‘थमिनी बढेमा’ सार्वजनिक

काठमाडौं । प्रकाश पुरीले ‘मैले देखेको कथा’ नामक वृत्तचित्र तयार पारेका छन् । कान्तिपुर फिल्म एकेडेमीका सिइओसमेत रहेका उनले खोटाङको हलेसी तुवाचुङ्ग नगरपालिकास्थित बिजुलेबाट पुगेर वृत्तचित्र तयार पारेका हुन् । वृत्तचित्रमा गरिबीको चपेटा र समाजबाट सधैं अवहेलित भएकी ८५ वर्षीया थमिनी बढेमाको कथालाई उधिनिएको छ ।

वृत्तचित्रमा सदियौंदेखि छुवाछुतको भेदभावको चपेटामा रहेकी उनी गाउँभरिको एकमात्र दलित तथा विपन्न थमिनीको जीवन, भोगाइ र अनुभव समेटिएको छ । ‘मैले देखेको कथा’ को ‘थमिनी बढेमा’ मा थमिनी १० जना सन्तानकी आमा रहेको देखाइएको छ । जसमा ८ जना बच्चा मरेको र दुई जना बेपत्ता रहेको विषय समेटिएको छ । अहिले उनी सन्तानविहीन छन् भने उनको नाममा जग्गा र घर केही पनि छैन ।

त्यसैगरी गाउँभरि भएका सुविधा धारा, बिजुलीबत्ती, सडक उनको एउटा घरमा मात्रै छैन । उनी सरकारले दिने वृद्धभत्ताको आडमा जीवनयापन गरिरहेकी छन् । उनले डोको र नाम्लोमा जिन्दगी बिताएको कथासँगै गरिबी तथा सामाजिक उत्पीडनको विषय वृत्तचित्रमा रहेको छ ।

२० मिनेट लामो वृत्तचित्रमा उनीसँग अब उमेर छैन, सन्तान छैनन्, सम्पत्ति छैन, संसार देखेकी छैनन् तर पनि उनलाई कुनै गुनासो नभएको सन्दर्भ निकै रोचक ढंगले प्रस्तुत गरिएको छ । प्रकाशले गाउँमा बसिरहँदा मोबाइलबाट खिचेर यो वृत्तचित्र तयार पारेका हुन् ।

प्रतिक्रिया