कश्मीर फिल्म फेस्टिभल स्थगित

मुम्बई । कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण पाँचौ संस्करणको ‘कश्मीर वल्र्ड फिल्म फेस्टिभल’ स्थगित भएको छ । १० जुन २०२० देखि सुरु हुने तय भएको सातदिने सो फेस्टिभल हाललाई स्थगित गरिएको जनाइएको छ । कश्मीर वल्र्ड फिल्म फेस्टिभलको सल्लाहकार समितिको छलफलपछि कार्यक्रम स्थगित गरिएको फेस्टिभल निर्देशक मुस्तक अलि अहमद खानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा फेस्टिभलको नयाँ मितिबारे अगस्ट वा सेप्टेम्बरमा निर्णय लिइने जनाउँदै लेखिएको छ, ‘हाम्रो भावना उच्च छ ।

हामी फेस्टिभलको भविष्यबारे आशावादी छौं । हामी फेरि उठेनेछौं र चम्कनेछौं ।’ जुलाई २०१७ देखि कश्मीर फिल्म फेस्टिभल आयोजना सुरु भएको थियो । अहिलेसम्म चारवटा संस्करण पूरा भइसकेको उक्त फेस्टिभलका विगत संस्करणमा तब्बु, मधुर भण्डारकर, रन्जित कपूर, राजु जि चन्दा, राहुल मित्रा, सइद मिर्जा, गोविन्द निहालनी, इमान सिद्धिकी, प्रिति सप्रु, अर्जुमन मुगल, राहुल भाट, इमरान खान, बेद राही, सतिश कउल, वाणी त्रिपाठीलगायतका सेलिब्रेटीलाई सम्मान गरिसकेको छ ।

फेस्टिभलमा पछिल्ला चार संस्करणमा ४ सय ६० भन्दा धेरै चलचित्रले स्क्रिनिङका लागि आवेदन दिएका थिए । जसमा १ सय ३६ चलचित्र प्रदर्शनमा आए । फेस्टिभलमा इरान, इटली, अफगानिस्तान, बंगलादेश, जापान, जोर्डन, स्पेन, ताजकिस्तान, ट्युनिसिया, कोरिया, लेबनान, नेपाल, अमेरिका, पोल्यान्ड, टर्की लगायत देशका चलचित्र प्रदर्शन गरिसकिएको छ ।

दो बिगाह जमिन, गाइड, बजरंगी भाइजान, दंगल, लैला मज्नु, काबुलीवाला, सिटिजन केन, बाइसाइकल थिभ्स्, लाइफ इज ब्युटिफुल लगायतका चर्चित हलिउड तथा बलिउड फिल्मको स्क्रिनिङ यस फेस्टिभलमा भइसकेको छ । त्यस्तै, विभिन्न लेखक, निर्देशक, अभिनेतालगायतका स्रष्टाले उक्त फेस्टिभलमा सहभागिता जनाउँदै फिल्म मेकिङ वर्कसप, मास्टर क्लासको समेत आयोजना गरिएको छ ।

प्रतिक्रिया