विद्यालय र पठनपाठन सूचारुबारे सरकारको विज्ञहरुसँग परामर्श

काठमाडौ । सरकारले विद्यालय र पठनपाठन सूचारुबारे विज्ञहरुसँग परामर्श गरेको छ । देशमा अक्रान्त मच्चाइरहेको कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि लागू भइरहेको लकडाउनबाट विद्यालय बन्द रहेका बेला अनलाइन कक्षा (भर्चुअल क्लास) सञ्‍चालन लगायतका विकल्प खोज्न कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिलाई शिक्षाक्षेत्रका विज्ञ र सरोकारवालाले सुझाव दिएका छन् । लकडाउनका समय विद्यालय सञ्‍चालन साथै विद्यार्थीको पठनपाठनलाई पनि सहजीकरण गर्दै लैजाने सम्बन्धमा शिक्षा क्षेत्रका विज्ञ र सरोकारवालाहरूसँग उक्त समितिले परामर्श गरेको थियो ।

सो छलफलमा विज्ञहरूले लकडाउनमा अवरुद्ध भएको पठनपाठनका लागि विभिन्न विकल्प अघि बढाउन सुझाव दिएका छन् । जोखिमको स्तर हेरेर सम्भव हुने स्थानमा छिटो पठनपाठन सूचारु गराउने, संचालन गर्न नसकिने स्थानमा अनलाइन तथा टेलिभिजनमार्फत कक्षा संचालनको विकल्प खोज्न उनीहरूले सुझाव दिएका थिए ।

उच्च माध्यमिक विद्यालय संघ (हिसान) का अध्यक्ष रमेश सिलवालले अवरुद्ध पठनपाठन संचालन, परीक्षा, भर्ना तथा भर्चुअल क्लासका सम्बन्धमा नेपाली वैज्ञानिकले बनाएका नयाँ आविस्कारलाई प्रमाणीकरण गर्न तथा खोज अनुसन्धानबाट आएका तथ्यांकलाई सम्पत्ति मानेर अगाडि बढाउन सुझाव दिएको जानकारी दिए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायणप्रसाद बिडारीले भर्चुअल क्लास, विद्यार्थीको भौतिक उपस्थिति गराएर गरिने पठनपाठनका सम्बन्धमा सम्बन्धित क्षेत्रका विज्ञ र सरोकारवालाहरूबाट उच्चस्तरीय समितिले सुझाव लिएको जनाए ।

बिडारीले लकडाउनलाई व्यवस्थित गर्दै अनलाइन, टेलिभिजन, मोबाइलबाट पठनपाठन गर्नुको साथै मनोवैज्ञानिक प्रचारप्रसार गर्दै भौतिक उपस्थितिका साथ पठनपाठनको व्यवस्था मिलाउनुपर्ने सम्बन्धमा प्राप्त सुझावलाई मस्यौदाको रूपमा मन्त्रिपरिषद् बैठकमा लगिने बताए ।

सरकारले लकडाउनको मोडल परिर्वतन गर्ने बताएसँगै केही दिनयता उच्चस्तरीय समितिले विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवालासँग छलफल गर्दै आएको छ । उक्त समितिले यसअघि विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतसँग छलफल गरिसकेको जनाइएको छ ।

प्रतिक्रिया