फौजी कीरा नियन्त्रण गर्न स्वयंसेवक परिचालन

दैलेख । जिल्लाको दुल्लु नगरपालिकाले किसानहरुका बारीमा अमेरिकन (फौजी) किराले क्षेती पुर्याउन थालेपछि स्वयंसेवक परिचालन गरेको छ । दैलेखका किसानलाई फौजी किराको प्रकोपबाट बाली जोगाउन गाह्रो भएको छ । मकैको बोट हुर्कन थालेसँगै फौजी किराले सताउँन थालेपछि । जिल्लाका किसान यतिबेला चिन्तित बनेका छन् । भर्खरै उम्रिएको र गोड्ने बेला भएको मकैको पात, गुभो तथा बोटनै फौजी किराले खाएर मकै नष्ट गरिरहेको दुल्लु नगरपालिका– ७ का नेत्रवहादुर रावतले बताए ।

‘मकैको बिरुवा राम्रा थिए, भर्खर हुर्कँदै थियाे,’ उनले भने । आफूहरुले वर्षभरी खाद्यान्न मकै नै मुख्य खेति भएको र किराले सखाप पारेपछि चिन्तित बनेको उनको भनाइ छ । विश्व कोरोनाको संक्रासमा रहेका बेला एकातिर कोरोनाको महामारी अर्कोतिर किसानले लगाएका मकै फौजीकीराले क्षेती गरेको कारण यहाँका किसानहरु समस्यामा परेका छन् ।

दुल्लु नगरपालिका मात्र नभई जिल्लाको अधिकांश स्थानीय तहमा यसको प्रभाव परेको छ । पछिल्लो केही साता दैलेखमा फौजी किराको प्रकोप देखिएको हो । आठविस नगरपालिका ठाटिकाँध गाउँपालिका र गुराँस गाउँपालिकाबाट यसको बारेमा जानकारी नआएको कृषि विकास कार्यालय दैलेखले जनाएको छ ।

सबैभन्दा बढी दुल्लु नगरपालिकामा यसको प्रकोप देखिएपछि नगरपालिकाले नगरभित्रका १३ वटा वडाका किसानहरुलाई सघाउन कृषि विकास शाखाको रकमलाई रकमान्तर गरेर ६५ जना स्वयंसेवक परिचालन गरेको छ । नगरभित्र कृषि पढेका युवाहरु काम पाउँदा खुशी भएको दुल्लु नगरपालिका– १२ का नारायण लम्सालले बताए ।

देश कोरोना भाइरसको कारण थला परेको र यस्तो अवस्थामा कृषकका बारीमा फौजिकीरा, र फेदकटवा किराले मकैमा क्षेती पुर्याएको समस्यालाई मध्यनजर गर्दै दुल्लु नगरपालिकाको कृषि शाखाले विषाधी, न्याप स्टयाक स्पे्रड दिएको छ । साथै, स्वयंसेवकले किसानलाई सघाउने नगरपालिका कृषि शाखाका प्रमुख राजन विष्टले बताए ।

उनका अनुसार दुल्लुका करीब १५ हेक्टरको लागि औषधिलगाएत अन्य सामग्री प्रदान गरिएको छ । जिल्लाका कृषकलाई समस्या पर्न नदिन कृषिविकास कार्यालय दैलेखले विभिन्न कामहरु गर्दै आएको छ । मकैमा लागेको २ थरीको किराले पारेको प्रभावबारे सबै स्थानीय तहसँग सहकार्य गर्दै किराको नियन्त्रणमा लागेको जिल्ला कृषि विकास कार्यालय दैलेखका प्रमुख तिलक पाण्डेले बताए ।

उनले भने, ‘हाल मकैमा लागेको किरा फौजी र फेदकटुवा भएकाले यसको नियन्त्रण्मा लागेका छौँ, फेदकटुवा किरा पानी परेपछि आफैँ नियन्त्रण हुने भएकाले फौजी किराको भने जोखिम नै छ ।’

प्रतिक्रिया