करोडौंका मालिक मालपोत अधिकृत !

काठमाडौं । मालपोत कार्यालय ललितपुरका अधिकृतमाथी १० करोड बराबरको गैरकानूनी सम्पत्ति आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । २१ वर्षे सरकारी जागिरका क्रममा अधिकृत बद्रीराज ढकालले श्रीमति, साली र जेठानका नाममा सो सम्पत्ति जोडेका हुन् ।

मालपोत कार्यालय लमजुंगबाट २०५५ सालमा शुरु गरेको जागिरको क्रममा उनले तनहुँ, कास्की, डिल्लिबजार काठमाण्डौ, पर्सासमेतका मालपोत कार्यालयहरुमा काम गरेका थिए । सार्वजनिक सेवामा प्रवेश पश्चात ढकालले साली नाताकी व्यक्तिका नाममा सवारी साधन खरिद गरी प्रयोग गर्ने गरेको पाइएको अख्तियारले अभियोग पत्रमा उल्लेख गरेको छ । आफू र आफ्नै परिवारका सदस्यहरुको बैंक खाताहरुमा खासै कारोवार नगरी नदेखाइ जेठानको नाममा खाता खोलेर आफ्नो अबैध रकम त्यहाबाट कारोबार गरेको पनि खुलेको छ ।

अख्तियारका अनुसार अष्ट्रेलियामा रहेका जेठान नवराज अर्यालका बैंक खाता खोलेर खोलेकै दिन खाता संचालकबाट खाता संचालनको अनुमति लिईएको पनि देखिएको छ । ढकालले सो खाताबाट जग्गाको कारोबार गर्न ४ करोड २६ लाख ९९ हजार २९४ रुपैयाँ विभिन्न शीर्षकहरुमा खर्च गरेको देखिको अख्तियारले जनाएको छ । उनले तनँहुमा कार्यरत रहदा सोही जिल्लाका डेकबहादुर गुरुङलाई प्रभावमा पारी उनको जग्गा २ लाखमा किनेर उनैका दिदी र भिनाजु र बहिनीलाई केही दिन र महिनाको अन्तरालमै १ करोड ६८ लाखमा विक्रि गरेका थिए । उनले सो रकम बैध बनाउनका लागि उनले सो जुक्ति अपनाएको अख्तियारले जनाएको छ ।

ढकालले सार्वजनिक सेवामा प्रवेश मितिदेखि २०७६ फाल्गुण मसान्तसम्मको जाँचअवधिमा आफू र श्रीमती सिर्जना अर्याल ढकालको नाममा दर्ता कायम रहने गरी घर तथा जग्गा खरिदमा ४ करोड ५४ लाख १७ हजार २४४ रुपैयाँमा घर निर्माण र घरमा रहेको फर्निचर तथा फर्निसिङ एवं इलेक्ट्रोनिक उपकरणहरु समेतमा १ करोड १ लाख ५३ हजार ८१ रुपैयाँ लगानी गरेको खुलेको छ । यसैगरी पूँजिगत लाभ तथा आयकर रु ७ लाख ९० हजार १३० रुपैयाँ, विभिन्न बैंक तथा वित्तीय संस्थाका साधारण तथा संस्थापक शेयर खरिदमा १ करोड ११ लाख ४६ हजार ७०१ रुपैयाँ, सन्ततीको अध्ययनमा १ लाख ६० हजार रुपैयाँ लगाएको देखिएको छ ।

जीवन बीमा प्रिमियम शुल्कमा ९ लाख २४ हजार ६४० रुपैयाँ विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट लिएका कर्जा चुक्तामा ६४ लाख ६३ हजार ५११ रुपैयाँ, सवारी साधन खरिद तथा संचालनसमेतमा २८ लाख २२ हजार ७०० रुपैयाँ, सुन खरिदमा १७ हजार ३०० सय, सरसापटी व्यवहारमा २० लाख रुपैयाँ प्रयोग गरेको उल्लेख छ ।

जेठानको खाताबाट स्रोत नखुलेको मौज्दात रकमहरुबाट ४ करोड २६ लाख ९९ हजार २९४ रुपैयाँ, विविध शीर्षक (अभिलेखमा देखिने शीर्षकका खर्चहरु बाहेक निजले खुलाईदिएका अन्य विविध खर्च) र साथमा रहेको नगद समेत २ करोड २४ लाख २६ हजार ६८९ रुपैयाँ, निजी विदेश भ्रमणमा ९२ हजार ३०० सय र बैंक खाताहरुमा अन्तिम मौज्दात रकम २ लाख ६८ हजार ९०८ रुपैयाँसमेत गरी अनुसन्धानमा लिइएको जाँचअवधिमा सम्पत्ति सिर्जना तथा लगानीमा १४ करोड ५३ लाख ८२ हजार ४९८ रुपैयाँ खर्च तथा लगानी गरेको देखिएको अख्तियारले जारी गरेको विज्ञप्तीमा देखिएको छ ।

सोही जाँचअवधिमा पारिश्रमिक तलव एवं विभिन्न अतिरिक्त भत्ता, जग्गा बेचबिखन लगायतका वचतआयबाट चार करोड छब्विस लाख चौवीस हजार सड्तीस रुपैया आय आर्जन गरेको देखिएको जनाएको छ । त्यसबाहेक दश करोड सत्ताईस लाख अन्ठाउन्न हजार चार सय एकसठ्टी रुपैयाको आय भन्दा वढी खर्च गरेको रकमहरुको स्रोत खुल्न नआई गैरकानूनी सम्पत्ति आर्जन गरेको देखिएकाले त्यसलाई जफत गर्न माग गर्दै विशेष अदालत काठमाडौंमा मुद्धा दर्ता गरेको छ । अख्तियारले ढकाल, उनकी श्रीमति सिर्जना अर्याल र जेठान नवराज अर्यालसमेतलाई प्रतिवादी कायम गरी विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरेको छ ।

प्रतिक्रिया