होटल क्वारेन्टाइनमा बसे व्यक्तिगत खर्च

काठमाडौं । सरकारले विदेशबाट उद्धार गरेर ल्याउने नेपालीले १४ दिन क्वारेन्टाइन अन्तर्गत होटलमा बसे व्यक्तिगत खर्च गर्नुपर्ने भएको छ । तर, सरकारले तोकेको स्थानीय तहको क्वारेन्टाइनमा बसे भने निशुल्क पाइने भएको छ ।

उपप्रधानमन्त्री तथा उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेलले ‘नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी कार्य योजना २०७७’ मा हस्ताक्षर गरेसँगै विभिन्न देशबाट नागरिक फिर्ता ल्याउने प्रक्रिया शुरु भएको हो । २६ बुँदे कार्ययोजना शनिवार बसेको मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको थियो । कार्ययोजना अनुसार स्वदेश फर्किन चाहाने नेपालीले हवाई उडान, यातायात र होटल क्वारेन्टाइन खर्च आफैले व्यहोर्नुपर्नेछ । तर, स्थानीय तहका क्वारेन्टाइनमा बस्नेको खर्च भने सरकारले व्यर्होने भएको छ ।

सरकारले स्थानीय तहका क्वारेन्टाइनमा बस्ने व्यक्तिलाई दैनिक १७५ रुपैयाँका दरले १४ दिनको २ हजार ४५० रुपैयाँ बुझाउने छ । अर्थ मन्त्रालयले सम्बन्धित स्थानीय तहलाई बिल अनुसार रकम उपलब्ध गराउने कार्ययोजनामा उल्लेख छ । हवाईमार्ग र स्थलमार्गबाट आउनेलाई सीमामा होल्डिङ गरिने भएको छ । नेपाल आउने वित्तिकै सबैको व्यवस्थापनको जिम्मा नेपाली सेनालाई दिइने कार्ययोजनामा उल्लेख छ ।

भारत र तेस्रो मुलुकबाट आउनेहरुलाई स्वास्थ्य स्वघोषणा फारम भर्न लगाइने र सबैको स्वास्थ्य परीक्षण गरिने कार्ययोजनामा उल्लेख छ । त्यस्तै उनीहरुलाई सन्चार मन्त्रालयले विमानस्थल वा होल्डिङ बिन्दूमै मोबाइल सिमकार्ड नेपाल टेलिकमले निःशुल्क उपलब्ध गराउनेछ । नेपाल प्रवेश गर्ने व्यक्तिले स्वास्थ्य मन्त्रालयलको हाम्रो स्वास्थय एप्स डाउनलोड गरी नियमित स्वास्थ्य अवस्था अध्यावधिक गर्नुपर्ने छ ।

सिमा नाकामा रहेका होल्डिङ सेन्टरको व्यवस्थापनको जिम्मा नेपाली सेना र स्थानीय तहलाई दिइएको छ । ती होल्डिङ सेन्टर सम्बन्धित प्रदेश सरकारले तोकेका मन्त्रीको सुपरीवेक्षणमा रहनेछ । ती सेन्टरको माथिल्लो कमाण्ड उच्चस्तरीय समन्वय समितिले गर्नेछ ।

त्यस्तै काठमाडौंमा रहेका होल्डिङ सेन्टरको व्यव्स्थापन पनि नेपाली सेनाले गर्ने भएको छ । प्रदेशगत रुपमा समन्वय गर्न तोकिएका संघीय सरकारका फोकल मन्त्री र जिल्ला प्रशासन कार्यालयले त्यसमा सघाउनेछन् । क्वारेन्टिनहरुको सुरक्षा, रेखदेख, निगरानी र अभिलेख व्यवस्थापनको जिम्मेवारी भने नेपाली सेना,नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय तहलाई दिइएको छ । उनीहरुलाई शहरी विकास मन्त्रालय, प्रदेश सरकारले सहयोग गर्नेछ ।

विदेशबाट ल्याइने नेपालीलाई राख्न १० दिनभित्र सबै ठाउँमा क्वारेन्टिन तयार बनाइने भएको छ । त्यसका लागि खरिपाटी, इचुंगु आवास क्षेत्र, मनमोहन अस्पताल दहचोक र काठमाडौं मेडिकल कलेज दुवाकोटमा तोकिएको बेड संख्यासहित क्वारेन्टिन बनाउन शहरी विकास मन्त्रालयलाई जिम्मा दिइएको छ ।

त्यस्तै क्वारेन्टाइनमा आवश्य बेड, बिछ्यौना, भाँडा वर्तन, पानी, बिजुली, भान्छाघर शौचालय सबैको व्यवस्थापनको जिम्मा भने सम्बन्धित स्थानीय तहलाई दिइने भएको छ । यो काम तत्कालै शहरी विकास मन्त्रालय र प्रदेश सरकारको समन्वयमा शुरु हुने कार्ययोजनामा उल्लेख छ ।

प्रतिक्रिया