खोटाङमा पनी कोरोना परीक्षण ल्याब स्थापना गर्ने

खोटाङ । कोरोना रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समिति खोटाङको मङ्गलबार बसेको १४औँ बैठकले जिल्लामै कोरोना परीक्षणका लागि ल्याब स्थापना गर्ने निर्णय गरेको छ ।

दश स्थानीय तह रहेको जिल्लामा सङ्कलित पीसीआर परीक्षण गर्न विराटनगर तथा काठमाडौं पठाउँदा ढिलो रिपोर्ट आउने र बढी खर्च हुने भएकाले जिल्लामै ल्याब स्थापना गर्न पहल गर्ने निर्णय गरेको हो ।

ल्याब स्थापना गर्नका लागि जिल्लाका दशवटै स्थानीय तहसँग समन्वय गरेर संघ तथा प्रदेश सरकारसँग आवश्यक रकम र दक्ष जनशक्ति माग गर्ने निर्णय गरिएको समितिका संयोजक एवं जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङले बताए ।

‘पीसीआर परीक्षणका लागि जिल्लामा संकलन गरिएका स्वाबको रिपोर्ट विराटनगर तथा राजधानी काठमाडौंबाट चारपाँच दिनमा मात्र आउने गरेको छ,’ उनले भने, ‘बाहिरी जिल्लामा परीक्षण गर्न पठाउँदा यातायात भाडा, चिकित्सकको भत्तालगायत कारण बढी खर्च लाग्ने र ढिलोगरी रिपोर्ट आउने भएकाले जिल्लामै परीक्षण गर्ने वातावरण मिलाउन ल्याब स्थापना गर्ने निर्णय गरिएको हो ।’

जिल्लामा संकलन गरिएका स्वाबको पीसीआर परीक्षण गर्न बाहिरी जिल्ला पठाउँदा एक जनाको २० देखि २५ हजारसम्म खर्च हुने गरेको जिल्ला अस्पताल खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले जानकारी दिए । जिल्लामा एक जनाको आरडीटी गर्दा एक हजार ५०० खर्च हुने गरेको जनाइएको छ । जिल्लामा पीसीआर ल्याब स्थापना गर्न २५ लाखदेखि एक करोड ५० लाखसम्मको उपकरण खरिद गर्न पाइने जनाइएको छ । उपकरण खरिद गर्न जिल्लाकै लगानीमा सम्भव भए पनि दक्ष जनशक्ति व्यवस्थापनमा कठिन हुने सम्भावना छ ।

संंक्रमण नियन्त्रणमा हालसम्म गरिएका उपलब्धिलगायत विषयमा छलफलसमेत भएको समितिको बैठकले जिल्लामा निर्माणाधीन अवस्थामा रहेका भौतिक पूर्वाधार आयोजनाका लागि आवश्यक बाहिरी जिल्लाका जनशक्ति ल्याउनसमेत पहल गर्ने निर्णय गरेको छ । जिल्लामा सञ्चालित अधिकांश आयोजनाका काममा खटिएका प्राविधिक तथा दक्ष कामदार बन्दाबन्दीका कारण आ–आफ्नो गृहजिल्ला गएकाले उनीहरुलाई पुनः काममा फर्काउन पहल गर्ने निर्णय गरेको हो ।

आयोजनाका काममा आउने बाहिरी जिल्लाका उनीहरुलाई सम्बन्धित स्थानीय तहले अनिवार्यरूपमा पिसीआर तथा आरडिटी गराएर मात्र काममा खटाउने निर्णय भएको छ । बाहिरी जिल्लाबाट ल्याइने कामदारबाट संक्रमणसमेत भित्रिने खतरा रहेकाले नियन्त्रण गर्न अनिवार्यरूपमा पिसीआर तथा आरडीटी गराउने निर्णय गरिएको संयोजक चाम्लिङले बताए ।

यस्तै जिल्लामा सञ्चालित बैंक तथा वित्तीय संस्था खोल्न यसअघि निर्धारण गरिएको समयतालिका समितिको बैठकले हटाएको छ । सम्बन्धित संस्थाको केन्द्रीय कार्यालयले निर्धारण गरेको निर्णयअनुसार सञ्चालन गर्न जिल्लामा सञ्चालित सबै बैंक तथा बित्तीय संस्थालाई आग्रह गरिएको समितिले जनाएको छ ।

यसैबीच जिल्लाका बिरामी उपचारका लागि काठमाडौँ तथा विराटनगर लैजान र ल्याउन प्रयोग गरिने रिजर्भ जिपको भाडा यातायात व्यवसायीले मनपरी लिने गरेकामा आगामी दिनमा एकरुपता ल्याउने निर्णय गरिएको छ । यसअघिसम्म आफूखुशी भाडा लिँदै आएको जिपले दिक्तेल–विराटनगरका लागि २० हजार र दिक्तेल–काठमाडौँका लागि १८ हजार मात्र लिन पाउने गरी निर्णय गरिएको जनाइएको छ ।

जिल्लामा सञ्चालित एम्बुलेन्सको संख्या भएकाले सम्भावित खतरालाई न्यूनीकरण गर्न दुईवटा जिपलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्न मिल्नेगरी तयारी अवस्थामा राख्ने पनि निर्णय गरिएको छ । जिपलाई बिरामी तथा कोभिड–१९ मैत्री बनाउन नेपाली सेनाको दिक्तेलस्थित गोरखनाथ गणलाई जिम्मा दिइएको छ । जिल्लामा हालसम्म हलेसी तुवाचुङ नगरपालिकाका २० वर्षीय एक युवकमा संक्रमण पुष्टि भएको छ । काठमाडौँबाट उद्धार गरेर ल्याइएका उनको विराटनगरस्थित कोभिड अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

प्रतिक्रिया