धादिङको सिद्धलेक हिटी गाँउ सिल

धादिङ । जिल्ला सुरक्षा समिति धादिङले सिद्धलेक गाउँपालिका–ं ५ स्थित हिटी गाउँ सिल गरेको छ । मंगलबार धादिङ सिद्धलेक गाउँपालिका– ५ कि २३ वर्षिय गर्भवती महिलामा कोरोना संक्रमण पुष्टि भएपछि उक्त गाउँ सिल गरिएको हो । जिल्ला सुरक्षा समितिले संक्रमित महिलाको गाउँको सम्भावित जोखिमलाई ध्यानमा राख्दै सिल गरेको बताएको छ ।

बुधबार बिहान गाउँपालिकाका अध्यक्ष पे्रमनाथ सिलवाल सहित बसेको जिल्ला सुरक्षा समितिको बैठकले गाउँमा स्थानीय प्रशासन ऐन अनुसार सिल गरी निषेधाज्ञा जारी गरिएको धादिङका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सुरक्षा समितिका संयोजक अस्मान तामाङले जानकारी दिए ।

प्रजिअ तामाङका अनुसार वडा नं ५ कुम्पुर हिटी गाउँको पूर्वमा गनगने चौतारा, पश्चिममा चिप्ले डाँडा, उत्तरमा सुकौरा खोला र दक्षिणमा आँख्ले चौतारो बीचको सीमा क्षेत्रलाइ सिल गरिएको छ । कोेरोना संक्रमण देखिएकी महिला गत जेठ १४ गते सुत्केरी हुने दिन पुगेपछि जिल्ला अस्पताल धादिङवेसी गएकी थिइन् ।

प्रसुती सेवाको लागि थापाथलीस्थित प्रसुतीगृहमा लगेकोमा उनलाई त्यहीँ संक्रमण देखिएको थियो । गाउँकी स्थानीय महिलालाई कोरोनाको संक्रमण देखिएपछि उनको यात्रा विवरण र उनीसँग सम्पर्क भएका व्यक्तिहरुको विवरण गाउँपालिकाले निकाल्न थालेको छ । गाउँपालिका सिलवालले भने, ‘वडाध्यक्ष दिलबहादुर घलेको संयोजकत्वमा संक्रमित महिलाको यात्रा विवरण र संम्पर्क भएका व्यक्तिहरुको खोजपहिचान कार्य सुरु गरेका छौँ ।’ सिल गरिएको गाउँमा अहिले शसस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ ।

आगामी जेठ २४ गते रातीसम्म गाउँमा कसैलाइ पनि पस्न नदिइने र गाउँबाट बाहिर निस्कन पनि नदिइने गरी सिल गरिएको जिल्ला सुरक्षा समितिले जनाएको छ । संक्रमित महिलाको सम्पर्कमा आएका सबै व्यक्तिहरुको पिसिआर परीक्षण गराएपछि मात्रै त्यसको नजिताको आधारमा आगामी कामहरु अघि बढाइने अध्यक्ष सिलवालले बताए ।

संक्रमित महिलाको सम्पर्कमा रहेका सवै व्यक्तिहरुको पिसिआर परीक्षण गराउनको लागि स्वास्थ्य कार्यलय धादिङलाइ जिम्मेवारी समेत दिइएको छ । स्वास्थ्य कार्यलय धादिङका प्रमुख डाक्टर भुवन पौडेलले भने, ‘पहिलो चरण उहाँको घर परिवार र नियमित सम्पर्कमा रहेकाहरुको पिसिआर परीक्षण हुनेछ, त्यसको नतिजाको आधारमा थप परीक्षण गरिने ब्यवस्था मिलाइनेछ ।’ ती महिलालाइ काठमाडौं गएपछि कोरोनाको संक्रमण भयो कि धादिङ हुदैमा संक्रमण थियो भन्ने बारेमा स्पष्ट खुलेको छैन ।

महिलालाई काठमाडौं लैजाने एम्वुलेन्सको पहिचानको काम सुरु गरिएको पनि गाउँपालिकाले जनाएको छ । धादिङ जिल्लाका स्थानियमा देखिएको यो चौथो संक्रमण हो । यसअघि धादिङ जिल्लाका ३ जनामा संक्रमण देखिएको भएपनि उनीहरु सवैजना सफल उपचार पश्चात घर फर्किसकेका छन् । यसअघि संक्रमण देखिएका तीनै जनामा जिल्लाभित्र संक्रमण नभएको र उनीहरुमार्फत पनि अरुलाइ संक्रमण नभएको पुष्टि भएको थियो ।

प्रतिक्रिया