दिई त्यस्तो ज्ञानको बुझाइ आमजनतामा विस्तार गरेको विचार व्यक्त गरे । उनले भने, ‘शून्यमा सम्पूर्णको सिर्जना, क्यानभासको द्विआयामिक माध्यममा आध्यात्मिकताको अभिव्यक्ति, रङ र ब्रसमार्फत् आस्थाको प्रकटीकरण, दर्शकमा अभिव्यक्त हुन बाँकी भावनाको सिर्जना, मानव समुदायको प्रशंसाका लागि प्रेरणा अनि एक शब्दको उच्चारणविना नै विनम्रताको उत्प्रेरणा यस्ता कलाकारका क्षमता निस्सन्देह महान् छन् ।’

उनले यस प्रदर्शनीमार्फत् म्युजियम अफ नेपाली आर्ट (मोना) ले यस्ता ज्ञात तथा अज्ञात, नामकृत तथा नामहीन, विगत तथा वर्तमानका सबै कलाकारप्रति आफ्नो सम्मान अर्पण गरेको भनाइ राखे । प्रदर्शनीले नेपाली कलालाई भर्चुअल माध्यमबाट संसारभरी पु¥याउन महत्वपूर्ण सघाउँ पुग्ने प्रदर्शनीमा सहभागी कलाकार समुन्द्रमान सिंह श्रेष्ठले बताए । उनले भने, ‘लकडाउनका बीच कलाकार र कलाकृतिलाई प्रविधिमैत्री बनाइ प्रदर्शनी गर्नु निकै सराहनीय कार्य हो ।’

लकडाउनका कारण कलाकृति हेर्ने अवसर नपाएका दर्शक तथा पारखीका लागि प्रदर्शनीले सघाउने अर्का सहभागी कलाकार रितेश शाहीले बताए । उनले अनलाइनका माध्यमबाट कलाकृति प्रदर्शनी गरी विश्वभरीका कलापारखी माझ पु¥याउने प्रयत्न निकै राम्रो रहेको जिकिर गरे ।
प्रविधिमैत्री बन्दै नेपाली कलालाई भर्चुअल माध्यमद्वारा प्रदर्शनी गरेर आयोजकले राम्रो काम गरेको सहभागी कलाकार राजप्रकाश तुलाधरले बताए । उनले भने, ‘सारा संसार संकटबाट गुज्रिरहेका बेला पनि कला प्रदर्शनीमार्फत नेपाली कला विश्वमाझ लैजाने प्रयास असल कामको सुरुवात्का रुपमा लिनुपर्दछ ।’

नेपाली समाज, संस्कृति र परम्परालाई कलामार्फत् उन्नत बनाउने विश्वास लिएर नेपाली म्युजियम अफ नेपाली आर्ट (मोना) स्थापना गरिएको संस्थापक शाक्यले बताए । उनले भने, ‘यसले गुमाइएका परम्परा तथा मूल्यमान्यतालाई पुनः जोड्ने र एकीकृत गर्ने, अनि कलाबाट टाढा रही हुर्किएका पुस्तालाई आफ्ना पुर्खाहरू र तिनका गाथाको सम्मानका लागि प्रेरित गर्ने लक्ष्य लिएको छ ।’

उनले मोना सामाजिक एकता, राष्ट्रिय गौरव अनि अन्तर्राष्ट्रिय आत्मसम्मानको एक उत्सवको रुपमा स्थापित गर्ने आफूहरुको लक्ष्य रहेको बताए । उनले भने, ‘मोनाले नेपाली कलाको उत्कृष्टता संसारका अगाडि प्रस्तुत गर्दछ र कलामार्फत् नेपाल अनि नेपालीबारेको बुझाइलाई थप बृहत् बनाउन सूचना सम्प्रेषण गर्छ ।’ मोनाका संस्थापक शाक्यले आफूहरुको लक्ष्य परम्परागत नेपाली कलालाई पुनर्जीवित बनाउनु, नवपरम्परावादी कलाको स्वतन्त्रताको अन्वेषण गर्नु र अनुभूतिमार्फत् समसामयिक कलालाई उत्प्रेरित गर्दै प्रवीणताको प्रवर्धन गर्नु रहेको जिकिर गरे ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय