लक्षण बिनाका संक्रमितको उपचार घरमै

काठमाडौं । दुई हजार भन्दा बढि कोरोना भाइरस (कोभिड–१९) संक्रमित भेटिएपछि अब सामान्य लक्षणका संक्रमितलाई घरमै उपचार गरिने भएको छ । स्वास्थ्य संकटकालको तयारी गरिरहेको सरकारले घरमै आइसोलेसनमा बस्न सक्ने गरी मापदण्ड तयार गरेको हो ।

संक्रमित बढ्दै जाँदा अस्पतालमा ठाउ अभाव हुने भएपछि लक्षण नभएका र हल्का लक्षण देखिएकालाई घरमै आइसोलेसनमा बस्न दिइने भएको छ । यसअघि भने कोरोना पोजेटिभ हुने वित्तिकै अस्पतालको आइसोलेसनमा भर्ना गर्ने गरिन्थ्यो । तर, संक्रमित दैनिक बढ्न थालेपछि कोरोनाका संक्रमितलाई पाँच भागमा बर्गिकरण गरिएको छ । जेठ २० गते जारी भएको ‘कोभिड १९ केशको आइसोलेसन व्यवस्थापन सम्बन्धि निर्देशिका’ अनुसार कोरोना परीक्षण नतिजा पोजेटिभ आएमा लक्षण नभएका (एसिम्योयाटिक), हल्का (माइल्ड), मध्यम (मोडरेटेड), गम्भीर (सेभियर) र नाजुक (क्रिटिकल) के हो भनेर यकिन गर्नुपर्ने हुन्छ ।

लक्षण नभएका र सामान्य लक्षण तथा चिन्ह भएकाहरुलाई घरमै राखि समेत व्यवस्थापन गर्न सकिने देखिएपछि मन्त्रालयले निर्देशिका जारी गरेको हो । संक्रमितले निर्देशिका अनुसार १४ वटा नियम पालन गर्छु भनेर मन्जुरीनामा गराई घरमै बस्न पाउनेछ । हावा र प्रकाश आउने कोठामा बस्नुपर्ने, उपचार अवधिभर बाहिर ननिस्कने, आवश्यक सामाग्री परिवारका सदस्यमार्फत मगाउने, पर्याप्त मात्रामा झोलिलो र पोसिलो खानेकुरा खाने, आफुले प्रयोग गरेका सामाग्री छुट्टै राख्ने, सरसफाइमा ध्यान दिनुपर्ने निर्देशिकामा उल्लेख छ ।

संक्रमितलाई दीर्घरोगीहरु, ६० वर्ष माथिका जेष्ठ नागरिकहरु, गर्भवती तथा सुत्केरी महिलाहरुलाई निजको सम्पर्कबाट टाढा राख्नुपर्ने, दैनिक ३ पटक ज्वरो नाप्नुपर्ने, दैनिक दुई पटक स्वास्थ्य जानकारी गराउने गर्नुपर्छ । संक्रमितलाई स्वासप्रश्वास कठिनाई भएमा, छाती दुखे वा भारी महसुस भएमा, ओठ तथा अनुहार नीलो देखिएमा, होस हराएमा, अन्य कुनै जटिल अवस्था देखिएमा भने तुरुन्तै सम्बन्धित स्वास्थ्यकर्मीलाई जानकारी दिनुपर्ने निर्देशिकामा उल्लेख छ ।

यसरी आइसोलेनमा बसेकाहरूमध्ये लक्षण नदेखिएकाहरू १४ दिनपछि छुट्नेछन् भने हल्का लक्षण देखिएकाहरू १४ दिनपछि लक्षण निको भएको तीन दिनपछि आइसोलेसननबाट निस्कन सक्नेछन् । यसका लागि चिकित्सक तथा स्वास्थ्यकर्मीले प्रमाणीकरण गर्नुपर्नेछ ।

मृत्युको परिभाषामा फेरबदल
कोरोना संक्रमण पुष्टि भए पनि अन्य रोगका कारण मृत्यु भएको स्पष्ट भए त्यसलाई कोरोनाबाट भएको नमान्ने भएको छ । हालसम्म संक्रमण पुष्टि भएपश्चात जुनसुकै कारणले मृत्यु भएपनि त्यसलाई कोरोनाबाट मृत्यु भएको गन्ने गरिएको छ ।

स्वास्थ्य मन्त्रालयले ‘कोभिड–१९ का कारण मृत्यु भएका व्यक्तिहरूको शव व्यवस्थापनसम्बन्धी संक्षिप्त कार्यविधि २०७६’ मा पहिलो संशोधन गर्नेगरी सो निर्णय गरेको हो । ‘कोभिड १९ बाट मृत्यु भन्नाले कोभिड १९ का क्लिनिकल लक्षण तथा चिन्हहरू र प्रयोगशाला निदानका आधारमा सम्भावित वा पुष्टि भएका केशहरूलाई भन्ने बुझ्नुपर्दछ । कोभिड १९ ले बिरामी भएदेखि मृत्यु हुँदासम्मको अवधि बीचमा निज पूर्णतः निको नभएको हुनुपर्छ । कोभिड १९ बाहेकका कारणबाट मृत्यु भएको स्पष्ट भएमा कोभिड १९ कारणले मृत्यु भएको मानिने छैन’, कार्यविधिमा भनिएको छ ।

अन्त्येष्टिका नियम केही खुकुलो
मृत्यु भएको व्यक्तिको अन्तिम कर्म अन्य रोगी अर्थात् मृतकको जस्तो नभएपनि पहिलाको भन्दा केही खुकुलो बनाइएको छ । सरकारले तयार पारेको कार्यविधि अनुसार शव उठाउनुअघि शव वाहनका चालक र कर्मचारीले व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) अनिवार्य लगाउनुपर्छ ।
कार्यविधि अनुसार अन्तिम संस्कारमा सहभागी हुने आफन्त र नातेदार सबैले अनिवार्य रुपमा पन्जा, चस्मा, टोपी, मास्क सहितको पीपीई लगाउनुपर्ने छ । मृतकको शवलाई कमभन्दा कम चलाउने गर्नुपर्छ । कार्यविधिमा उल्लेख भए अनुसार शवमा लागेका पाइप, केथेटरलगायत सामग्री हटाउँदा सर्तकता अपनाउनुपर्छ ।

शवको कुनै भागबाट रगत बगिरहेको भए होसियारीपूर्वक बन्द गर्नुपर्नेछ । मृतकलाई अन्तिम संस्कार गर्ने घाटसम्म लान साधारण शव वाहनको प्रयोग गर्न सकिन्छ तर, सकेसम्म शवलाई छिटो अन्तिम संस्कार गर्ने ठाउँमा पु¥याउनुपर्नेछ । ६० वर्ष उमेर कटेका व्यक्ति र दीर्घ रोगीलाई कोरोनाका कारण ज्यान गुमाएका व्यक्तिको नजिकै जान दिनु नहुने कार्यविधिमा उल्लेख छ ।

अन्तिम संस्कार गर्नु अघि आफ्नो कुल परम्परा अनुसार शव नछोई पानी छर्किने, पाठ गर्ने र फूलमाला चढाउने गर्नुपर्छ । मृतकका आफन्तले शव हेर्न चाहेमा नछोइकन कम्तिमा एक मिटर टाढाबाट एक–एक जनाले पालैपालो हेर्न पाउनेछन् ।

प्रतिक्रिया