प्रदेश दुईमा कोरोना संक्रमितको संख्या ८५९ पुग्यो

धनुषा । प्रदेश नं २ मा कोरोना सङ्क्रमितको संख्यामा आज ८५९ पुगेको छ । पछिल्लो २४ घण्टामा तीन महिलासहित ४४ जनामा कोरोना संक्रमणको पुष्टि भएपछि सो संख्या पुगेको बुधकार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो ।

सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेका अनुसार महोत्तरीमा नौ जना, सर्लाहीमा १५ जना, रौतहटमा ११ जना, पर्सामा सात जना, सप्तरी र सिरहामा एक÷एक जना गरी ४४ जना नयाँ संक्रमित थपिएको हो ।

जनकपुरस्थित प्रादेशिक अस्पतालमा स्वाबको परीक्षणका लागि जडान गरिएको रियल टाइम मेशिनबाट दुई दिनमा २४२ वटा स्वाबको नमूना परीक्षण गरिएकामा नौ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको सचिव डा।घिमिरेले जानकारी दिए ।

स्वाब र क्वारेन्टाइनको अवस्था

यस प्रदेशमा स्वाबको नमूना संकलन कार्यलाई तीव्र पारिएको छ । आज अपराह्नसम्म ९७४ जनाको स्वाबको नमूना संकलन गरिएको छ । प्रदेशमा अहिलेसम्ममा १७ हजार ५२९ को स्वाबको नमूना संकलन गरिएकामा १० हजार ६२३ को रिपोर्ट नेगेटिभ आएको छ र छ हजार ७० जनाको रिपोर्ट आउन बाँकी रहेको छ । अहिलेसम्म सात हजार ७४७ को आरडिटी परीक्षण गरिएकामा १०८ जनाको रिपोर्ट पोजिटिभ आएको छ ।

प्रदेशमा अहिलेसम्म ४०४ वटा क्वारेन्टाइन सञ्चालनमा आएको र सो क्वारेन्टाइनमा ३० हजार ७०६ वटा श्ययाको व्यवस्था गरिएको छ । यतिखेर, २३ हजार ३३३ जना क्वारन्टाइनमा, छ हजार ३१ जना होम क्वारेन्टाइनमा र ५८३ जना आइसोलेसनमा बसेका छन् । – रासस

प्रतिक्रिया