सदस्य सचिव उपाध्यायले ल्याए चार पुस्तक

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव तथा कवि एवं समालोचक प्राध्यापक जगत्प्रसाद उपाध्याय ‘प्रेक्षित’ का एकैसाथ चार कृति प्रकाशित भएका छन् । ‘प्रेक्षित’ का ‘आरम्भ’ हाइकु संग्रह, ‘म, माटो र मुटु’ कविता संग्रहका साथै ‘काव्य परिशीलन’ र ‘आलोचनात्मक भूमिकाहरू’ नामक दुई पुस्तक समालोचना संग्रह प्रकाशित भएका हुन् ।

‘आरम्भ’ हाइकु संग्रहमा दुई सय ११ ओटा हाइकु समाविष्ट रहेका छन् । उक्त संग्रहमा समसामयिक राजनीतिक, सामाजिक तथा प्रकृति एवं पर्यावरणीय विषयका हाइकु रहेका छन् । २०४९ सालदेखि २०७५ सालको अवधिमा रचना गरिएका करिब एक हजार दुई सय हाइकुमध्येबाट उत्कृष्ट दुई सय ११ ओटा छनोट गरी संग्रहमा समावेश गरेको ‘पे्रक्षित’ ले बताए ।

संग्रहमा रहेका कतिपय हाइकुले नेपाली समाज र त्यसका विविध आयामका विषयलाई समेत कलात्मक रुपमा उधिनेको पाइन्छ । त्यस्तै, ‘म, माटो र मुटु’ कविता संग्रहमा राष्ट्रप्रेम, देशको साँधसिमाना, राजनीतिका साथै सामाजिक संरचना लगायतका विषयलाई समेटिएको छ । ४० ओटा कविता रहेको उक्त संग्रहमा कविले सामाजिक तथा सांस्कृतिक विषयलाई समेत निकै ओजिलो ढंगले प्रस्तुत गरेका छन् ।

यसै गरी समालोचना कृति ‘काव्य परिशीलन’ मा विभिन्न समयमा लेखिएका ‘छन्दसिद्धान्त र नेपाली छन्दकविता परम्परा’ लगायत अनुसन्धानपरक १२ ओटा समालोचना समावेश छन् । उक्त कृतिमा नेपाली कवितामा मध्यपश्चिम क्षेत्रको इतिहास र योगदानको विहङ्गम समालोचना समेत गरिएको छ । दैलेखी न्याउला गीतमा सामाजिक चेत, दुल्लु क्षेत्रमा प्रचलित भैनीका साथै सबैप्रकारका कवितासँग सम्बन्धित अध्ययन ‘काव्यपरिशीलन’ मा समेटिएका छन् ।

यस्तै स्रष्टा ‘प्रेक्षित’ को चौथो कृति ‘आलोचनात्मक भूमिकाहरू’ विभिन्न समयमा विभिन्न स्रष्टाका कृतिमाथि लेखिएका भूमिका एवं समीक्षाहरूको संग्रह हो । भैरव रिसालको पुस्तकदेखि अन्य स्रष्टाका पुस्तकबारे ‘प्रेक्षित’ ले विभिन्न समयमा लेखेका २१ ओटा भूमिका एवं समीक्षाहरू यस कृतिमा समावेश गरिएका छन् ।

‘प्रेक्षितका यी कृतिहरू गत वर्षको अन्त्यतिर प्रकाशित भएका भए पनि हालै सार्वजनिक गरिएको हो । गत चैत्र २८ गते विमोचन गर्ने कार्यक्रम रहेको भए तापनि कोरोना भाइरसका कारण लकडाउन भएपछि उक्त कृतिहरू विमोचन हुन सकेका थिएनन् । प्रकाशित सबै कृति मकालु प्रकाशन गृहले प्रकाशन गरेको हो ।

प्रतिक्रिया