कवितामा सीमा अतिक्रमण

काठमाडौं । कोरोना महामारीका कारण रोकिएको साहित्य सन्ध्याको नियमित कार्यक्रम अनलाइनमार्फत सम्पन्न गरिएको छ । सन्ध्याको मासिक कार्यक्रमको ४०५ औँ शृंखलामा चार दर्जनभन्दा बढी देशभरीका स्रष्टाले सहभागी भएका थिए । जुम एपको माध्यमबाट प्रविधिमैत्री कविगोष्ठी सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कवि विधान आचार्यको प्रविधि संयोजनमा सन्ध्याका उपाध्यक्ष र अध्यक्षले सञ्चालन गरेको उक्त गोष्ठीमा प्रगतिशील लेखक संघ (प्रलेस) का अध्यक्ष प्रा.डा.जीवेन्द्रदेव गिरी, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव प्रा.जगत्प्रसाद उपाध्याय ‘प्रेक्षित’, दाङबाट प्रा.केशव सुवेदी, प्राज्ञपरिषद् सदस्य प्रा.डा.हेमनाथ पौड्याल, डा.देवी नेपाल, लक्ष्मी माली, साहित्यकार प्रा.डा.पशुपतिनाथ तिमिल्सिना, प्रलेसका कोषाध्यक्ष डा.ध्रुव घिमिरे, प्रा.डा.खेमनाथ दाहाल, साहित्य सन्ध्याका सल्लाहकार वासुदेव अधिकारी, साहित्यकार हरिहर खनाल, साहित्यकार डम्बर पहाडी, सीताराम नेपाल, प्राज्ञ नन्दु उप्रेती, रामदेव पाण्डेय, चेतनाथ धमला अतिथिका रूपमा उपस्थित रहेको सन्ध्याका उपाध्यक्ष रमेश पोखरेलले जानकारी दिए ।

सो गोष्ठीमा प्रा.डा.हेमनाथ पौड्याल, गोपाल बराल, सुनसरीका बद्री भिखारी, नेपालगञ्जका हरि तिमिल्सिना, नन्दु उप्रेती, डा.बालचन्द्र मिश्र, अनिता लामा, प्रा.डा.पशुपतिनाथ तिमिल्सिना, प्रा.डा.खेम दाहाल, प्रा.जगत् उपाध्याय ‘प्रेक्षित’, मोरङ उर्लाबारीबाट तिला गौतम लेकाली, इलामबाट बालकृष्ण लामिछाने, भैरहवाबाट डा.हिरण्यलाल रेग्मी, डा राजेन्द्र अधिकारी, डम्बर पहाडी, विराटनगरबाट गायत्री चापागाईं, रामदेव पाण्डेय, भारती न्यौपाने, डा.देवी नेपाल, हरिहर खनाल, स्नेह सायमी, लक्ष्मी माली, सुर्खेतबाट देवकी तिमिल्सिना, कास्कीबाट यज्ञ पौडेल, अर्जुन अन्योल दाहाल, ज्ञानु विद्रोही, नर्मदेश्वरी सत्याल, वासुदेव अधिकारी, जयन्ती स्पन्दन, डा.हरिप्रसाद सिलवाल, गंगा कर्माचार्य, गीता सापकोटा, प्रेमराज सिलवाल, देबु लुइँटेल, परशुराम पराशर, पवन संग्रौला, नवराज खतिवडा, चेतनाथ धमला, गोपाल मैनाली, रमेश पोखरेल, विधान आचार्य र राम विनयले आ–आप्mना समसामयिक कविता, गीत, गजल, हाइकु वाचन गरे ।

वाचित सिर्जनामाथि टिप्पणी गर्दै साहित्यकार देविका तिमिल्सिनाले गोष्ठीमा वाचित कविता समसामयिक रहेको बताइन् । उनले सिर्जनामा विद्रोही चेतना देखिएको जनाउँदै छ प्रकारका विषयवस्तुमा केन्द्रित रहेर कविता सिर्जना गरिएको विचार व्यक्त गरिन् । उनले सन् १९५० को असमान सन्धिले नै नेपाललाई झुक्याएकाले हामीले साम्राज्यवादी हैकमको विरोध गर्ने सिर्जना प्रस्तुत भएको जिकिर गरिन् । उनले भनिन्, ‘सत्ताधारीलाई यथार्थको जानकारी गराउने र दिशानिर्देश गर्ने अनि तथ्यमा आधारित सिर्जना गर्नुपर्ने अवस्था रहेको छ ।’ उनले कवितामा राष्ट्रियताको भावना सशक्त रहेको बताइन् ।

उनले भनिन्, ‘कवितामा भौतिक सत्यलाई स्वीकार गरेर आक्रोश मात्रै भन्दा पनि संयम र सन्देश सम्प्रेषण गर्नुपर्ने, मुलुकभित्रका बिकाउहरूलाई खबरदारी गर्नुपर्ने आजको आवश्यकता रहेको छ । साथै विगतका कमीकमजोरीलाई औँल्याउँदै सुधारको सन्देश दिनुपर्नेमा स्रष्टाको ध्यान जानु जरुरी रहेको छ ।’ गोष्ठीमा दाङबाट सहभागी प्रा.केशव सुवेदीले कार्यक्रममा सामयिक सन्दर्भका, जोश र सीमा रक्षाका विषयमा कविता वाचन गरिएको धारणा व्यक्त गरे ।

उनले भने, ‘यद्यपि हामीले हाम्रो अभिव्यक्ति कौशललाई संयमित र शालीन बनाउनुपर्ने आवश्यकता चाहिँ अझै रहेको छ । कोरोना महामारी र बन्दाबन्दीका कारणले स्रष्टाहरू र साहित्यानुरागी घरैमा थुनिनुपरिरहेको अवस्थाले गर्दा गोष्ठीलाई साप्ताहिक वा पाक्षिक पार्नसके अझै राम्रो हुने थियो ।’ प्रगतिशील लेखक संघ (प्रलेस) नेपालका अध्यक्ष प्रा.डा जीवेन्द्रदेव गिरीले प्रविधिमैत्री गोष्ठीमार्फत सिर्जनात्मक रसास्वादन गर्न पाएको बताए । उनले गोष्ठीमा वाचित कविताले नेपाली राष्ट्रियताको रक्षाका पक्षमा दर्बिलो वकालत गरेको विचार व्यक्त गरे ।

उनले भने, ‘गोष्ठीलाई प्रविधिकै प्रयोगका माध्यमबाट अलि बाक्लो गर्नु चाहिँ उपयुक्त नै हुन्छ ।’ साहित्य सन्ध्याका अध्यक्ष राम विनयले गोष्ठीमा देशभरीबाटै उत्साहजनक सहभागिता रहेको बताए । उनले भर्चुअल गोष्ठीमार्फत सिर्जनात्मक अभियानलाई निरन्तरता दिएको भनाइ राखे । उनले भने, ‘देश अहिले संकटमा छ । यहीवेला छिमेकीले नेपाली भूमि कब्जा गरेको छ ।

यस्तो विषम परिस्थितिमा सिर्जनामार्फत खबरदारी गर्ने हेतुले कविता गोष्ठी गरेका हौँ ।’ उनले देशैभरका स्रष्टाको सहभागिता र प्रविधिको प्रयोगले बन्दाबन्दीको अवस्थामा पनि क्रियाशील बन्ने वातावरण निर्माण भएको सुनाए । उनले भने, ‘स्रष्टाले आफ्ना सिर्जनाका माध्यमबाट छिमेकीको साम्राज्यवादी प्रवृत्तिका विरुद्धमा सशक्त आवाज उठाउनु दायित्व हो भन्ने थप अनुभूत गर्ने अवसर पायौँ ।’

प्रतिक्रिया