काल बन्दैछ क्वारेन्टाइन

काठमाडौं । कोभिड–१९ (कोरोना भाइरस)को संक्रमण फैलिन नदिन बनाइएका क्वारेन्टाइनमा रहेका नै जोखिममा पर्न थालेका छन् । क्वारेन्टाइनमै रहेकाहरुको मृत्यु हुन थालेपछि त्यहा रहनेमा त्रास बढ्न थालेको हो । संक्रमित मध्ये पनि अधिकाशं क्वारेन्टाइनमै रहेका देखिन थालेपछि भित्रभित्रै संक्रमित बढेको आशंका गरिन थालेको छ ।

अहिलेसम्म क्वारेन्टाइनमा रहेका करिव दुई दर्जन व्यक्तिको मृत्यु भएको तथ्यांकले देखाएको छ । जसको कारण क्वारेन्टाइनको अवस्था यही तथ्यांकले चित्रण गरेको छ । क्वारेन्टाइनको व्यवस्थापन कमजोर हुदा र आपसमा सामाजिक दुरी समेत कायम नहुँदा जोखिम उच्च देखिएको हो । पछिल्ला केही दिनमा मृतकको सख्यामा समेत बढोत्तरी हुन थालेको छ । आइतवारमात्र दुई जना बालबालिकाको मृत्यु भएको छ । उनि मध्ये एक जना कोरोना संक्रमित रहेको पुष्टि भईसकेको छ ।

बाजुराकी दुई बर्षीया बालिकाको क्वारेन्टानइमै रहँदा ज्वरो आउने, बान्ता हुने समस्या भएपछि जिल्ला अस्पताल भर्ना गरिएको थियो । बूढीगंगा नगरपालिका–१ घर भएका उनी आमाबुबासँगै ८ दिनअघि भारतबाट नेपाल आएकी थिइन् । नेपाल प्रवेश गरेपछि उनीहरूलाई घुरालसैना माविको क्वारेन्टाइनमा राखिएको थियो । क्वारेन्टिनमा रहँदा सामान्य औषधि गर्दा पनि सञ्चो नभएपछि १५ गते उनलाई जिल्ला अस्पताल बाजुरामा भर्ना गरिएको थियो ।

आइसोलेसनमा उपचार गर्ने क्रममा आइतवार बिहान करिब २ बजेतिर उनको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । अस्पताल ल्याउँदा नै बालिकामा कडा निमोनिया थियो । बालिकासँगै उनकी आमाको पनि कोरोना रिपोर्ट पोजेटिभ आएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले जानकारी दिए । बाबुको कोरोना परीक्षण रिपोर्ट भने नेगेटिभ आएको छ ।

दैलेखको दुल्लु नगरपालिकास्थित क्वारेन्टाइनमा शनिवार विहान एक ३५ वर्षीय व्यक्तिको मृत्यु भयो । पटांगिनी बजारस्थित नेपाल विद्युत प्राधिकरणको क्वारेन्टाइनमा रहेका दुल्लु–११ का ३५ वर्षीय पुरुष शनिवार विहान चिया पिएको केही समयमै बेहोस भएर ढलेका थिए । उनको त्यसको केही समयमा मृत्यु भयो । मृत्युभएपछि मात्र उनमा कोरोना संक्रमणको पुष्टि भयो ।

शनिबार भारतबाट आएर गुल्मीको क्वारेन्टाइनमा बसेका एक व्यक्तिले पनि आत्महत्या गरे । गुल्मीको छात्रकोट गाउँपालिका–४ दिगामस्थित आदर्श माविको क्वारेन्टाइनमा बसेका ५६ वर्षीय चन्द्रबहादुर परियारले आत्महत्या गरेका हुन् । साँझ खाना खाने समयमा ट्वाइलेट जान हिँडेका परियार नजिकैको रुखमा आफ्नै टावेलको पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएका थिए । खाना खान नआएपछि उनको खोजी गर्दा झुण्डिएको अवस्थामा भेटिएका थिए । उनिसँगै भारतबाट आएका केही व्यक्तिलाई घर पठाइएको र आफुलाई मात्र क्वारेन्टाइनमा राखेको भनेर गुनासो उनले गरिरहेको स्थानीयले बताएका छन् ।

यसअघि बाँकेका नरैनापुरस्थित क्वारेन्टाइनमा बस्दै आएका २५ वर्षीय युवाको पनि मृत्यु भएको थियो । उनमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । सिन्धुपाल्चोकमा पनि एक ७० वर्षीय वृद्धाको १४ दिने क्वारेन्टाइन बसेर फर्किदै गर्दा मृत्यु भएको छ । उनको पनि कोरोना रिपोर्ट आउन बाँकी रहेको छ ।

सबै स्थानीय तहले आफ्नो गच्छे अनुसार क्वारेन्टाइन निर्माण गरेका छन् । तर, अधिकाशं मापदण्ड विनाका रहेका छन् । बाहिरबाट हेर्दा क्वारेन्टाइनमा राखिएको जस्तो भएपनि त्यहाँ बस्नेहरुको छुट्टै पीडा छ । कतिपय ठाउमा शौचालय कम हुने, सुत्ने ठाउको अभाव हुने, एउटै कोठामा क्षमता भन्दा बढि बस्ने देखिएको छ । सामाजिक दुरी कायम नहुँदा झापाको कचनकवल गाँउपालिकामा एउटै क्वारेन्टाइनमा कयौं संक्रमित फेला परेका छन् । बाँके, कपिलबस्तु, रुपन्देहीमा समेत सोही अवस्था रहेको छ ।

भारतबाट दैनिक आउने मानिसहरुको संख्या बढिरहेको बेला सरकारलाई क्वारेन्टाइन व्यवस्थापन सबैभन्दा ठूलो चुनौती बनेको छ । कोठा अभावको कारण देखाउँदै ३ हजार जना सम्मलाई एउटै भवनमा समेत राखिएको छ । त्यसमाथी रिपोर्ट पनि ढिलो आउने भएपछि संक्रमितको संख्या बढिरहेको छ । मृत्यु भएपछि रिपोर्ट आउने गरेको भन्दै जनआक्रोश समेत बढिरहेको छ । तर, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झा पनि रिपोर्ट ढिला आउनुमा प्रयोगशालाको दोष नभएको बताउँछिन् । प्रयोगशालामा स्वाब आइसकेपछि जतिसक्दो चाँडो नतिजा निकालेर रिपोर्ट दिने गरेको उनले बताइन् ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवाका प्रमुख डा. राजेन्द्र गिरीका अनुसार परीक्षणका लागि आउने स्वाब नमुना बढ्दै गएकाले रिपोर्ट आउन ढिला भएको बताए । अस्पतालहरूले विरामीको अवस्था हेरी स्वाब संकलन गरेर पठाउँदा उनीहरूको रिपोर्ट चाँडो दिन सकिने उनको भनाई छ । बिरामीको मृत्युपछि मात्र कोरोना पोजिटिभ रिपोर्ट आउनुमा आफुहरूको कुनै दोष नभएको उनको भनाई छ । त्यसको लागि सरकारी संयन्त्र, बिरामीको उपचार भइरहेको अस्पताल, स्वाब संकलन गरेर प्रयोगशालासम्म पठाउने प्रक्रिया लगायतले ढिलाई भइरहेको उनी बताउँछन् ।

संक्रमणदर उच्च
नेपालमा एक दिनमा १०० जना भन्दा बढी संक्रमित भेटिएको लगातार पाँचौ दिन पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी दिएअनुसार आइतवारमात्र १६६ जना संक्रमितसमेत गरी नेपालमा एक हजार ५६७ जना संक्रमित भएका छन् ।

९ माघ २०७६ मा नेपालमा पहिलो संक्रमित भेटिए यताको साढे चार महीनाका एक हजार ५६७ जना संक्रमितमध्ये आधा भन्दा बढी पछिल्लो पाँच दिनका हुन् । १३ जेठमा ७७२ जना संक्रमित भएकोमा एकैपटक ११४ जना थपिएर १४ जेठमा पुग्दा ८८६ जना पुगे । त्यसपछि हरेक दिन १०० भन्दा बढी संक्रमित भेटिएका छन् । १५ जेठमा १५६, १६ जेठमा १७० र १७ जेठमा १८९ जना संक्रमित भेटिएर एक हजार ४०१ पुगेको थियो ।

पछिल्लो २४ घण्टामा त्यसमा १६६ जना थपिएका हुन् । ९ माघपछिका चार महीना चार दिनमा संक्रमित ७७२ जना मात्रै रहेका थिए । पछिल्ला पाँच दिनमा त्यो भन्दा बढी ७९५ जना संक्रमित भेटिएका छन् । अहिलेसम्म २२० जना निको भएर घर फर्किएका छन् भने आठ जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि भईसकेको छ । यसरी पाँच दिनमै संक्रमित दोब्बर भएसँगै नेपाल संक्रमण उच्च रहेका १०० देशको सूचिमा पुगेको छ ।

प्रतिक्रिया