अब अरु रोगले मृत्यु भए कोरोनाबाट भएको नमान्ने

काठमाडौं । अब अन्य रोगले मृत्यु भएको स्पष्ट भए कोरोनाले भएको नमानिने भएको छ । सरकारले अब कोरोना संक्रमण पुष्टि भए पनि अन्य रोगका कारण मृत्यु भएको स्पष्ट भए त्यसलाई कोरोनाबाट भएको नमान्ने बताएको छ ।

अहिसम्म कोरोना पुष्टि भएपश्चात जुनसुकै कारणले मृत्यु भएपनि त्यसलाई कोरोनाबाट मृत्यु भएको गन्ने गरिएको छ । स्वास्थ्य मन्त्रालयले कोरोनाका कारण मृत्यु भएका व्यक्तिहरूको शव व्यवस्थापनसम्बन्धी संक्षिप्त कार्यविधि ‘२०७६’ मा पहिलो संशोधन गर्नेगरी उक्त निर्णय गरेको छ ।

‘कोभिड १९ बाट मृत्यु भन्नाले कोभिड १९ का क्लिनिकल लक्षण तथा चिन्हहरू र प्रयोगशाला निदानका आधारमा सम्भावित वा पुष्टि भएका केशहरूलाई भन्ने बुझ्नुपर्दछ। कोभिड १९ ले बिरामी भएदेखि मृत्यु हुँदासम्मको अवधि बीचमा निज पूर्णतः निको नभएको हुनुपर्छ ।

कोभिड १९ बाहेकका कारणबाट मृत्यु भएको स्पष्ट भएमा कोभिड १९ कारणले मृत्यु भएको मानिने छैन,’ कार्यविधिमा भनिएको छ । अहिलेसम्म नेपालमा कोरोना संक्रमणबाट ९ जना व्यक्तिको मृत्यु भएको छ ।  

प्रतिक्रिया