‘पसल खोल्न देऊ’

काठमाडौं । बन्दाबन्दीका कारण व्यापार, व्यवसाय गर्न नपाउँदा भोकै बस्नुपर्ने र सटर भाडा तिर्न नसकिने भएको भन्दै जोरपाटी चोकका व्यवसायीले विरोध प्रदर्शन गरेका छन् ।

गोकर्णेश्वर नगरपालिका–५ र ६ क्षेत्रमा व्यवसाय गर्ने व्यवसायीले मंगलबार विरोधस्वरुप बजार खोलेका हुन् । पसल खोल्न नदिए सटर भाडा सरकारले तिरिदिनुपर्ने जोरपाटी व्यापार संघको माग छ । अरु धेरै व्यवसाय खुला हुँदा पनि कपडा, जुत्ता, मोबाइललगायत केही मात्र बन्द रहेकाले खोल्न बाध्य हुनुपरेको व्यवसायी आत्माराम चौलागाईंले बताए । कम मानिस आउने र सामाजिक दूरी कायम गरेरै खोल्न सकिने व्यवसाय बन्द गर्नु नपर्ने माग व्यवसायीको छ ।

जोरपाटी चोक क्षेत्रका करिब ४० अत्यावश्यक सेवाबाहेकका पसल खुलेपछि महानगरीय प्रहरी वृत्त बौद्धले बन्द गर्न अनुरोध गरेको थियो । घरबेटीले भाडा पनि छुट नदिएको, रोगसँग भन्दा भोकले समस्या भएको भन्दै पसल खोलेपछि स्थानीय सरकार, व्यवसायी र प्रशासनका बीचमा वार्ता भएको वृत्तका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीले बताए ।

प्रतिक्रिया